२०७७ जेष्ठ १९ गते

आमा–छोरी एउटै कक्षामा

जाजरकोट । भेरी नगरपालिका ४, बोहराकी ४३ वर्षीय पूर्णिमा मल्ल चन्द १८ वर्षीय छोरी अमृतासँगै दैनिक १ घण्टा हिँडेर विद्यालयको कक्षाकोठामा पुग्छिन् । आमा छोरी प्रायस् कक्षा कोठाको पहिलो बेन्चमा बस्छन् । पूर्णिमा र उनकी छोरी अमृता त्रिभुवन मावि खलंगाका ११ कक्षाका विद्यार्थी हुन् ।

पूर्णिमाले त्रिभुवन माविबाटै ११ वर्षअघि एसएलसी उत्तीर्ण गरेकी थिइन् भने अमृताले यसै वर्ष एसईई उत्तीर्ण गरेकी हुन् । ९ कक्षा पढ्दापढ्दै २०५१ सालमा विवाह भएपछि पढाइ अलपत्र परेको पूर्णिमाले बताइन् । ‘उच्च शिक्षा पढ्ने लक्ष्य थियो तर पूरा भएन । घर नजिकैको विद्यालय र क्याम्पसबाट स्नातकसम्मको शिक्षा लिने उद्देश्य राखेकी छु,’ उनले भनिन् । छोरीसँगै विद्यालयमा पढ्ने अवसर पाउँदा खुसी लागेको उनले बताइन् । कठिन लागेका विषय आमाछोरी छलफल गरेर पढ्ने गरेको उनले बताइन् ।

आँखा कमजोर भएकाले शिक्षकले लेखाएको नोट छुट्ने गरेको उनले बताइन् । ‘छुटेको कुरा छोरीको नोटबाट कभर गर्ने गरेकी छु,’ उनले भनिन् । पूर्णिमाका आमाछोरी नियमित विद्यार्थी भएको प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए । उनीहरू पढाइमा जिज्ञासु र लगनशील भएको शाहले बताए ।

पढाइमा मेरोभन्दा आमाको जाँगर बढी आउने गरेको छोरी अमृताले बताइन् । ‘आमा बिहान ५ बजे नै किताब समातेर स्कुल जान तम्तयार हुनुहुन्छ । मलाई छिटो जाम भनेर कराउनुहुन्छ,’ उनले भनिन् । उनका ३ छोरी र १ छोरा छन् । पूर्णिमा १२ वर्षअघिदेखि बुद्धि आधारभूत विद्यालय बोहराकी बाल विकास शिक्षक पनि हुन् । विद्यालयबाट उनले मासिक ६ हजार तलब पाउँछिन् । छिमेकीले माथिल्लो शिक्षा नभएको भनेर कुरा काटेपछि पढ्न जोस लागेको उनले बताइन् ।

‘गाउँलेका अगाडि स्नातक नै गरेर देखाउँछु,’ उनले भनिन् । ‘जेठी छोरी प्रमिलाले घर व्यवहार धान्दा मलाई विद्यालय जान सजिलो भएको छ,’ उनले भनिन्, ‘छोरा र छोरीले जति सक्नुहुन्छ पढ्नुहोस् आमा भन्छन् । तर श्रीमान् भने पढेर के काम भन्नुहुन्छ ।’ उनका पति रामबहादुर साधारण लेखपढ छन् । उनी काठसम्बन्धी काम गर्ने दक्ष मिस्त्री हुन् ।कान्तिपुर दैनिकमा खबर छ ।

 

Comments: