मुलुककै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक ललितपुरको बुङमतिस्थित आदर्शसौल युवक माध्यमिक विद्यालयका  प्रधानाध्यापक हुनुहुन्छ सरोजभक्त आचार्य । २०५६ सालदेखि सोही विद्यालयममा अध्यापन गर्दै आउनुभएका उहाँ कार्यसम्पादन पाँच वर्षे करारमा २०६९ मा प्रधानाध्यापकमा नियुक्ति हुनुभएको हो । तनहुँ चुँदी रम्घामा २०३१ सालमा जन्मनुभएका आचार्यले विद्यालयको सिकाइ उपलब्धि बढाउन, भौतिक पूर्वाधार सुधारमा, विद्यार्थी संख्या वृद्धि गर्न, ११ र १२ कक्षामा नयाँ विषय थप्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । विद्यालय तहमा प्राविधिक शिक्षा लागू गर्नेदेखि लिएर विद्यालय सुशासन तथा परीक्षा प्रणालीमा सुधार र अभिभावकहरुसँगको समन्वयमा उहाँले महत्वपूर्ण काम गर्नुभएको छ । प्रस्तुत छ, प्रधानाध्यापक  आचार्यसँग विद्यालय सुधारमा भएका राम्रा अभ्यासहरुका बारेमा  गरेको कुराकानी :

सामुदायिक विद्यालयहरुको स्तर खस्कँदै गइरहेका बेला यस विद्यालयले भने निरन्तर प्रगति गर्दै गइरहेको छ । यसको कारण के हो ?
सामुुदायिक विद्यालयमा सुधार एकजना प्रधानाध्यापक, विव्यस अध्यक्ष वा एकजना शिक्षकले गरेर मात्रै सम्भव छैन । प्रशासन, प्रधानाध्यापक, विव्यस अध्यक्ष, शिक्षक, अभिभावक र विद्यार्थीको टिमवर्क भए मात्रै सुधार सम्भव छ । जहाँ टिम मिलेको छ त्यहाँ सफलता मिलेको छ । हाम्रोमा पनि भएकै त्यही हो । हामी सबै काम, प्रयत्न टिममा छलफल गरेर सामुहिक प्रयासमा गर्छौं । नतिजा तपाईँहरुको सामु छ ।

अहिले विद्यालयको राम्रो पक्ष केलाई मान्नुहुन्छ ?
राम्रो केलाई भन्ने पनि प्रश्न आउन सक्छ । मेरो विचारमा विद्यालय राम्रो हुनका लागि खासगरी व्यवस्थापन, विद्यार्थी संख्या र उपलब्धि राम्रै हुनुपर्छ । हाम्रो विद्यालयमा हेर्दा ६ देखि १० कक्षासम्म भौतिक पूर्वाधार हेर्ने हो भने विद्यार्थी राख्ने ठाउँ छैन । पूर्वप्राथमिक तहदेखि १० कक्षसम्म १४०८ विद्यार्थी छन् । ११ र १२ मा गरेर ४३५ विद्यार्थी छन् । अझै भर्ना हुने क्रम जारी नै छ । हाम्रोमा भर्नादर र नतिजा सबै तहमा उत्कृष्ट रहँदै आएको छ । विगतका एसएलसी, अहिलेको एसइइ, कक्षा ११ र १२, जिल्लास्तरीय कक्षा ८ सबैको नतिजा उत्कृष्ट रहँदै आएको छ । हामीले यसैका कारण अभिभावकको विश्वास जित्न सकेका छौं । अभिभावकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो । हाम्रो विद्यालयमा विद्यार्थीको चाप यति बढी छ कि वर्षैपिच्छे राख्ने ठाउँ नभएर सयौं विद्यार्थी फिर्ता गर्नुपर्ने अवस्था छ । ६, ७, ८ र १० मा ४/४ सेक्सन छ । ९ मा पाँच सेक्सन छ । अन्यमा पनि ३/३ सेक्सन छ । अतिरिक्त क्रियाकलापका लागि हामीसँग एउटा पनि कक्षा बाँकी रहेको छैन ।

भौतिक पूर्वाधारको व्यवस्थापन कसरी भएको छ ?
विद्यार्थीको चापका आधारमा हाम्रो भौतिक पूर्वाधार नभएकाले हामीले तीन स्थानमा विद्यालय सञ्चालन गर्दै आइरहेका छौं । हामीले पूर्व प्राथमिकदेखि कक्षा ५ सम्म कार्यविनायकमा प्राथमिक शाखा बनाएर सञ्चालन गरेका छौं । कक्षा ९, १० देखि ११ र १२ छ्यासीकोटमा सञ्चालन गर्छांै बिहानी शत्रमा भने ६ देखि ८ सम्म बुंगमतिमा सञ्चालन गर्छौं ।

अन्यभन्दा विद्यालयका राम्रा अभ्यासहरु के–के छन् ?
ठ्याक्कै फरक के छ भनेर मैले यहाँ बसेर भन्नचाहिँ गाह्रो विषय होला । विद्यार्थी संख्या धेरै र अभिभावकको विश्वास जित्नुको राम्रा पक्ष भनेको हामीले अंग्रेजी माध्यम शुरु गरेको धेरै भयो । २०६७ सालमै हाम्रा विद्यार्थीले अंग्रेजी माध्यममै एसएलसी परीक्षा दिइसकेका थिए । प्राथमिक तहदेखि नै कम्प्यूटर कक्षा दिने गरेका छौं । आइसिटी कक्षा सञ्चालन हुन्छ । पूर्वप्राथमिक र प्राथमिक तहमा हामी ‘युलर्निङ’का कक्षा सञ्चालन गर्ने गर्छौं भने कक्षा १० देखि माथि प्रोजेक्टरका माध्यमबाट सिकाउँछौं । हामीले कक्षा नौदेखि कम्प्यूटर इञ्जिनियरको प्राविधिक कक्षा पनि शुरु गरिसकेका छौं । अभिभावकहरुसँग नजिक बनेर बस्छौं । पटक–पटक छलफल गर्छौं । हामी विद्यार्थीको उत्तरपुस्तिका नतिजा विश्लेषण गर्दै विद्यार्थीलाई नै वितरण गर्छौं । हामीले गरेको कामको मूल्याङ्कन नतिजा नै भएकाले नतिजा विश्लेषणकै आधारमा सिकाइ योजना बनाउने गर्छौं । को कुन विषयमा कमजोर छ र कहाँ कमजोरी रह्यो भनेर हामीले तत्काल कार्ययोजना बनाएर लागू गर्ने गरेका छौं ।

सामुदायिक विद्यालयमा सिकाइ कमजोर हुनुको कारण केलाई मान्नुहुन्छ ?
प्रयास हामीले जस्तै सबैले गर्नुभएकै होला । तर, हाम्रोजस्तो टिमवर्क हुनु प¥यो, त्यो नमिलेकाले होला । विद्यालयमा विभिन्न तह र क्षमताका विद्यार्थीहरु आइरहेका हुन्छन् । विद्यार्थीको तह, क्षमता र रुचि अनुसार पढाउने, अत्यधिक शैक्षिक सामग्रीको प्रयोग गर्ने, आवश्यक ठाउँमा उपचार विधि अपनाउने, परियोजना कार्यमा जोड दिने, अनुसन्धानात्मक कार्यलाई प्रोत्साहन गर्ने गर्नुपर्छ । अहिले प्रविधिका कारण विद्यार्थीमा पढ्ने बानी कम हुँदैछ । त्यसैले, हामी विद्यार्थीलाई पढाउने होइन, पढ्ने बनाउनुपर्छ भनेर लागिरहेका छौं । निरन्तर विद्यार्थी मूल्याङ्कनलाई हामीले १० कक्षासम्मै लागू गरेका छौं । विद्यार्थी दुई दिनभन्दा बढी विना जानकारी अनुपस्थित भए हामी फोन गरेर अभिभावकलाई बोलाउँछौं । यसबाट अभिभावक र विद्यार्थीसँगको सम्बन्ध सुधार हुने रहेछ ।

विद्यार्थी संख्या धेरै छ, जनशक्ति र भौतिक पूर्वाधारको जोगाड कसरी गर्नुभएको छ ?
यो अति नै चुनौतिपूर्ण विषय बनेको छ हाम्रा लागि । हामीसँग कक्षा १० सम्म १४०८ विद्यार्थी छन् । हामीसँग स्वीकृत दरबन्दी ३८ जनाको मात्रै छ । २८ जना शिक्षक कर्मचारीहरु विद्यालयको निजी स्रोतमा राखेका छौं । हामीसँग विद्यालयको अतिरिक्त आम्दानीको स्रोत केही पनि छैन । हामी अभिभावकहरुले गरेकै सहयोगका आधारमा चलिरहेका छौं । हामीले यही विद्यालय पढेका, यहीबाट १२ कक्षा उत्तीर्ण उत्कृष्ट विद्यार्थीहरुलाई विशेष प्रशिक्षण दिएर शिक्षणमा लगाउने गरेका छौं । उनीहरु पनि विद्यालयमा सेवा गर्न पाउँदा खुशी छन् । अन्यभन्दा त्यस्ता शिक्षकको काम झनै उत्कृष्ट रहँदै आएको मेरो अनुभव छ ।

विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकार मातहत्मा जाँदैछ । अब स्थानीय सरकारले विद्यालयको व्यवस्थापनका लागि के गर्दा राम्रो होला ?
संविधानले नै विद्यालय तहको शिक्षा स्थानीय सरकारको जिम्मामा दिइसकेको अवस्थामा हिजो पनि सबै विद्यालयहरुलाई एउटै नजरबाट हेर्ने व्यवस्था भयो । स्थानीय तहले आवश्यकता, उपलब्धिको आधारमा विद्यालयको वर्गिकरण गरोस् । विद्यालयको दरबन्दी, उपलब्धि, आर्थिक स्रोत, विद्यालय व्यवस्थापन अनुगमन गरी सोही अनुसार सहयोग गर्ने व्यवस्था गरिदिए राम्रो हुन्थ्यो । हाम्रो सन्दर्भमा, हामीले शिक्षक अभाव, अतिरिक्त क्रियाकलापका लागि ठाउँ अभावको समस्या झेलिरहेका छौं । यो समस्या समाधान गरिदिओेस् । ललितपुरमा स्वीमिङ पुल छ, चिडियाखाना छ । र, हाम्रा विद्यार्थी पैसा तिरेर जान सक्दैनन् । यस्ता स्थानमा विद्यालयहरुलाई विशेष रुपमा हेरिदिनुपर्छ ।

अभिभावकहरुको सामुदायिक विद्यालय प्रति मोहभङ्ग हुँदै जानुको कारण के होला ?
वास्तवमा, समस्या नीति–नियमदेखि नै शुरु हुन्छ । शिक्षा मन्त्रालय, विभाग, क्षेशिनि, जिशिका त्यसपछि पनि विनि र स्रोतव्यक्तिहरु छन् । तर, अनुगमन फितलो छ । राम्रो गर्नेलाई ‘मोटिभेसन’ र नगरेकालाई ‘किन गर्नुभएन ? तपाईँका यी–यी कमजोरी रहे, यसमा सुधार गर्नुपर्छ’ भनेर भनिदिने मान्छे र निकाय भएन । आन्तरिक व्यवस्थापनको सूक्ष्म अध्ययन र अनुगमन मूल्याङ्कन गरिनु पर्छ । पैसा दिनु पर्दैन । मिडियामार्फत् यो विद्यालयले राम्रो गरेको छ भनेर स्याबासी दिने काम हुनु पर्छ । यसले राम्रो गर्नेलाई प्रोत्साहन र अन्यलाई उत्प्रेरणा मिल्छ ।

निजी विद्यालयको आकर्षण किन बढेको होला ? यस विद्यालयको प्रतिस्पर्धा सामुदायिक कि निजी विद्यालयसँग हो ?
निजी विद्यालयप्रतिको आकर्षण बढेको होइन । सामुदायिक विद्यालयको केही घटेको मात्रै हो । हामी कमजोर भएकाले निजी बलियो भएको जस्तो देखिएको हो । हामी बलियो बने उनीहरु स्वतः कमजोर हुन्छन् । हाम्रो विद्यालयको प्रतिस्पर्धा निश्चय पनि निजी विद्यालयसँगै हो । हाम्रोमा भर्ना नपाएर यसै वर्ष पनि धेरै निजी विद्यालयका विद्यार्थी फर्किएका छन् । हामी जिल्लाका कुनै पनि निजी विद्यालयभन्दा कम छैनौं । यसमा हामी चुनौती नै दिन चाहन्छौं । हामी विद्यार्थीहरु हाम्रो विद्यालयबाट गइसकेपछि उनीहरुको हातमा प्रमाणपत्रसँगै सीप होस् भनेर लागिरहेका छौं । हाम्रामा कक्षा ९ मा मात्रै २११ विद्यार्थी छन् । जग्गा नभएर नयाँ भवन बनाउने ठाउँ पनि छैन । यदि पर्याप्त भौतिक पूर्वाधार हुने हो भने हामी मुलुकका कुनै पनि निजी विद्यालयलाई चुनौती दिन सक्छौं ।

यो विद्यालयका खास समस्याचाहिँ के–के छन् त ?
भौतिक पूर्वाधार नै हो मुख्य । अतिरिक्त क्रियाकलापका लागि स्थान र बजेट कमी भयो । २८ जना निजी स्रोतमा शिक्षक कर्मचारी राख्नुपरेको छ । यसले गाह्रो बनाएको छ । यी विषयमा स्थानीय सरकारले सहयोग गरे हामी अझै धेरै गर्न सक्छौं ।

विद्यालयका आगामी योजनाहरु के–के छन् ?
हामीले यसै वर्षदेखि विद्यार्थीलाई बिहान १० मिनेट ध्यान गराउन शुरु गरिसकेका छौं । प्रत्येक कक्षामा स्पीकर जडान गरेका छौं । एसेम्बलीका लागि चौर हामीसँग नभएकाले कक्षामा एकै समयमा राष्ट्रिय ज्ञान बज्छ । १० मिनेट ध्यानको कार्यक्रम छ । यसले उनीहरुमा सकारात्मक सुधार भएको विद्यार्थी र अभिभावकहरु बताउनुहुन्छ । हामी तेक्वान्दो कार्यक्रम सञ्चालन गर्छौं । यसमा हाम्रा विद्यार्थीहरुले थाइल्याण्ड, जर्मनी, रसियालगायत विभिन्न देशमा गएर पदक जितेका छन् । साधारण रुपमा अघि बढिरहेको विद्यालयलाई प्राविधिक धारमा पनि लगेका छौं । हाम्रा विद्यार्थीहरु कम्प्यूटर ओभरसियर भएर निस्कनेछन् । अन्य सीपमुलक कामहरुसमेत अगाडि बढाउँदैछौं । यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने योजनामा छौं । स्थानीयस्तरमा रहेको सीपलाई समेत विद्यार्थीमा पु¥याउने योजनामा छौं । काष्ठकलामा धनी छ बुङमति यो पनि विज्ञ ल्याएर सिकाउने, गाउँका किसान, वाद्यवादक, गायक, संगीतकार, कलाकारहरुलाई ल्याएर एउटा कक्षा सञ्चालन गराउने योजना छ । हामीले ‘सबै कुरो छाड, पढ पुस्तक बोकी’ भन्ने कार्यक्रम सञ्चालन गरिरहेका छौं । हप्ताको एक दिन निश्चित समय तोकेर पुस्तक पढ्नैपर्ने व्यवस्था गरेका छौं । त्यो समयमा विद्यार्थीले जुनकुनै अवस्थामा भएपनि पुस्तक पढ्नै पर्छ । यसलाई अझ व्यवस्थित गराएर हरेक दिन एउटा पुस्तकालय कक्षा सञ्चालन गर्ने हाम्रो योजना रहेको छ ।

प्रस्तुतिः रोशन क्षेत्री गाउँले

२०७४ असोज ७ गते ००:४७मा प्रकाशित

प्रतिकृया दिनुहोस्