ज्ञानोदय माविबाट सिक्ने कि ?

Avatar photo

Byएजुकेशन पाटी

२४ जेष्ठ २०७७, शनिबार

काठमाडौँ । सामुदायिक विद्यालयको गुणस्तर र विद्यार्थी संख्या घटीरहेका बेला काठमाडौं बाफल स्थित ज्ञानोदय माविमा भने ठीक उल्टो छ । शैक्षिक गुणस्तर पनि निजी विद्यालयको भन्दा कम छैन भने विद्यार्थीको चाँप पनि थामिनसक्नु छ । । कति सम्म भने यसवर्ष हजारौ विद्यार्थीले विद्यालयमा भर्ना हुनै पाएनन् भने सयौं विद्यार्थीहरु निजी विद्यालय छाडेर यस विद्यालयमा भर्ना हुन आएका छन् ।

हाल पूर्व प्राथमिक देखि १२ कक्षा सम्म २२ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना गर्ने गरेको छ । विद्यार्थीको चाँप थामिनसक्नु भएपछि विद्यालयले यो जुक्ति लगाएको विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जन बताउनुहुन्छ । चुस्त प्रशासन, शिक्षक विद्यार्थीमैत्री वातावरण, समुदायसँगको अर्थपूर्ण सहकार्य, शिक्षण सिकाइमा नयाँपन विद्यालयका अनुकरणीय पक्ष हुन । विद्यालयले आफ्नै स्कुल बस सञ्चालन समेत गरेको छ ।


उत्कृष्ट नतिजा
यसपटक एसइइ परीक्षा दिएका १८६ विद्यार्थी मध्ये ४८ जनाले ए प्लस, ६० जनाले ए, ४३ जनाले बि प्लस, २५ जनाले बि र १० जनाले सि प्लस ल्याएका छन् । गतवर्ष २८ जनाले ए प्लस, ५५ जनाले ए, ५८ जनाले बि प्लस, ५९ जनाले बि र ८ जनाले सि प्लस र ४ जनाले सि ग्रेड ल्याएका थिए । अन्य कक्षाहरुको सिकाइ उपलब्धि समेत उत्कृष्ट रहँदै आएको छ ।

यसवर्षको एसइइमा विषयगत औषत नतिजा पनि उत्कृष्ट रहेको छ । कार्यसञ्चालन तथा लेखा विषयमा ३.३७, कम्प्युटरमा ३.९७, ऐच्छिक गणितमा ३.१३, अर्थशास्त्रमा २.८४ र अंग्रेजी विषयमा ३.४९ औषत उपलब्धि हासिल भएको छ । त्यस्तै, नेपाली विषयमा २.६०, अनिवार्य गणितमा ३.०४, विज्ञानमा ३.१५, सामाजिक विषयमा २.८४ र जनसंख्या तथा वातावरण विषयमा ३. ४७ औषत उपलब्धि हसिल गरेको छ विद्यालयले ।

सिकाइमा प्रविधि
विद्यालयले सिकाइमा प्रविधिको प्रयोगलाई जोड दिँदै आएको छ । डिजिटल ल्याव, स्मार्ट बोर्डद्धारा कक्षा सञ्चालन, हिउँदे, गर्मी र दशैं बिदामा समेत अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ । कक्षा ४ देखि नै कम्प्युटर कक्षाको पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक महर्जन बताउनुहुन्छ । उहाँका अनुसार विद्यालयले मन्टेश्वरी माध्यममा पूर्व प्राथमिक कक्षा सञ्चालन गर्दै आएको छ भने अन्य कक्षाहरु अंग्रेजी माध्यममा पठनपाठन गर्दै आएको छ । ‘हाम्रा विद्यार्थीहरु बोर्डमा चित्र बनाएर हैन इन्टरनेटमा वास्तविक बस्तु हेरर सिक्छन् ।’ उहाँले भन्नुभयो – ‘यसरी सिक्दा सिकाइ दिगो हुन्छ ।’

प्राविधिक धारको पढाइ
विद्यालयले कक्षा ९ देखि नै प्राविधिक धारको शिक्षण सिकाइ गर्दै आएको छ । कक्षा ९ र १० देखिनै विद्यालयमा सिभिल इञ्जिनियर विषयको अध्ययन हुने गरेको छ ।

सफलताको कारण
कक्षाकोठामा राम्रो सिकाइ भए नै उत्कृष्ट नतिजा आउने प्रधानाध्यापक महर्जन बताउनुहुन्छ । ‘हामी मुख्य ध्यान कक्षाकोठको सिकाइलाई कसरी प्रभावकारी र व्यवस्थित बनाउने बरेमा मात्रै सोच्छौं ।’ उहाँले भन्नुभयो – ‘अनुभवी र मिहिनेती शिक्षक समुह, सिकाइमा शैक्षिक सामाग्रीको प्रयोग, अनुशासित र मिहिनेती विद्यार्थी समुह र त्यसको कुशल व्यवस्थापन आदीले विद्यालयलाई मुलुककै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा दह्रर्याएको छ । हाम्रो विद्यालयमा शिक्षक विद्यार्थी  र अभिभावकका बीचमा त्रिपक्षिय दरिलो सम्बन्ध स्थापित भएको छ । यो नै हाम्रो सफलताको कडी हो ।’

 प्रधानाध्यापक महर्जन भन्नुहुन्छ – ‘हामी शिक्षक, विद्यार्थी र अभिभावक उत्तीकै मिहिनेत गछौं । हामी हरेक दिन सिकाइ योजना बनाउने, शैक्षिक सामाग्री खोज्ने र कक्षामा लिएर जाने, विद्यार्थीहरुसँग मित्रवत् व्यवहार गरेर सिकाउँछौं ।’ सामाजिक शिक्षक गोविन्द भण्डारी भन्नुहुन्छ – ‘विद्यार्थी जस्तै हामी शिक्षकहरुले पनि भोलिको शिक्षण सिकाइका लागि घरमा गृहकार्य गर्छौ । सामुदयिक विद्यालयमा निश्चय पनि धेरै समस्याहरु छन् । तर समस्याहरु मात्रै छन् भनेर बस्यो भन्यो सुधार हुदैन । समस्याहरुका बीच समाधान खोज्दै निरन्तर मिहिनेत गर्दै गयो भने प्रगति अवश्य हुन्छ ।’

प्रतिकृया दिनुहोस्