काठमाडौं  । अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमलाई कार्बाही गर्न माग गर्दै मुख्य सचिवसमक्ष निवेदन दर्ता गराएका छन् ।

तालिम, शिक्षक लाइसेन्स नभएर तथा शिक्षा विषय नपढेका, लियन(राख्नेरबस्ने), स्थायीका कारण अस्थायी बाट विस्थापित भएका र अस्थायी मध्ये ५१ प्रतिशत शिक्षकको खाइपाई आएको रोजगारी खोस्ने बदनियत राखी शिक्षक सेवा आयोगले २०६१ मा भएको विज्ञापन नै लुकाएर पत्र पठाएको तथा अदालतले समेत सोही पत्रका आधारमा आदेश जारी गरेको भन्दै एउटा विज्ञापन नै लुकाइ पत्र लेख्ने आयोगका अध्यक्षसमेतका पदाधिकारीहरुलाई कार्बाही गर्न माग गरिएको छ ।

शिक्षक सेवा आयोगले आयोग नियमावली २०५७ को तेस्रो संशोधन २०६०–१२–१६ पछि पहिलो विज्ञापन २०६९, दोस्रो २०७१, तेस्रो २०७२ र २०७३ चैत्र २३ को विज्ञापन चौंथो  भएको व्यहोराको पत्र गत असार ४ गते च.नं. १३०५ बाट लेखेको र सो पत्र बहसको क्रममा सरकारी वकिलबाट पेश भएको व्यहोरा सर्वोच्चको पूर्ण इजलाशको आदेशमा उल्लेख भएको र सोही आधारमा पीडित अस्थायी शिक्षकलाई अन्तरिम आदेश नदिइएको निवेदनमा जिकिर गरिएको छ ।

जनप्रभात मावि कालीमाटीका शिक्षक शरदकुमार मिश्र, शमीभञ्ज्याङ मावि धादिङका शिक्षक बसन्तकुमार श्रेष्ठ, पशुपति मित्र मावि चावहिल काठमाडौंकी शिक्षक प्रार्थना खनाल, सिर्जनशील जनता मावि काभ्रेका शिक्षक डम्मरबहादुर लामा, चामुण्डा मावि जोरपाटीका शिक्षक यादव प्रसाद पौडेल, चक्रेश्वर मावि काभ्रेका शिक्षक हरिप्रसाद घिमिरे र सोही विद्यालयका युवराज दाहालले निवेदन दर्ता गराएका हुन् ।

२०७४ साउन ११ गते १२:१७मा प्रकाशित

प्रतिकृया दिनुहोस्