२०७६ माघ ९ गते

आकर्षण बन्दै बालमैत्री पढाइ

प्युठान । कक्षाकोठामा थरीथरीका सामग्री। हस्तकलामार्फत बनाइएका सामग्रीले कक्षाकोठा सजिएका छन्। यिनै कलात्मक सामग्रीले साना नानीहरूको मन तानेको छ। जसका कारण साना बालबालिका कक्षामै भुल्ने गर्छन्। बाहिर निस्कन मान्दैनन्। कक्षाकोठामा नाच्छन्, गाउँछन्, रमाउँछन्। शिक्षिकाले उनीहरूलाई सघाउँछिन्।

जनता प्राथमिक विद्यालय स्वर्गद्वारी नगरपालिका-२ नोसस्थित बालविकासका बालबालिकाले रमाइलो गर्दै पढ्ने गरेका छन्। विद्यालयमा बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप हुने गरेको छ। मनोरञ्जनसहितको वातावरणमा उनीहरूलाई पढाउने गरिन्छ। ‘क’ देखि ‘ज्ञ’ सम्मका अक्षरअनुसार सामग्री सजाएर राखेका छौँ’, शिक्षिका मैसरी विकले भनिन्,‘सामग्री देखाएर विद्यार्थीलाई ‘कखरा’ चिनाउँछौँ।’ पढाएका कुरा बालबालिकाले छिट्टै बुझून् भनेर यस्तो अभ्यास गरिएको उनको अनुभव छ। बालबालिकालाई गोलो आकारमा राखेर एकै स्वरमा कखरा भन्न लगाउने गरिएको उनले बताइन्।

काँइयो, खरायो, गमला, घर, चरा, छाता, जरायो, झन्डा, टोपी, डमरु, ढक्की, तराजु, ठेकी, दराज, धनुष, नरिवल, परेवा, फर्सी, भकुण्डो, बल, मकै, मादल, यज्ञको चित्रलगायत सामग्री कक्षाकोठामा सजाएर राखिएको छ। सामग्रीलाई ६ वटा ‘कर्नर’ मा राखिएको विकले जानकारी गराइन्। बालविकासमा ३१ बालबालिका भर्ना भएको पनि उनले बताइन्।

बालमैत्री पढाइका कारण शैक्षिक स्थितिमा सुधार ल्याउन मद्दत पुगेको बाल विकासकी प्रधानाध्यापक गंगा शर्माले जानकारी गराइन्। ‘बालबालिका आफैंमा चञ्चले र जिज्ञासु स्वभावका हुन्छन्’, शर्माले भनिन्, ‘उनीहरूको स्वभाव बुझेर पढाउनुपर्ने हुन्छ।’ बालविकास कक्षाकोठामा स्थानीय स्रोत साधनबाट बनाइएका मौलिक सामग्री राख्ने अभ्यासलाई नियमितता दिँदै आइरहेको समेत उनले बताइन्।

कक्षाकोठामा क्याप्टेन राख्ने, विद्यालयको नियमित सरसफाइ, टोल शिक्षा समिति गठन, अभिभावकहरूको साथलगायत पक्षले गर्दा विद्यालयको शैक्षिक गतिविधि अगाडि बढाउन सहज भएको उनी सुनाउँछिन्। विद्यालयमा एक सय ९८ विद्यार्थी अध्ययनरत रहेको उनले बताइन्। उनका अनुसार एक सय ९ जना छात्रा र ८९ जना छात्र छन्।

तीन/चार वर्ष उमेर समूहका बालबालिकालाई बालविकास केन्द्रमा भर्ना गरिने गरिएको छ। बालविकासमा अक्षर चिन्न सक्ने र साथीभाइसँग घुलमिल गर्न सक्ने भएपछि उनीहरूलाई कक्षा १ मा भर्ना गर्ने गरिएको जिल्ला शिक्षा अधिकारी सूर्यप्रसाद भुसाल बताउँछन्। उनका अनुसार बालविकासलाई पूर्वप्राथमिक विद्यालय पनि भन्ने गरिएको छ।

शिक्षा कार्यालयअनुसार हाल जिल्लाभर तीन सय ८५ वटा बालविकास केन्द्र सञ्चालनमा छन्। यसमध्ये दुई सय ५९ विद्यालयमा र एक सय २६ वटा समुदायमा सञ्चालित छन्। सामान्यतः बालविकास केन्द्रमा दुई वर्षका बालबालिकालाई भर्ना गराउने गरिएको उनको भनाइ छ। जिल्लाभर यस वर्ष सात हजार पाँच सय २८ जना बालबालिका यसै शैक्षिक सत्रमा भर्ना भएको कार्यालयले जनाएको छ।

 केशर रोकाले अन्नपुर्णपोष्टमा लेखेका छन् ।

Comments: