काठमाडौँ । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि  प्रदेश २ मा एसइइ परीक्षा अन्तर्गत बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले प्रदेशको परीक्षा रद्द गरेको हो ।

रद्द भएको परीक्षा आगामी चैत २२ गते पुनः गरिने बोर्डले जनाएको छ ।

बिहीबार परीक्षा सुरु हुनासाथ परीक्षार्थीबाट खोसिएको चिटमा प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार हुबहु उत्तरहरु पाइएपछि परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो ।

अनिवार्य ६ वटा विषयको प्रश्नपत्र प्रदेश अनुसार फरक–फरक बनाइएकाले प्रदेश २ मा लिइएको परीक्षा मात्र रद्द गरिएको बोर्डले जनाएको छ । यसैगरी बोर्डको आकस्मिक बैठकले प्रश्नपत्र बाहिरएकोबारे छानविन गर्न अमोदा श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय छानविन टोलीसमेत गठन गरेको छ।

बैठकले परीक्षा बोर्डकी सदस्य प्राध्यापक  श्रेष्ठको संयोजकत्वमा शिक्षा विकास तथा समन्वय निर्देशनालय प्रदेश २ का निर्देशक रमाकान्त शर्मा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव रमेश मैनाली र राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत रमेश अधिकारी रहेको छानबिन समिति समेत गठन गरेको हो ।

समितिले १५ दिनभित्र प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर बोर्डलाई प्रतिवेदन पेश गर्नेछ ।

प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए । सप्तरी जिल्लाको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि जिल्ला परीक्षा समन्वय समिति सप्तरीले विज्ञान विषयको परीक्षा रद्द गर्न सिफारिश गरेको थियो । बोर्डले प्रदेश २ भित्रका सबै जिल्लाको परीक्षा रद्दको निर्णय गरेको हो ।

२०७५ चैत्र १४ गते १८:४७मा प्रकाशित

प्रतिकृया दिनुहोस्