२०७६ असोज ३० गते

शिक्षकले आँटे बढ्छ सामुदायिकमा आकर्षण

पर्वत । कुश्मा नगरपालिका ९ को सार्वजनिक माध्यमिक विद्यालयले गत वर्ष एउटा निर्णय गरेको थियो, शिक्षकका छोराछोरी अनिवार्य आफ्नै विद्यालयमा पढाउनुपर्ने । विद्यालयका अधिकांश शिक्षक स्थानीय भएकाले त्यो सम्भव पनि थियो ।

स्थानीय शिक्षकले निजी विद्यालयबाट छोराछोरी आफैंले अध्यापन गर्ने विद्यालयमा ल्याएर पढाए । पहिलो वर्षमै अपेक्षाभन्दा धेरै राम्रो नतिजा आयो । सामुदायिक विद्यालयमा आएका विद्यार्थीले राम्रो नतिजा ल्याए । साताअघि २०७४ को वार्षिक परीक्षाको नतिजामा उक्त शिक्षालय जिल्लाकै उत्कृष्ट विद्यालयभित्र पर्‍यो ।

विद्यालयमा विद्यार्थी टिकाउन महाशिला गाउँपालिकाले गत वर्ष प्राथमिक तहमा दिवाखाजा कार्यक्रम सञ्चालन गरेको थियो । जनप्रतिनिधि आएपछि गरिएको यो पहिलो निर्णयको प्रभाव सकारात्मक पर्‍यो । ‘अघिल्लो वर्ष नै धेरै विद्यार्थीको आकर्षण र नियमित भयो,’ गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैठकुरीले भने, ‘भर्ना अभियानमा हामी आफैं पनि डुल्यौं । त्यसले गाउँभरि राम्रो प्रभाव पारेछ । विद्यार्थी नियमित पनि उत्तिकै प्रभावकारी छ ।’ यो वर्ष भर्ना अभियानको पहिलो सातामै महाशिलाका सबैजसो सामुदायिक विद्यालयमा निजी छाडेर आउने विद्यार्थी संख्या बढेको उनले बताए ।

बिहादी गाउँपालिकाको ४ नम्बर वडा कार्यालयले चालु शैक्षिक सत्रदेखि शिक्षक, सरकारी तथा अद्र्धसरकारी कर्मचारी, गाउँपालिकाका जनप्रतिनिधि, व्यवस्थापन समितिका पदाधिकारीलगायत सामाजिक अगुवाहरूले आफ्ना छोराछोरी सामुदायिकमै पढाउनैपर्ने निर्णय गरेको छ । निर्णयपछि बिहादी माविका कतिपय विद्यार्थी आफ्ना छोराछोरी डुलाएरै अन्य अभिभावकको घरदैलो गरिरहेका छन् । वडाध्यक्ष भीमबहादुर श्रेष्ठका अनुसार शिक्षकले नै आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाएपछि अन्य अभिभावकको सामुदायिकप्रतिको विश्वास बढ्छ ।

अघिल्लो वर्ष घरदैलो अभियानका क्रममा सामुदायिकमा भर्ना गर्न नमानेर निजीमा पठाएका कटुवाचौपरीका दर्जनौं अभिभावकले यो वर्ष सामुदायिकमै पठाउन थालेका छन् । घरदैलो अभियानमा पुगेका शिक्षकलाई अभिभावकले घरमै भर्ना गरेर विद्यालय पठाउन सुरु गरेका छन् । ‘पोहोर घरदैलो गर्दा हामीलाई भेट्नै नमानेका अभिभावकले अहिले छोराछोरी डोर्‍याएर आफैं विद्यालय आउनुभएको छ,’ शिक्षक केशव तिवारीले भने, ‘यसपालि घरदैलोमा जाँदा सबै अभिभावक खुसी हुनुहुन्छ । यो हाम्रो नतिजाको सफलता हो ।’

शिक्षा आयोगले नियमित शिक्षक परीक्षा गरी योग्य शिक्षक छनोट र स्थानीय तहमा जनप्रतिनिधि आएपछि जिल्लाभरका सामुदायिक विद्यालयमा गुणस्तरको प्रतिस्पर्धा नै चलेको छ । योग्य र तालिमप्राप्त शिक्षकले बदलिंदो प्रविधि, अंग्रेजी माध्यम, इन्टरनेट र विभिन्न भच्र्युअल माध्यमबाट सिकाउन थालेपछि निजीको तुलनामा सामुदायिकमा विद्यार्थीको आकर्षण बढेको हो । फलेवास नगरपालिकाले चालु वर्षदेखि नगरका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्न गत फागुनदेखि नै शिक्षकलाई प्रशिक्षण दिइसकेको छ । ‘एकैपटकमा सबै गर्छौं भनेर सकिन्न,’ नगरप्रमुख पदमपाणि शर्माले भने, ‘पहिलो वर्ष ३ कक्षासम्म सबै पाठ्यक्रम अंग्रेजी हुन्छ । अर्को वर्षदेखि क्रमश: ४, ५, ६ हुँदै माध्यमिक तहसम्म निरन्तरता दिन्छौं ।’ अन्तर्राष्ट्रिय बजारमा बिकाउने जनशक्ति अंग्रेजीबिना सम्भव नभएकाले नगरपालिकाले अतिरिक्त बजेट छुट्याएर सबै विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सुरु गर्न लागेको हो । विद्यार्थीका लागि आवश्यक पाठ्यक्रमको व्यवस्थासमेत नगरपालिकाले नै गर्ने नगरप्रमुख शर्माले बताए ।

अंग्रेजी मोहकै कारण अभिभावकको आकर्षण निजीमा परेको ठम्याउँदै सबैजसो स्थानीय तहले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमलाई जोड दिन थालेका हुन् । त्यसबाहेक सामुदायिकका कतिपय विपन्न परिवारका बालबालिका बाध्यतावस घरमा भरपेट नखाई आउने समस्या छ । भोको पेटका कारण समयअगावै घर फर्किने समस्या समाधानका लागि दिवाखाजा कार्यक्रम ल्याएको विद्यालयले जनाएका छन् ।

अंग्रेजी माध्यम र दिवाखाजा साँच्चिकै सामुदायिकको प्रमुख आकर्षण बनेको सरोकारवालाको बुझाइ छ । त्यस्तै निजीको तुलनामा सामुदायिकमा भौतिक पूर्वाधार पनि गुणस्तरीय भएपछि अघिल्लो वर्षयता अभिभावकको ध्यान सामुदायिकले तान्न थालेका छन् । शिक्षा अधिकारी रमेशराज पौडेलले सामुदायिकमा आकर्षण बढ्नुमा आधुनिक र अंग्रेजी माध्यमको सिकाइ, दक्ष शिक्षक, सचेत अभिभावक, विशिष्ठ पूर्वाधारलगायतले मद्धत गरेको बताए । ‘अहिले धेरैको रोजाई अंग्रेजी माध्यम छ,’ जिशिअ पौडेलले भने, ‘त्यसलाई हरेक विद्यालयले अनुसरण गरे । त्यसका अलावा व्यवस्थापकीय पक्ष, अभिभावकसँगको अन्तरक्रिया, पारदर्शिता, नीतिगत सुधार, आईसीटीलगायतले पनि राम्रो सहयोग गरेको छ ।’ भर्ना अभियान सुरु भएको एक साता नबित्दै जिल्लाभरका सामुदायिक विद्यालयमा भर्ना दर बढेको खबर आएको उनले बताए ।

कान्तिपुर दैनिकमा खबर छ ।

 

 

Comments: