काठमाडौं । बाल साहित्यकार विज्ञता कार्कीको ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रह सार्वजनिक भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यही २६ साउनमा प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य समारोहबीच पुस्तक सार्वजनिक गर्नुभएको हो ।

एम्बिसन एकेडेमी पुरानो बानेश्वरमा कक्षा ११ मा अध्ययनरत कार्कीले १७ वर्षकै उमेरमा निबन्ध संग्रह सार्वजनिक गर्नुभएको हो । साहित्यिक परिवार नेपालकी संस्थापक अध्यक्षसमेत रहनुभएकी कार्कीको यसअघि चित्रभित्र लुकेका शब्द (२०६९), यात्री सिंह (यात्रा उपन्यास २०७०), विज्ञताज् स्टोरिज् (२०७४) कृति एवं दुई दर्जन बढी पुस्तकमा आवरण चित्र प्रकाशित छन् ।

पुस्तक सार्वजनिक गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले विज्ञताले कम उमेरमै विलक्षण प्रतिभा प्रस्तुत गरेर नामलाई न्याय गरेकी बताउनुभयो । पुस्तक पढ्दा त्यसभित्र निकै गहकिला विचार र भावना पाएका भन्दै मन्त्री ज्ञवालीले विज्ञतालाई आगामी दिनमा अझै प्रगति गर्न शुभकामना दिनुभयो ।

अर्को प्रसंगमा मन्त्री ज्ञवालीले हामी आफ्ना सन्तान कसरी हुर्काइरहेका छौं त्यसमा गम्भीर हुनुपर्ने भन्दै राम्रो कलेजमा पढाएर मात्रै नहुने उनीहरुले कस्तो व्यवहार र शिक्षा सिकिरहेका छन् त्यसमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । होस्टेलमा प्रहरीले छापा मार्दा तास र गाजा भेटिएको प्रसङ्ग उप्काउँदै उहाँले सन्तानको व्यक्तित्व र नैतिक शिक्षा विकासमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

साहित्कार अच्युत प्याकुरेलले छोरी विज्ञताको कृति हेरेपछि अब उनलाई बाल साहित्यकार भन्न नमिल्ने उनी प्रौढ साहित्यकार बनिसकेको धारणा व्यक्त गर्नुभयो । पन्ध्र वर्षकी हुँदा पन्ध्र विधाका पन्ध्र थान पुस्तक सिर्जना गर्ने विज्ञताका बुवाआमालाई धन्यवाद छ,’ प्याकुरेलले भन्नुभयो ।

रत्नराज्य क्याम्पस प्रदर्शनी मार्गकका सहायक क्याम्पस प्रमुख हरिप्रसाद सिलवालले विज्ञताले कम उमेरमै आफ्नो विज्ञता प्रस्तुत गर्दै बाल कलाकारबाट क्रमशः प्रौढ साहित्यकारको रुपमा आफूलाई स्थापित गर्दै लगेकी बताउनुभयो ।

समाजमा केही दृश्यहरु समाजले देखेर पनि नदेखे जस्तो गर्ने गरेकाले त्यसैले पुस्तकको नाम नै  ‘अदृश्य दृश्यहरु’ राखिएको विज्ञताले बताउनुभयो । ‘मैले बाल कथा, बालकविता लेखेपनि आजसम्मको सबै अनुभव समेटेर निबन्ध संग्रह ल्याएको छु,’ उहाँले भन्नुभयो, ‘समाजले देखेर पनि नदेखे जस्तो गरेका निम्न वर्गका समस्या र आँशु संग्रहमा समेटिएका छन् ।’

दलहरुले समाजवादी नारा घन्काएपनि उनीहरुको जीवन र व्यवहार समाजवादी नभएको भन्दै बोली र गराइमा समानता ल्याउन कृतिमार्फत्  आग्रह गरिएको समेत विज्ञताले बताउनुभयो ।

अंग्रेजी र नेपाली दुवैभाषामा रहेको निबन्ध संग्रहमा उहाँका अभिमान/आचरण, क्रसससस, विघटनकारी विचलन, आँखाका सम्पर्कहरु, फ्रेनिमी, चियोचर्चा, खुशी, हतारको लतार, आत्मीय दिक्दारी, आक्रमक र रक्षात्मक, अव्यवस्थित सम्बन्धहरु, लगाब, स्टारडम, त्रिपक्षीय तनाब, असामाजिक समाजसेवी, अनाश्यक निर्णय किन ?, लत गरी १८ निबन्धहरु संग्रहित छ ।

कार्यक्रममा तरेली सम्मान, मर्सि सिर्जना र बाश्री पुरस्कार समेत वितरण गरिएको थियो । बाश्री पुरस्कार स्व. दाहाल यज्ञनिधि, मर्सि पुरस्कार रोजी डंगोललाई तरेली सम्मान अच्युत प्याकुरेललाई प्रदान गरिएको थियो ।

२०७५ साउन २८ गते १०:३७मा प्रकाशित

प्रतिकृया दिनुहोस्