२०७६ भदौ ३० गते

तराईका ती ‘अर्ग्यानिक’ दसैँहरू

पेशल आचार्य

 


    पुस्तक पढ्नुभन्दा प्रकृति पढेर धेरै गुणा फरक ज्ञान हाँसिल गर्न सकिँदो रहेछ । अझ लेखनकलालाई आफ्नो वृत्ति बनाएका लेखकले त आफ्ना बाल्यवयका परिघटनाहरूलाई लेखेर कहिल्यै नसक्ने रहेछन् । यस्ता ज्ञान ममा आएको धेरै भएको छैन । कहिलेदेखि आयो त्यो झट्टै सम्झन सकिरहेको पनि छैन ।


    स्मृति र विस्मृतिका सुनामीमा फँसेको छु –म यतिखेर ।


    म बीसको दसकमा मोरङमा जन्मेको हूँ । औलोको तरानले भर्खरभर्खर मुक्ति पाएका बेला पहाडबाट मधेश झरेका बूढापाकाहरू भन्थे रे –‘मोरङमा एक रूपैयाँका अन्नले बाँचुन्जेल खान र मरेपछि कृया गर्न पुग्छ ।’ किन यसो भनिएको होला ? म धेरै पछिसम्म पनि  गहिरिएर सोच्थेँ । कुरोको चुरो अर्कै रहेछ । जुनबेला मोरङमा एक रूपैयाँमा जति अन्न पाइन्थ्यो त्यतिले एकजना मानिसलाई हप्तापन्ध्र दिन खान पुग्थ्यो । हप्तापन्ध्र दिन बाँच्दा नबाँच्दै त्यो मरिज औलोले मरिसक्थ्यो अनि बाँकी बक्यौता अन्नले उसको काजकृया गर्न समेत भ्याउँथ्यो । साँचो रहेछ त्यो कुरा । आखिर बूढापाकाहरू किन झुट बोल्थे । उनीहरूले बकेका हरेक कथा र गाथाहरू अहिले हाम्रा लागि किम्वदन्तीमय मार्गदर्शन बनेका छन् ।


    ‘आगो ताप्नु मूढाको कुरा सुन्नु बूढाको’ उखानमा मेरो विश्वास छ । म बूढोपुस्ता र पुराना कहावत्हरूलाई शततः नमन गर्छु । सोहीपरि तिनमा लुकेका अनाम सत्यलाई मिहीन पारामा परख गर्दै अवलम्बनको जमर्को पनि गर्छु ।


    तराईमा मेरा बाल्यवयका धेरै दसकका दसैँहरू बितेका छन् । ती दसैँले मलाई अहिले अनेकानेक लेखनका गुत्थीहरू दिएका छन् । केही हास्यास्पद र केही रागात्मक विषयमा मैले भोगेका ती दसैँबाट विषयका पाँजा झिकेर अहिले म आत्मरतिका भाव पोखिरहेछु ।


    दिन, महिना र वर्ष हुँदै अहिले ती सम्झनाहरू मानसपटलमा दसकौंका फालक भएर रहेका छन् ।


===
    ‘दसैँ आयो । खाऊँला पिऊँला । कहाँ पाऊँला ? चोरी ल्याऊँला । धत्त पापी म त छुट्टै बसूँला ।’ सोह्रश्राद्ध सकिएर नौरथा लाग्नेलाग्ने बेलामा चारैतिरका परिवेशमा ढोलक बजेको सुनिन्थ्यो । बाक्लो ग्रामीण वस्तीमा यो एक निःशुल्क जनाउ हुन्थ्यो –दसैँका लागि । हामी ढोल बजाउँदै घरघर आउने ती बूढा पोयाका दलित जातिका मान्छेहरूलाई बालशुलभ बोलीमा ‘ढोलिया’ भन्थ्यौं । कुनकुन जातिका मानिस हुन्थे तिनीहरू ? हामी खोजीखबरी केही गर्दैनथ्यौं । बाआमाले पनि नाटीखुटी केही भन्थेनन् । केटाकेटी बुद्धिले त्यो खुट्याउन सक्ने कुरो पनि भएन । अनि बज्न थाल्थे रेडियो नेपालमा मालश्रीका सुरम्य कर्णप्रिय धूनहरू । मालश्रीका धून, देवीभजन र यदाकदा सूरअसूरका रेडियो नाटकसँगै केटाकेटीमय पारामा ‘दसैँ आयो’ जस्ता बालगीत पनि उफ्रीपाफ्री गरेर गाइन्थ्यो । हार्दिकता लपक्कै गाँसिएका थिए –ती दसैँका दिनहरूमा ।


    कोठेबारीमा दसैँलाई भनेर घाँस साँचिन्थ्यो । बोडीका लहराले जेलेका बन्सो घाँस काटेर गाईभैँसीलाई खुवाउन थालेपछि बल्ल नौरथा मध्य भएको भान हुन्थ्यो । तिनताक सनपाटको खेती मोरङ र सुनसरीतिर उधुमै हुन्थ्यो । हाम्रा खेतमा पनि सनपाट (पटुवा) लगाइन्थ्यो । पटुवाको साग असाध्यै मिठो हुने हुँदा पटुवा गोडेका बेला बिँडाएर साग टिप्ने चलन थियो । ओइलाएका पटुवाका सागमा सुकेका राता खोर्सानी पड्काएर बनाइने तीतोतीतो स्वाद्को तरकारी खूब मिठो हुन्थ्यो । दोस्रो तरकारीका रूपमा भागमा हुने पटुवाको सागको स्वाद् सम्झँदा अहिले पनि जीब्रामा पानी भरिएर आउँछ ।
कठै ! ती दिन गैगए ।    


    कल्पनाको पुतली समाउन कटी पतङ्गझैँ बेधड्क उडिन्थ्यो ।


    भुइँ छाड्न मन भए घरमा हालेको खाँबे पिङ र साथी भाइसँग रमाउन मन भए गाउँलेहरू मिलेर बनाएका लिङ्गे पिङ हुन्थे । बाउआमाले नै बेबहार निखन्ने हुँदा आफ्ना तर्फबाट कुनै जिम्मेवारी नहुनाले मस्ताराम हुने एक प्रकारको छुट दिएको थियो –जिन्दगीले ।


     पाकेको महिनाको तलब होस् या रिनपान गरिएको पैसो । कहिले त खसीबोका विक्री गरेर आएका थोरबहुत पैसा केही पत्तोफाँट हुँदैनथ्यो । ‘शोक न सुर्ता भोक न भकारी’ भनेझैँ शोधखोजको पर्वाह पनि रहन्थेन । बाल रहरका बैँकमा भएका जति पनि चेकहरू साट्ने सुविधा थियो –उसबेलाका दसैँ तिहारजस्ता पार्विक माहोलमा हामी केटाकेटीहरूलाई ।


===
    कर्मचारीवृत्त परिवारका सम्बन्धमा उबेला यस्तो कहावत् गरिन्थो ‘कुखुरो काट्यो दसैँ, झोला बोक्यो बसैँ’ तर हाम्रा परिवारमा प्रायः कुखुरो काटेर दसैँ मनाएका रानारूनी सम्झौटाहरू पनि छैनन् । बरू यतिखेरको राजधानी बसाइले आफूलाई किनौरे (किनेरै बाँच्ने) बनाएको छ ।


    त्यस बेलामा हाटको चलन उधूमै हुने । सोमबार र बिहीबार हाम्रा घरदेखि नजिकै साप्ताहिक हाट लाग्ने गर्थे । हिँङदेखि हर्दी (बेसार) सम्म फलामदेखि सिलामसम्म सबैथोक हाटमै सस्तो मोलमा पाइने र मोलमोलाई गर्ने छुट पनि हुने भएकाले कुन धनी कुन गरिब सबैले आफूलाई सोमबार र बिहीबार अनिवार्य रूपमै हटारू बनाउँथे । नगदको चलन यदाकदा कर्मचारीले मात्रै गर्दथे । गृहस्थीका लागि अन्नपात बेचेरै सौदा खरिद्नु एकमात्र उपाय हुन्थ्यो । नबेचे निरूपाय । हामीचाहिँ नगदजिन्सी दुवैको प्रयोग गर्दथ्यौं । आखिर हाम्रो परिचय कर्मचारीको परिवारमा पर्दथ्यो ।
    घरपायक जागिरको मज्जा नै बेग्लै । बा भूमि प्रशासनमा खरिदार हुनुहन्थ्यो ।  


====
    दसैँमा नयाँ लुगा हाल्दिने चलन गाँवैभरि थियो । अझ हाम्रा घरमा त झन् अनिवार्यजस्तै थियो । लुगा किन्नका लागि बजारमा मारबाडीका कपडा पसल बग्रेल्ती थिए । ‘सुनसरी स्टोर’ ती मध्येको माउ दोकान थियो । जहाँ ‘राजादेखि रङ्क’ सबैलाई हुने खाले कपडाहरू पाइन्थे । सके नगदमा किन्ने नसके उघारो खाता खोलिएको हुन्थ्यो । अलि साना हुँदा आमा र बामात्र जानु हुन्थ्यो । पछि हामी रहर गर्ने हुन थालेपछि हामी पनि साथै पछ्याउँथ्यौं । रोज्जा कपडा लिएर दमाईकहाँ गएर लुगा छेकिन्थ्यो । आला कपडाका बास्ना यति बास्नादार हुन्थे कि त्यसैले पनि बाल मष्तिस्कमा दसैँ आएको निमन्त्रणा गर्दथ्यो ।


    रहरको कुनै सरहद् हुँदैनथ्यो । जे किनिदिए पनि हुने । जस्तो लगाइदिए पनि हुने । ग्यालेजवाला पाइन्ट र फूलसर्ट लगाउने चलन औधी चलेको थियो । बाबरी छाँट्नै पर्दथ्यो । स्कुलका मास्टरजीहरू अति कडा मिजासका हुने भएकाले लामो कपाल पालेर स्कुल जान दिँदैनथे । अदव राख्नु पर्दथ्यो घरमा होस् या स्कुलमा । अनुशासन किताबमा मात्र नभएर बेबहारमा पनि खोजिने जमाना थियो –ऊ बेलाँ ।   

 
    सम्झनाका पत्रहरूमा चाङ् लागेका ती दसैँहरूलाई सबैभन्दा मुन्तिरबाट झिकेर हेर्ने हो भने सप्तरङ्गी इन्द्रेणीझैँ रम्यताको तालमा छम्छमी गरेर नाँच्न थाल्छन् ।


    त्यतिबेला जीवनमा लेखक भइन्छ भन्ने पूर्वाभाष मात्रै भएको भए पनि अझ उधुमसँग उपध्रो गरेर बालापन् बिताइन्थ्यो होला । काश, मनुवा भविष्यगामी भैदिए, आउनेवाला जिन्दगीको पूर्वतयारी गरेर जीवनलाई अझ चकाचौँध बनाइन्थ्यो होला ।


    हामी सामान्य मानिसलाई मात्र होइन संसारका महापुरुष पनि भविष्यवेत्ता हुन सक्दैनन् –सायद् । भोग्दैजाँदा र खेप्दैजाँदा जिन्दगीले जेजे गर्न लगाउँछ त्यहीत्यही गर्ने रहेछन् –मानिसले । कहाँ कतिखेर कस्को जीवनमा ‘यु टर्न’ हुन्छ त्यो कसैलाई थाहा हुन्न ।


    भोगाइलाई भाग गर्दागर्दा भागफलमा शेष लागेको यही ज्ञान हो– जीवन । अहिले अलिअलि हात लागेको छ । लेख्न र लेख्नका लागि कल्पिने आधारशीला बनेका ती तीक्तमीष्ठ अनुभूति र सोका फड्के साक्षी बनेका बालसखाहरू आज सबैजसो जीवनमा वैपरीत्य दिशामा छुटेका रेलझैँ भएका छन् । एउटा घामकीरी समात्न जाँदा हराएका अन्य थुप्रै घामकीरीहरू भिट खेतका ससाना झाडीमा हराएझैँ । जीवन भनेको सम्झँदै बाँच्दै गर्ने मेसो रहेछ । विगत् मह हो जो जति खाए पनि नअघाइने । वर्तमान् तीतेपातीझैँ कलबिख तीतो हुँदो रहेछ भन्ने ज्ञान अहिले जो व्यवहार विश्वविद्यालयले दिएको छ । यसैमा मख्ख परेर खुसीले फुलेल भएकोछु । न पाठ्यक्रम । न पाठ्यपुस्तक । न गुरु । न कक्षा । भोगियो अनि स्वतःस्फूर्त सिकियो । जीवन पढियो –अनवरत बालापनमा खेल्दै र युवावय समस्यामा झेल्दै । नचाहँदा नचाहँदै सिकियो । नाइँनाइँ भन्दाभन्दै जानियो ।


    हुन त चरीपंक्षी र पशुहरू पनि आफैँ सिक्छन् । देखेर । भोगेर । गरेर । खाएर ।  


===
    अहिले आफ्ना थाप्लामा बोझ बन्न थालेपछि झोलामा दसैँ बोकेर आफैँले टार्न थालेको दसक नाघिसक्यो । भाइहरू विदेश बत्तिनुभन्दा अघिसम्म रामेछापबाटै भए पनि जखमले खसी घिस्याउँदै दसैँदसैँमा लेराउँथे । तीनभाइ हामी । दुई भाइको घर टीकाथली । अहिलेको महालक्ष्मी नगरपलिकामा । वल्लो गल्ली पल्लो गल्ली मात्र फरक । माइलो अलि पर कपनमा । ऊसँग लक्ष्मी पनि अलि धेरै खुसी भएकीले होला आफैँ जोरजाम गथ्र्यो । ‘सान्कान्छो र ठूले एकै ठाउँ छौ मिलेर चाडवाड मान’ मायालु भावमा भन्नु हुन्थ्यो –बा ।


    घराँ बाको आदेश काट्ने हिम्मत कहिल्यै कसैले गरेन । अझै गरेको छैन । छोरी नभाको हाम्रो घर औपचारिक रूपमा बेगल भएको छैन । अनि हामी सगोलमा पनि छैनौं । आफ्नो मानो खाएर अर्काको कुरा गर्ने बानी हामीले कहिल्यै जानेनौं । पसिनाले बँचाएको छ यतिखेरसम्म –हामी सबै दाजुभाइलाई । दुईभाइ विदेशमा पसिना चुहाउँदै श्रमजीवी भा’का छन् । मचाहिँ देशमै पसिना निकालेर श्रमजीवी र अलिकति कलमजीवी भएको छु ।


    हाम्रो घरमा बा कम्युनिष्ट पार्टीको प्राधिकार सम्पन्न त्यस्तो ‘सुप्रिमो’ हुनुहुन्थ्यो जसका अघि हामी पोलिटव्युरोमा रहेर निर्णय मान्ने फड्के साक्षीजस्ता थियौँ । राम्ररी परिवार सञ्चालन गर्नु पनि पार्टी चलाउनुजस्तै रहेछ । वहाँको कमाइमा बसुन्जेल हामीले बाका आदेशमय फर्मानलाई त्यसरी नै मानेऊँ जसरी ‘गिरिजा बाउ बाँचुन्जेल काँग्रेसमा उनको रजगज रहेको थियो ।’


    बा जो दमडी र सांस्कारिक हिसाबमा अति कडा हुनुहुन्थ्यो । केटाकेटीमा उपध्रो गर्दा बाले पिटेका सम्झनाहरू मनका कुनामा पत्रे चट्टान बनेर खाँदिएका छन् । सम्झनामा ‘आउट डेटेट’ हुन लागेका ममोरी कार्डबाट अहिले फुत्त निकालेर शततः निफन्न पाइएको छ । हलौं हुन्छ छाती पुराना कुरा कोरल्न पाउँदामा पनि । तेतिबेला ननिको लागे पनि अहिलेचाहिँ ती अनेकानेक उपध्रामय सम्झनाहरूले आल्हादित बनाएरै छाड्छन्  ।
    ‘बाउले सदाएको छोरो र आमाले अह्राएकी छोरी’ उखानलाई म अहिले पनि छापामार शैलीमा कुम हल्लाएरै स्यालुट गर्छु । आमाबाउले जस्तो बनाउन खोज्छन्, सन्तान त्यस्तै बन्ने रहेछन् –संस्कारमा । अहिले म आफ्ना सन्तानमा त्यही कुरा कार्बन कपीझैँ अनुभूत गरिरहेछु ।


===
    हाम्रा बा नचाहिने काम नगर्ने तर चाहिने काममा खर्चबर्चको राँटा रहनै नदिने गरी बेबहार चलाउने सामान्य मान्छे हुनुहुन्थ्यो । ठूलो मुख बाउने बानी थिएन –वहाँको । बेलाबेला गोरखधन्दाका सीप हामीलाई सिकाउनु हुन्थ्यो । मैले धेरै सीपहरू मेरा बालाई गुरु थापेर सिकेको छु । अनुच्छेद र सङ्कथन लेख्न विश्वविद्यालयको अध्ययनले सिकायो होला ! ठूला कुरा गर्दिनँ म तर गर्वका साथ भन्छु –‘यो जीवनमा मैले आफूलाई आफ्नो खुट्टामा उभ्याउन जहिले जेजे सिँके । सिकेको छु । ती सबै मेरा बाका आशीषका प्रसादहरू हुन् भन्न पाउँदा गर्वले छाती फुलेल हुन्छ ।


    बा भन्नुहुन्थ्यो –‘सफल र असल हुनु दुई फरकफरक कुरा हुन् । यी दुईमा अप्ठेरो बेलामा एकलाई छान्नु परो भने पछिल्लोचाहिँ रोज्नु ।’ दुईभाइ के गर्छन् त्यो मलाई मतलब भएन । म भने पछिल्लो शब्दका कित्तामा ससिम भएरै जोडिएको रहेछु ।


    बहत्तरको दसैँमा बा अमेरिका भ्रमणमा जानु भएकाले र दुवै भाइहरू अमेरिकी आप्रवासी भएकाले बाको आज्ञा शिरोपर गर्दै मैले आफैँले जानी नजानी घरमा जमरा राखेँ । देवी पुजनोत्सवमा भाग लिएँ । सप्ठेरा ठाउँ संस्कृतमा र अप्ठेरा ठाउँ नेपाली भाषाटीका वाँच्दै चण्डीपाठ गरेँ । जमरा पूर्वपट्टि ढल्किएनन् । घरबूढीका सल्लाहानुसार पत्रिकाले छोपियो । जसै पूर्व ढल्किए । सो ढल्काइलाई ‘स्काइप’ प्रयोग गरेर बालाई नेदेखाइ धरै मिलेन । सातसमुद्र पारिबाट बाले मैले न्याशध्यानमय पाठपूजा गरेर नौरथाको मैजारो गरेकामा सफलताको तोकादेश लगाइदिनु भयो । अनि मात्र मन शान्त भयो ।  


    बल्ल यहाँ घरस्तरीय केबिनेट बस्यो । पत्नीले गृह मन्त्रालय सम्हालेकीले उनको हंकीडंकी बढीनै चल्छ । नेपालको केबिनेटमा गृहमन्त्रीको सानजस्तो । ‘कमाई धमाई नल्याए ज्वाइँकन दोष, पकाई तुल्याई नदिए छोरीकन दोष’ भन्ने प्राचीन आहानमा चलेका छौं –हामी अर्वाचीन दुई जोईपोइ । देश चलाउनभन्दा गाह्रो रहेछ घर चलाउन । कहिलेकाहीँ उनका तर्फबाट बहस थालिन्छ । म प्रत्येक पेसीमा तर्क नभएको प्रतिवादीको कानुन व्यवसायीझैँ भई भाका मात्र सारेर तारिख थापिरहेको हुन्छु । हो, पनि घर भनेको देश  हो । विविध कार्यान्वितिका फायलहरू घरव्यवहारमा मुल्तवी रहेका हुन्छन् । सीमित बजेटमा असिमित विकासका सूचकहरू पार लगाउँदै सन्तानका पखेँटामा प्वाँख हाल्नु छ । देशमा काम छैन । काम पाए दाम छैन । विदेश बत्तिने आसाले उफ्रिन थालेपछि अभिभावक हुनुको बोझले घाँटीमाथिको जाँतो जो बनाएको छ ।


===
    ‘बिते हूए कल’ भनेझैँ फेरि पुरानिएका दिनहरू नै ‘रिल लाइफ’ बनेर ‘रियल लाइफ’ मा आउन थाल्दा ठिटो बाछोले दूधका लोभमा माउको कल्चौंडामा धम्काहान्दा मुखमा आएको फिँजको मिठासले विगत्को गुन्द्रीमा आरामले सुताउन लैजाँदो रै’छ ।
    बाल्यवय खोतल्दा पनि नहुने । नखोतल्दा पनि नहुने ।  


    घरपायक जागिरे हुनुहुन्थ्यो बा । खटालु भार्या हुनुहुन्थ्यो आमा । ‘खान पुगोस् दिन पुगोस्’ भन्ने वाक्यांशझैँ ती दिनमा परिवारमा लाउन खानको कुनै पर्वाह थिएन । उड्नेमा हेलिकप्टर र गुड्नेमा गाडीमात्र खाइएन् होला –केटाकेटीमा । जे पनि पच्ने । रूच्ने । खायो –दौडियो । दौडियो –खायो । ‘आमाको होटल र बाउको लज’ फ्रि हुँदा त हो नि मानिसका छाउराछाउरीले मस्ती गर्ने । आफ्नो कमाइ भएपछि त फाँकमुठीमै लोभ लाग्दो रहेछ । बल्ल बुझेको छु ।  
    हुन पनि ‘बाउले दिएको भैँसीभन्दा आफूले बाटेको दाम्लाको माया हुन्छ’ भन्थे बूढापाकाहरू । गमी ल्याउँदा लाग्छ –हो रहेछ । साह्रैआना सत्य रहेछ । जतिसुकै स्थुल पुस्तकका पोथी रटान गर्नुभन्दा अभावको जाँतोमा पिसिएर, दुःखको पिङमा मच्चिएर जान्नु र सिक्नु जीवनभरिका लागि नै अकाट्य ज्ञानगंगा पिउनुजस्तै हो ।


    मैले जानेको यही हो । जीवनमा अरू केही जानिनँ ।  


    काँधमा जुवा लगाइएका गोरुजस्ता हलोमा पिसिएका दुई अभिभावक छँदा केटाकेटीमा कुनै टन्टा हुन्थेन । गरिन्थेन । आज पत्नी र म सो वृषभद्वय भूमिकामा छौं । बाआमा रिटायर्ड लाइफमा हुनुहुन्छ । अर्ती उपदेश जो बेलाबेला दिइरहनु हुन्छ । हामी शिरोपर गरेर लागू गरिरहेछौं । अर्ती दिनभन्दा कहिलेकाहीँ मान्न सजिलो हुन्छ । कहिलेकाहीँ भने दिन सजिलो हुन्छ ।


    जिम्मेवारीले गह्रौं भएर थिच्न थालेपछि दसैँका रहरहरू क्रमशः बयेलिएका हुन् । जीवनका सङ्कथनहरूमा ‘बाले दिएको भैँसीभन्दा आफूले बाटेको दाम्लाको माया बढी हुन्छ’ भन्ने उखानले घर गरेको हुँदो रै’छ । सकसको सार्थक परिभाषा वाच्यार्थमा भन्दा कार्यार्थमा तीक्ष्ण पाइँदो रै’छ । यद्यपि बालापन् भावार्थमा टिकेको हुँदो रै’छ ।


====
    टुकुटुकु हिँड्न थालेपछि दसैँका सम्झनाहरू लहर बनेर आएका छन् । केरा पकाउन माटाको खाल्डो खन्दा हामी सिँगाने भुरा केटाकेटीहरू लहरै बसेर हेर्दथ्यौं । परालले पोेलेको पिरो धूँवा आँखामा आएको चिप्रा मिश्रित आँसुलाई ससाना हातले पुछेको सम्झना आलो भएको छ ।


    जीवनमा धेरै दसैँ आए । गए । कति मिठा हुन्थे विगत्का दसैँहरू । बालीमा लुगा सिउने दमाईले चलाएको मिसिनको खिटीटी आवाजले एकातिरबाट दसैँलाई बोलाउँथ्यो भने अर्कोतिरबाट चिउरा कुट्न ढिकीमा हालिएका घान र तिनका आला बास्नाले तनमात्र लोभ्याउँथेन । मुखमा लोभका ¥याल पनि निकालिदिन्थ्यो । हप्ता पन्ध्रदिन लगाएर पकाएका केराका घरीबाट उत्सर्जित बास्नाले मनको पहाडमा एकाएक पहिरो खसाउँथ्यो । आमा र बाले भनेका आदेशात्मक भावका पहेलीहरू मान्दामान्दै पनि केटाकेटी बुद्धिले गरेका कतिपय ओ¥याइँहरू आज सम्झँदा हर्षाश्रुमय भावमा तप्पतप्प भई टप्कन्छन् ।


    पाँचदस रूपैयाँ दक्षिणाका लागि हुरूरू गर्दै इनरुवाकै मावल र बूढोघर गइन्थ्यो । विराटनगर कञ्चनबारीका सम्झनाहरू चुरे पर्वतझैँ अझै ठडिएका छन् । झापा र इनरुवाका भलिभाँती कुराहरू यो सम्झौटोमा सप्पै लेराउन सकिनँ । कुनै समय लामो अवकाश मिल्यो भने कितापै बनाउनु पर्ला भन्ने सोच राखेको छु ।


    तराईमा जन्मेर हुर्केर तारुण्यवय हाँसिल गरेका मेरासामु अनगिन्ती लेखनीका फाँकीहरू छन् –तिनीहरूलाई अनेक विधोपविधामा आलेखन गर्न सकिन्छ । कतै ती कविताका श्लोक हुन सक्छन् । कतै ती आख्यान र कतैकतै निबन्धका सङ्कथनहरू हुन सक्छन् । जीवनमा लेखिएका कुराभन्दा नलेखिएका कुराहरू अधिक हुने रहेछन् । एउटा लेखकले नदीझैँ बगिरहन सक्नु पर्ने रहेछ । जीवन निर्वाहका क्रममा भोगेका उहापोहहरू नै समाजलाई दिने हो । कलात्मक बान्कीका साथ आफूमा भएका सफल सोचले भावि दिनमा मार्गशर्दन गर्ने गर्दारहेछन् ।
    

तराईका ती दसैँ सम्झेर यतिखेर म नोष्टाल्जिक भएको छु ।
 
                                                 

Comments: