२०७६ असोज २९ गते

गण्डकीले विश्वविद्यालय बनाउने

अन्तैबाट

पोखरा  । गण्डकी प्रदेश सरकारले आफ्नै विश्वविद्यालयन बनाउने भएको छ  । बुधबारको गण्डकी प्रदेशसभाको बैठकले विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेसँगै सरकारलाई विश्वविद्यालय बनाउने बाटो खुलेको हो  ।

विश्वविद्यालयको विधेयकप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष कांग्रेसले संशोधन प्रस्ताव राखेको थियो । उसले असहमति जनाएका बुँदामा सामान्य हेरफेर गरी बुधबारको प्रदेशसभा बैठकले पारित गरेको हो । प्रदेश सरकार स्थापनापछि गण्डकी सरकारले ल्याएको पहिलो नीति तथा कार्यक्रममा समावेश गरिएको विश्वविद्यालय गत वर्ष पनि निरन्तरता दिइएको थियो ।

विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनका लागि सरकारले कार्यदलसमेत गठन गरेको थियो । प्राकृतिक विज्ञान, प्राविधिक तथा व्यावहारिक व्यवस्थापन, समाजशास्त्र, मानवशास्त्र, प्रविधि, आविष्कार र शिक्षामा स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी गराउने गरी विश्वविद्यालय सञ्चालन गर्ने सरकारको योजना छ । विश्वविद्यालयमा ८० प्रतिशत प्राविधिक विषयको पढाइ हुनेछ । समाज, राजनीति र अर्थ बुझ्नका लागि बाँकी २० प्रतिशत पढाइ राखिएको छ ।

८ अर्ब लागत कार्यदलको प्रतिवेदन अनुसार विश्वविद्यालय स्थापनाका लागि ७ अर्ब ९४ करोड ८० लाख रुपैयाँ लागत लाग्ने अनुमान छ । त्यसमा १ अर्ब ८२ करोड ३० लाख रुपैयाँ स्थापना र सञ्चालन र पुँजीगत खर्च ६ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ । गण्डकी विश्वविद्यालयले प्रदेश बाहिर सम्बन्धन दिन पाउँदैन । सम्बन्धन दिनुपर्ने सम्बन्धित कार्यक्रम सञ्चालन भएको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने क्याम्पस तोकिएको छ ।

डा.तीर्थबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनअनुसार सम्बन्धनको मापदण्ड र कार्यविधिलाई न्यायिक परिषदले स्वीकृत गर्नुपर्ने हुन्छ । गण्डकी विश्वविद्यालयको विधेयक पूर्वाधार, मानवीय शक्ति, प्रविधि र पुँजीलाई सम्बोधन गरी ल्याएको हो ।

कान्तिपुरमा खबर छ ।

Comments: