अब खुला कि आन्तरिक विज्ञापन ?

Avatar photo

Byएजुकेशन पाटी

२५ जेष्ठ २०७७, आईतवार

अस्थायी शिक्षकलाई स्थायीका निम्ति यही चैत २३ गतेका लागि तोकिएको परीक्षा अनिश्चितकालसम्म स्थगित भएको छ । शिक्षक सेवा आयोगले शुक्रबार एक सूचना जारी गर्दै चौथोपटक परीक्षा स्थगित गरेको हो ।

आयोगले यसअघि पनि पटक–पटक परीक्षाको मिति तय गर्नुका साथै स्थगित गर्दै आएको थियो । शुरुमा २०७४ साल असार २४ गते परीक्षाको मिति तय गर्दै २०७३ साल चैत १९ मा अस्थायी शिक्षकहरुका लागि विज्ञापन खोलिएको थियो । आयोगले आन्तरिक तयारी नपुगेको भन्दै गएको असार ५ गते सो परीक्षा पहिलोपटक भाद्र ३ गतेका लागि सारेको थियो । साउन ३१ गते आयोगले बाढी–पहिरोको कारण देखाउँदै दोस्रो पटक परीक्षा भाद्र १० का लागि सा¥योे । आयोगले गत भाद्र ६ गते सूचित गर्दै १० गतेका लागि निर्धारण गरिएको अस्थायी शिक्षकहरुको परीक्षा तेस्रोपटक अनिश्चितकालका लागि स्थगित गर्न पुग्यो । आयोगले नवौं ऐन संशोधन पछि गत कात्तिक २१ म पुनः विज्ञापन गरेको थियो । पछि आयोगले चैत २३ का लागि परीक्षा मिति तय ग¥यो । पुनः परीक्षा हुनुभन्दा ८ दिन अगाडि आयोगले सो परीक्षा पनि अनिश्चितकालका लागि स्थगित गरेको छ ।

विज्ञापनबाट सबै रिक्त पदहरु पूर्ति हुन नसक्ने र यसबाट नियमित पठनपाठन प्रभावित हुनसक्ने देखिएकाले आन्तरिक तथा खुला विज्ञापन सँगसँगै गरी शिक्षक पदपूर्तिलाई व्यवस्थापन गर्दा उपयुक्त हुने हुँदा चैत २३ को परीक्षा स्थगित गर्न भन्दै शिक्षा सचिव मधुप्रसाद रेग्मीको नामबाट आएको शिक्षा मन्त्रालयको पत्रका आधारमा विज्ञापन स्थगित गरिएको आयोगले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ४७ पत्र अनुसार परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको आयोगले जनाएको छ ।

मन्त्रालयको एउटा पत्रका आधारमा स्वतन्त्र निकाय आयोगले किन परीक्षा स्थगित गर्नुप¥यो भनेर प्रश्न गर्दा आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलिया सबै पक्षबाट सकारात्मक वातावरण नबन्दासम्म परीक्षा सञ्चालन गर्न नसकिने बताउनुहुन्छ । एउटा पक्षको विजय र अर्को पक्षले पराजयको महशूस गर्नेगरी आयोगले परीक्षा गर्न नचाहेको भन्दै थपलियाले हरेक तहबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।
मन्त्रालयको एउटा पत्रको आधारमा परीक्षा स्थगित गर्नु, पटक–पटक परीक्षा गर्न नसक्नुले संवैधानिक शिक्षक आयोगको आवश्यकतालाई जोड दिएको छ ।

कसरी भयो स्थगित
परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकको एक समूह र विद्यार्थी संगठनहरुको समर्थनमा शिक्षा संकाय अध्ययनरत विद्यार्थी आमरण अनशनमा थिए । परीक्षाको विरोधमा आफ्नै भातृ संगठन उत्रिएपछि प्रधानमन्त्रीललाई परीक्षा स्थगित गर्न दबाब परेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र अर्थमन्त्री युवराज खतिवडासहित आयोगका पदाधिकारीलाई बोलाएर छलफल गर्नुभएको थियो । सो छलफलमा ऐनको आठौं संशोधन, पूरै खुल्ला विज्ञापन कि नवौं अनुसार अघि बढ्ने भन्ने बारेमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले आफ्ना पालामा खुल्ला विज्ञापन गरेर रोजगारी सिर्जना गर्न सके त्यसको सकारात्मक सन्देश जाने भन्दै खुल्ला विज्ञापन गरेर अघि बढ्न शिक्षामन्त्रीलाई निर्देशन दिनुभएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सो निर्देशनका सम्बन्धमा बिहीबार मन्त्रालयमा छलफल भएको थियो । अन्त्यमा शिक्षामन्त्री पोखरेलले परीक्षा स्थगित गर्ने निर्णय गर्नुभएको स्रोतको दाबी छ । मन्त्रालयले बिहीबार नै मन्त्रिस्तरीय निर्णय गरी त्यसको पत्र शिक्षक आयोगमा पठाएको र आयोगले सोही पत्रका आधारमा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अस्थायीकै आत्मघाती अनशन
२०७२ अघिका अस्थायी शिक्षकहरु परीक्षा तयारी गरेर बसेका भएपनि ०७२ पछिको अस्थायी शिक्षकहरु जो परीक्षा दिनबाट बञ्चित थिए, उनीहरु भने चैत २३ को परीक्षा स्थगित हुनुपर्ने माग राखेर आन्दोलनमा थिए । उनीहरुलाई पछि ०७२ अघिका शिक्षक नेताहरुले पनि साथ दिए । नवौं ऐन संशोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले २१ दिन आमरण अनशनको नेतृत्व गरेका हेमचन्द्र चौलागाई र कुमोद कर्णलगायतका समूहले चैत २३ को परीक्षा स्थगित हुनुपर्ने छुट करार शिक्षकको आमरण अनशनलाई नेतृत्व प्रदान गरे । आफैंले संशोधन गरेको नवौं ऐन संशोधन अनुसार खुलेको परीक्षा स्थगित राख्न माग गर्दै चौलागाई र कर्ण मैदानमा उत्रेपछि शिक्षक लाइसेन्स लिएर बसेका विद्यार्थीहरु आगो भए । पहिले सामान्य आन्दोलन गर्दै आएका उनीहरुले चौलागाई र कर्णको नेतृत्वमा पुनः अनशन शुरु भएपनि अनशनको बदला अनशन भन्दै माइतीघरमा आमरण अनशन शुरु गरे । जसलाई मुख्य विद्यार्थी संगठनले समर्थन ग¥यो भने नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलगायतले अनशनस्थलमै पुगेर ऐक्यबद्धता जनाए । विद्यार्थीहरुले अनिश्चितकालीन शैक्षिक आमहड्ताल गर्नेसम्मको चेतावनी दिएपनि बाध्य भएर सरकारले अस्थायी शिक्षक परीक्षा स्थगित ग¥यो ।

माग एक, उद्देश्य फरक

छुट करार अस्थायी शिक्षक र विद्यार्थीहरुले चैत २३ को परीक्षा स्थगित माग गर्दै आमरण अनशन बसेपनि दुबैको उद्देश्य भने फरक थियो । अस्थायी शिक्षकहरु अहिलेको परीक्षा स्थगित गर्दै दशौं ऐन संशोधन गरेर शतप्रतिशत दरबन्दीमा आन्तरिक परीक्षा हुनुपर्ने माग राखेर आन्दोलन गरिराखेका थिए । तर, विद्यार्थीले ठीक उल्टो चैत २३ को परीक्षा स्थगित गरेर दशौं संशोधन गरी शतप्रतिशत दरबन्दीमा खुला विज्ञापनको उद्देश्यले आन्दोलन गरेका थिए । त्यसैले पनि परीक्षा स्थगित हुनसाथ विद्यार्थीको आमरण अनशन स्थगित भइसकेको छ भने करार अस्थायीको अनशन जारी नै रहेको छ । उता, पुनरुत्थानवादी समूहले पनि चैत २३ को परीक्षा स्थगित हुनुपर्ने माग राख्दै आन्दोलित थिए । उनीहरुको उद्देश्य अहिले केही दिन परीक्षा स्थगित गराएर २०६६ को सर्वोच्च अदालतको परमादेश अनुसार लाइसेन्स नभएका, तालिम र शिक्षा विषय नभएका शिक्षकहरुलाई पनि परीक्षामा सामेल गराउनु थियो । परीक्षा स्थगित भएकोमा तीनै पक्षले स्वागत गरेका छन् । तर, आ–आफ्नै ढंगमा ।

निरीह शिक्षक महासंघ
नेपाल शिक्षक महासंघले शुरुदेखि नै चैत २३ को परीक्षा तोकिएकै मितिमा हुनुपर्ने जनाउँदै आएको थियो । उसले शिक्षक आयोग, शिक्षा विभाग र शिक्षा मन्त्रालयमा शिक्षामन्त्रीलाई भेटेरै परीक्षा तोकिएकै मितिमा हुनुपर्ने जनाएको थियो । तर, एक्कासी आयोगले परीक्षा स्थगितको सूचना जारी गरेपछि महासंघले आक्रोश व्यक्त गरेको छ । परीक्षा स्थगित हुन साथ एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले तत्काल आन्तरिक विज्ञापन सम्पन्न गरी खुला विज्ञापन गर्न माग गर्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिएको छ । परीक्षा स्थगित भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघका अध्यक्ष बाबुराम थापाद्वारा जारी प्रेस विज्ञप्तिमा सम्पूर्ण तयारी पूरा भएको शिक्षकहरुको आन्तरिक परीक्षा शिक्षा मन्त्रालयको पत्रको आधारमा हठात् स्थगित गरेको सूचनाले आम नेपाली शिक्षकहरुलाई मर्माहत बनाएको जिकिर गरिएको छ । ‘शिक्षक सेवा आयोगको परीक्षा जस्तो संवेदनशिल मामिलामा समेत तदर्थ निर्णय गर्ने अनि स्वेच्छआचारी ढंगले स्थगित गर्दै जाने आयोग र त्यसो गराउने शिक्षा मन्त्रालयको रबैयाप्रति नेपाल शिक्षक महासंघ गम्भीर आक्रोश जनाउँदै खेद प्रकट गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ । दशकौंदेखि अस्थायी सेवा गरिरहेका शिक्षकहरुलाई स्थायी गर्ने बाटोमा महासंघले सरकारलाई उदार सहयोग गरिरहेको अवस्थामा सरकारको अन्यायपूर्ण रवैयाका कारण अब यो बाटो बन्द हुँदै गएको महासंघले महशूस गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । शिक्षक महासंघको निरन्तरको आग्रहका बीच आयोगले परीक्षा सथगित गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सम्पूर्ण शिक्षकहरुको साझा संगठनको रुपमा रहेको शिक्षक महासंघसँग एकपटक पनि सल्लाह नगरी परीक्षा स्थगित गरिएको हो ।

चौतर्फी विरोध
शिक्षक सेवा आयोगले परीक्षाको अन्तिम समयमा आएर परीक्षा स्थगित गरेपछि यसको चौतर्फी आलोचना शुरु भएको छ । सामाजिक सञ्जालमा शिक्षाविद्, शिक्षकमहासंघ, शिक्षकका विभिन्न संगठन, अस्थायी शिक्षकहरु सबैले आयोग, शिक्षामन्त्री र प्रधानमन्त्रीको आलोचना गरेका छन् । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले आयोगले परीक्षा स्थगित गरेर आफ्नो स्वतन्त्र अस्तित्वमाथि धावा बोलेको आरोप लगाउनुभयो । सरकारले गर भने गर्ने, नगर भनेर नगर्नेगरी आयोगले लाचारीपन प्रस्तुत गरेकाले अब शिक्षक आयोग खारेज गरेर संवैधानिक शिक्षक आयोग बनाउनुपर्नेमा वाग्लेको जोड छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले परीक्षा स्थगित हुनु भनेको शिक्षा क्षेत्र अस्तव्यस्त पार्दै निजीकरणतर्फ धकेल्ने षड्यन्त्र र शिक्षक कर्मचारीमाथिको धोका भएको बताउनुभएको छ । शिक्षक कर्मचारीको व्यवस्थापनबिना शैक्षिक र विकास र समृद्धिको परिकल्पना फगत कागजी मात्र हुने टिप्पणी गर्दै अधिकारीले आफ्नै नेतृत्वमा बनेको ऐन आफैले अवज्ञा गरेर वर्तमान सरकारले केटाकेटीपन देखाएको आरोप लगाउनुभएको छ । उता, अखिल नेपाल शिक्षक संगठनले त अयोग्य शिक्षामन्त्री र आयोगका अध्यक्षको राजीनामा माग्दै आन्दोलन नै शुरु गर्ने जनाएको छ ।

अब खुला कि आन्तरिक विज्ञापन
खुला विज्ञापन गर्नेगरी प्रधानमन्त्रीले नै आन्तरिक विज्ञापन स्थगित गर्न निर्देशन दिएपछि अब कस्तो विज्ञापन खुल्छ भन्ने चासोको विषय बन्न पुगेको छ । तर, आयोगले परीक्षा स्थगितको सूचनामा भने अब आन्तरिक र खुला विज्ञापन हुनेगरी परीक्षा स्थगित गरेको जनाएको छ । अब आन्तरिक, आन्तरिक र खुला साथै खुला मात्रै कस्तो विज्ञापन खुल्ला भन्ने विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने देखिएको छ । प्रधानमन्त्री ओलीले अब शतप्रतिशत दरबन्दीमा खुला विज्ञापन गर्न चाहेको स्पष्ट भइसकेको छ । उता, आशनरत विद्यार्थीले पनि शतप्रतिशत दरबन्दीमा खुला विज्ञापन नभएसम्म आन्दोलन स्थगित नहुने बताइसकेका छन् । ‘अनशन मात्रै स्थगित गरिएको हो, आन्दोलन जारी छ । विद्यार्थी संघर्ष समितिका अध्यक्ष पुष्कर शर्माले भन्नुभयो, ‘शतप्रतिशत दरबन्दीमा खुला विज्ञापन नगरे अनिश्चितकालीन शैक्षिक आम हड्ताल गर्छौं । शिक्षक महासंघ र शिक्षका विभिन्न संघ–संगठनहरुले भने पुनः आन्तरिक विज्ञापन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिक्षामन्त्रीले भने यस विषयमा मुख फोर्नुभएको छैन ।

तत्काल परीक्षा हुने सम्भावना छैन
परीक्षा स्थगित भएपछि तत्काल नयाँ परीक्षा मिति तय गर्न दबाब दिने उद्देश्यले शिक्षक महासंघको नेतृत्वमा शिक्षकका विभिन्न संघ–संगठनहरुको टोली आइतबार शिक्षक आयोग पुगेको थियो । तर, शिक्षक प्रतिनिधिहरुलाई आयोगले तत्काल परीक्षा मिति तय गर्न नसकिने जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले सबै पक्षसँग सल्लाह नगरी अब परीक्षाको मिति तय नगर्ने जवाफ दिएको टोलीमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले जानकारी दिनुभयो । अध्यक्ष गौतमले आयोगलेले मात्रै परीक्षा मिति तय गर्दा चौंथोपटक परीक्षा स्थगित गर्नुपरेको भन्दै अब सबै पक्षको सहमति नभई परीक्षाको मिति तय नगरिने स्पष्ट पार्नुभएको महासचिव शर्माले जानकारी दिनुभयो । आजको शिक्षाले आयोगका अध्यक्ष गौतमसँग यसबारेमा प्रतिक्रिया लिन खोज्दा उहाँ बोल्न चाहनुभएन । उहाँले प्रशासकीय प्रमुखसँग बोल्न आग्रह गर्नुभयो । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलिया आयोगले छिट्टै परीक्षाको मिति तय गर्ने बताउनुहुन्छ । ‘यति नै गते भनेर भन्न नसकिएपनि हामी छिट्टै परीक्षा मिति तय गर्छौं,’ उहाँले भन्नुभयो, ‘अहिलेलाई यति नै बुझ्नुस् ।’

ढुक्क हुनुहोस् आन्तरिक विज्ञापन नै हुन्छ–प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय हुने बताउनुभएको छ । पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेताहरुको टोलीसँगको भेटमा आइतबार प्रचण्डले अस्थायी शिक्षक समस्या समाधानमा आफु सकारात्मक रहेकाले नवौं संशोधित शिक्षा ऐन अनुसार नै अस्थायी शिक्षकको आन्तरिक परीक्षा हुने बताउनुभएको हो । शिक्षक टोलीले स्थगित परीक्षा र प्रधानमन्त्रीको खुला विज्ञापन गर्ने भनाइबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए । शिक्षकहरुको जिज्ञासा पछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग समेत यस विषयमा छलफल गर्ने आश्वासन दिनुभएको थियो । उहाँले पहिला आन्तरिक विज्ञापन गर्ने वा आन्तरिक र खुला विज्ञापन सँगसँगै गर्ने विषयमा छलफल गरेर जान सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ढुक्क हुनुहोस्, अस्थायी शिक्षकको परीक्षा हुन्छ ।’

२०७४ चैत्र २२ गते १२:५६मा प्रकाशित

प्रतिकृया दिनुहोस्