काठमाडौं ।  नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् पूर्ण रुपमा सुखद हुन सकेन । विभिन्न शिक्षक संगठनहरु मिलेर बनेको महासंघको पहिलो परिषद्को उद्घाटन शत्र महासंघको प्रमुख घटक नेपाल शिक्षक संघले बहिष्कार गर्यो । शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको परिषद्मा संघको बहिष्कारले महासंघलाई दातमा ढुङ्गा लागे जस्तै भएको छ ।

उद्घाटन शत्रमा संघको बहिष्कारपछि प्रतिनिधिहरुको सहभागिता त कम भयो नै, कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारीमा रहेका महासचिव लक्ष्मीकिशोर सुवेदी बहिष्कारमा सहभागी भएपछि उपमहासचिव दिनानाथ तिम्सिनाबाट सञ्चालन गरियो । संघबाट महासंघको महासचिव बनेका सुवेदी ललितपुरमा परिषद् चलिरहँदा संंघको केन्द्रीय कार्यालय धुम्रबराहीमा शिक्षकहरुसँग दशैंको शुभकामना साटासाट गरिरहनुभएको थियो ।

तर, उद्घाटन शत्र बहिष्कार गरेको संघ दोस्रो दिनको बन्द शत्रको छलफलमा भने सरिक भएको छ । बन्द शत्रको समापन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिको उपस्थितिमा २४ बुँदे शैक्षिक घोषणापत्र जारी गर्दै परिषद् सम्पन्न भएको छ ।

विवादको चूरो

नेपाल शिक्षक संघले विधान संशोधनमा असहमति राख्दै परिषद् बहिष्कार गरेपनि त्यसमा मुख्यतः नेतृत्वबीच ‘जुँगाको लडाइ’ ठान्नेहरु भेटिए । अर्कोतर्फ यसलाई चर्काे राजनीतिकरणको संज्ञा पनि दिइएको छ । महासंघका अध्यक्ष बाबुराम थापाले एकलौटी निर्णय गर्दै गएको र घटक संगठनहरुसँग छलफल तथा सहमति नगरेको संघले विगतदेखि नै आरोप लगाउँदै आएको थियो । शिक्षकहरुमा सबैभन्दा ठूलो संगठन भएको दाबी गर्ने संघले सहमतिको आधारमा महासंघको अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक संगठनलाई सुम्पनु परेपछि रुष्ट बन्दै आएको बताइन्छ । त्यसैले महासंघका हरेक निर्णयहरुमा संघ आफ्नो खास भूमिका चाहन्थ्यो । सकभर थापाको कार्यकाल छिटो सिध्याएर संघ नेतृत्वमा आउन खोजिरहेको बुझिन्थ्योे । तर, प्रथम परिषद्मा विधान संशोधन प्रस्तावमा वर्तमान कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने प्रस्ताव देख्नेबित्तिकै संघले ठाडै अस्वीकार गर्यो । सो प्रस्ताव विधिसम्मत रुपमा छलफल नगरी थापाले आफ्नो कार्यकाल बढाउनेगरी मात्रै ल्याएको संघको आरोप छ । यता, सो प्रस्ताव संशोधन गर्न भनेपनि थापाले परिषद्मा पेश गरेरै छाड्ने अडान लिनुभएपछि रातारात संघले परिषद् नै बहिष्कार गर्ने निर्णय गर्यो र परिषद्का लागि आएका संघ निकट प्रतिनिधिहरुलाई परिषद्मा नभई केन्द्रीय कार्यालय आउन ह्वीप जारी ग¥यो । केही संघ निकट प्रतिनिधिहरु परिषद्मा पुगेपनि आफ्ना नेताहरुलाई नदेखेपछि संघकै केन्द्रीय कार्यालयतिरै फर्किएका थिए । छुट्टै समानन्तर महासंघ बनाउने प्रयत्न गरेपनि अन्य संगठनले सहयोग नगरेपछि र संघभित्रैबाट पनि त्यसको विरोध गरिएकाले अन्ततः महासंघको परिषद्मा सामेल भएको शिक्षक नेताहरुको दाबी छ । यद्यपि, यसबारे पुष्टि हुन सकेको छैन ।

कसरी सम्भव भयो संघ सहभागिता ?

उद्घाटन शत्र बहिष्कार गरेको संघ भोलिपल्ट भने परिषद्को बन्द शत्रमा सहभागी बन्यो । उद्घाटन शत्र पछि शनिबार महासंघका अध्यक्ष थापाले संघका अध्यक्ष राजेन्द्रराज पौडेललाई १९ पटक फोन गरेपनि नउठाएपछि बन्द शत्रमा संघको सहभागिता अनिश्चित बनेको थियो । भोलिपल्ट आइतबार जावलाखेल नै पुगेका संघका अध्यक्ष पौडेलसहितको नेतृत्वसँग महासंघमा आबद्ध अन्य संगठनका अध्यक्षहरुसँग छलफल भएको थियो । संघलाई बन्द शत्रमा लैजाने भूमिका भने महासंघ तथा संघका पूर्व अध्यक्ष केशव निरौलाले निर्वाह गर्नुभएको बताइन्छ । संघले त्यसपछि परिषद्को बन्द शत्रमा सहभागिता जनाएको बताइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्मा संघले कुनै विशेष कारण वा एजेण्डामा विमति जनाएर उद्घाटन शत्र बहिष्कार नगरेकाले पछि आफैं बन्द शत्रमा सहभागी भएको जानकारी दिनुभयो । बन्द शत्रमा विधान संशोधन र अन्य प्रस्तावमा समेत संघबाट कुनै विमति नआएकाले विधान संशोधन र अन्य सबै प्रस्ताव पारित भएको शर्माको दाबी छ । यद्यपि, महासंघमा आबद्ध सबै शिक्षक संघ–संगठन घटकका अध्यक्षसम्मिलित अध्यक्ष मण्डलले सार्वजनिक गरेपछि मात्र त्यसलाई पारित गरेको मानिने सहमति भएको बुझिएको छ । महासंघका अध्यक्ष थापा पनि संघले कुनै स्पष्ट कारण र एजेण्डाबिनै उद्घाटन शत्र बहिष्कार गरेको नभएकाले आफैं बन्द शत्रमा सरिक भएका तथा परिषद् सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । संघलाई बन्द शत्रमा सहभागी गराउन कुनै छलफल र सहमति नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘उद्घाटन शत्रमा किन सहभागी नभएको र बन्द शत्रमा किन भएको भनी संघकै नेतृत्वलाई सोध्नुस् ।’

परिषद्का प्रस्तावः यथावत् कि पारित ?

परिषद्ले विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव ‘सर्वसम्मतिले पारित गरेको’ बताइएको छ । तथापि यो ठ्याक्कै पारित भएको भन्ने भनाइमा एकरुपता पाइएको छैन । कार्यकाल बढाउने विषयमा असहमति भएको भनेपनि छलफलमा ‘संघले कुनै विमति नराखेपछि त्यो पारित भएको’ अध्यक्ष थापाको भनाइ छ । तर, परिषद्बाट पारित भएका विषयलाई अध्यक्ष मण्डलबाट सार्वजनिक गरेपछि मात्र मान्य हुने भित्री सहमति भएको शिक्षक नेताहरुले जनाए । यस्तै, परिषद्बाट महासचिवको सांगठनिक प्रस्ताव, महिला उपाध्यक्षको महिला प्रतिवेदन र अर्थउपमहासचिवको आर्थिक प्रतिवेदनसमेत एजेण्डामा रहेका थिए । ती पनि पारित गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

२०७६ असोज ६ गते १९:३९मा प्रकाशित

प्रतिकृया दिनुहोस्