२०७६ मंसिर २४ गते

२५ मातृ भाषाका पाठ्यपुस्तक तयार

अन्तैबाट

भक्तपुर । मातृभाषामा शिक्षा पाउने अधिकारलाई सुनिश्चत गर्न पाठ्यक्रम विकास केन्द्रले २५ मातृ भाषामा विभिन्न कक्षाका पाठ्य सामग्री विकास गरी पाठ्यपुस्तक तयार पारेको छ।

पाठ्यक्रम विकास केन्द्रले ४८ औं वार्षिकोत्सवमा केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जनाए अनुसार मातृभाषामा पठनपाठन गराए नानीहरुको सिकाइ उपलब्धि वृद्धि हुने मान्यतामा आधारित भएर केन्द्रले यस वर्ष कक्षा १ देखि ५ सम्म मैथिली, भोजपुरी, अवधि, तामाङ, लिम्बु, बान्तवा राई, चाम्लिङ् राई, शेर्पा, गुरुङ, मागर (ढुट), नेवार (नेपाल भाषा), थारु, सुनुवार, राजवंशी, याक्खामा पाठ्यपुस्तक तयार भएको छ।

यसैगरी कक्षा १ देखि ५सम्मकै मुगाली, तामाङ (सम्बोटा), मगर (धिमाल भाषाका पाठ्यपुस्तक तयार भएको छ भने कक्षा १ को थारु (मध्यक्षेत्र), कक्षा १ देखि ३ सम्मको बज्जिका, कक्षा १ देखि २ सम्मको कुलुङ र चेपाङ भाषाको कक्षा १ को पाठ्यपुस्तक तयार गरेको केन्द्रले जनाएको छ । यसै वर्षदेखि यी भाषाका कक्षाहरुमा सम्बन्धित क्षेत्रमा पठनपाठनका लागि पाठ्यपुस्तक पठाइने उनले बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न केन्द्रको ४८ औं वार्षिकोत्सवमा निर्देशक काप्रीले केन्द्रले यस वर्ष हासिल गरेको उपलब्धिबारे जानकारी गराएका थिए । उनले केन्द्रले यस शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी केन्द्रले प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्मलाई समेटी विकास गरिएको समग्र शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप पारित भएअनुसार कक्षा १० सम्मका पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको विकासमा क्रमिक सुधार गरिँदै आएको बताए।

‘प्रारुप अनुसारै विषयमा आधारित कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रमको प्रारम्भिक मस्यौदा तयार गरिएको छ,’ कार्यकारी निर्देशक काप्रीले भने, ‘मातृभाषमा शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्न परम्परागत धार जस्तै गुरुकुल, मदरसा, गोन्पा, मुन्धुमका साथै २५ ओटा मातृ भाषामा विभिन्न कक्षाको पाठ्यपुस्तक विकास गरिएको हो ।’ उनले थपे, ‘विद्यालय शिक्षालाई जीवनोपयोगी तथा रोजगारीमूलक बनाउन आधारभूत तथा माध्यामिक तहको प्राविधिक तथा व्यवसायिक धारतर्फ कृषि तथा इन्जिनियरिङ लगायतको विधामा पाठ्यक्रम तथा पाठ्यसामग्री विकास गरी कार्यान्वनमा ल्याएको छ।’

केन्द्रले माध्यामिक तहकै साधारणतर्फ कक्षा ९ र १० मा ऐच्छिक विषयको रुपमा एउटा सीपमूलक विषय र कक्षा ११ र १२ मा अनिवार्य विषयको रुपमा जीवनोपयोगी शिक्षालाई पारित गरिएको प्रारुप समेटिएको कार्यकारि निर्देशक काप्रीले बताए । ‘शिक्षा ऐनको आठौं संशोधनपछि कक्षा ९ देखि १२ सम्म नै माध्यामिक तहमा रुपान्तरण भएकामा उक्त तहमा एकल पथमा आधारित पाठ्यक्रमको एकीकृत संरचनाअनुसार विभिन्न विषयको पाठयक्रम तथा पाठ्यसामग्री विकस गरिएको छ,’ उनले भने, ‘अब परीक्षण गर्दै कार्यान्वयनमा ल्याउने कार्यक्रम तय गरिएको छ ।’ उनले थपे, ‘विद्यार्थीहरुको सिकाइको गुणस्तर प्रवद्र्धन गर्न सबै तह, कक्षा र विषयमा प्रविधिमा आधारित सिकारुमैत्री अन्तरक्रियात्मक डिजिटल पाठ्यसमग्री विकास गरिएको छ।’

कार्यक्रममा शिक्षामन्त्री पोखरेलले सरकारको ‘समृद्ध राष्ट्र र सुखी नेपाली’ बनाउने अभियानको मेरुदण्ड नै शिक्षा भएकाले पाठ्यक्रमलाई स्तरीय र राष्ट्र सुहाउँदो बनाउनुपर्नेमा जोड दिए । ‘आधुनिक, वैज्ञानिक, सान्दर्भिक र देशभक्तिको भावनाले ओतप्रोत भएको हाम्रो पाठ्यक्रम हुनुपर्छ,’ मन्त्री पोखरेलले भने, ‘समाजवाद उन्मुख र संघीयतासँग मेल खाने पाठ्यक्रम बन्नुपर्छ ।’ उनले थपे, ‘त्यही भएर म आफैं विज्ञहरुको घर दैलोमा आफंै पुगेर राष्ट्र सुहाउँदो सीपसहितको पाठ्यक्रम तयारी पार्न अनुरोध गरेको हुँ।’

शिक्षा सचिव खगराज बरालले विद्यार्थीको भविष्य र हितलाई ध्यानमा पाठ्यक्रम निर्माण गरिएको बताए । उनले विद्यालय शिक्षामा कार्यान्वयन भएको ग्रेडिङ प्रणाली नयाँ भएकाले विद्यार्थीको हितका लागि पटकपटक परिमार्जन गर्नु परेको प्रष्ट्याए । ‘राज्यलाई कस्तो नागरिक आवश्यक छ त्यहीअनुसार पाठ्यक्रम परिमार्जन र निर्माण हँुदै आएको हो । त्यहीअनुसार पाठ्यक्रम परिवर्तन र परिमार्जन गरिएको हो,’ सचिव बरालले भने, ‘कक्षा १२ मा पनि विद्यार्थीको हितलाई नै ध्यानमा राखेर एक विषयमा डि वा इ ग्रेड ल्याएकोलाई ग्रेड वृद्धिका लागि मौका परीक्षामा समावेस गरिने परिमार्जन गरिएको हो ।’ उनले थपे, ‘पाठ्यक्रम व्यवहारिक बनाएर अघि बढ्ने हो।’

विज्ञहरुलाई सम्मान
केन्द्रले आफनो ४८ औं वार्षिकोत्वको अवसरमा विद्यालय शिक्षाको विभिन्न विषयको पाठ्यक्रम तथा पाठ्यसामग्री विकासमा योगदान गर्ने विज्ञहरुलाई सम्मान गरेको छ । केन्द्रका अध्यक्ष मन्त्री पोखरलले नेपाली विषयका विज्ञ प्राडा बासुदेव त्रिपाठी, अंग्रेजी विषयका प्राडा शिशिरकुमार स्थापित, गणितका प्राडा सिद्धिप्रसाद कोइराला, विज्ञानका प्राडा शारदा महर्जन र समाजिक अध्ययनका प्रा. रामकुमार पाँडेलाई सम्मान गरेका हुन्।

‘हाम्रो योगदानको कम्तीमा ४८ वर्ष पछि भए पनि कदर भएकोमा गर्व महसुस भइरहेको छ,’ सम्मानित विज्ञ प्राडा बासुदेव त्रिपाठीले भने, ‘यसले नयाँ पुस्तालाई हौसला दिन्छ ।’ उनले सरकारले विद्यालय शिक्षाको सुधार र गुणस्तर वृद्धिमा नकारात्मक असर पर्ने कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै राष्ट्र सुहाउँदो जनशक्ति विद्यालय स्तरबाटै उत्पादन हुने पाठ्यक्रम तयार पार्न आग्रह गरे । 

रूबी रौनियारले नागरिक दैनिकमा खबर लेखेकी छन् ।

 

Comments: