काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षासँगै हाल सञ्चालन भइरहेका तथा हुन बाँकी सिटिइभिटि तथा विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ ।

यस्तै,मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित सबै प्रकारका बाल विकास केन्द्रहरु, आधारभूत तथा माध्यमिक विद्यालयहरु, शैक्षिक प्रतिष्ठानहरु र विश्वविद्यालयहरुको पठनपाठन २०७६ चैत मसान्त सम्म बन्द गर्ने निर्णय गरेको हो ।

बुधवार राती अबेर विज्ञप्ति जारी गर्दै मन्त्रालयले अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाहरुबाट सञ्चालन हुने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु २०७६ चैत मसान्त सम्मका लागि बन्द गर्ने निर्णय भएको जनाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित COVID-19 संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ बुधवारे बसेको बैठकले माथिका निर्णय गरिसकेकाले कार्यान्वयनको लागि सूचना प्रकाशन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

२०७६ चैत्र ५ गते २३:०५मा प्रकाशित

प्रतिकृया दिनुहोस्