२०७६ भदौ ३० गते

स्नातकमा कुन विषय पढ्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत साता सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विज्ञान समूहबाट ५९ प्रतिशतमात्र अंक ल्याएकी ईश्वरी त्रिपाठीले दुई वर्षअघिको एसएलसीमा ८३ प्रतिशत ल्याएकी थिइन् । एसएलसीमा राम्रो अंक ल्याए पनि सुरुका दिनहरूमा उनलाई कक्षा ११ मा कुन विषय पढ्ने भन्ने निर्णय गर्न निकै कठिन भयो ।

आफ्नो भित्री इच्छा यही विषयमा छ भन्ने स्पष्ट हुन नसकेका कारण चिकित्सक बनाउने इच्छा राखेर आफन्तले उनलाई विज्ञान विषयमा भर्ना गरिदिए । आफन्तको इच्छा चिकित्सक बनाउने भए पनि स्वयम् ईश्वरीलाई भने कुन विषयमा भर्ना हुँदा राम्रो हुन्छ भन्नेमा राम्रो जानकारी थिएन ।

कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै चिकित्सक बन्ने उनको परिवारको सपना पूरा नहुने भयो । कारण, ईश्वरीले एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुने आँंट नै गर्न सकिनन् । प्लस टुको कमजोर नतिजा र कुन विषय पढ्दा भविष्यमा के फाइदा हुन्छ भन्नेमा पर्याप्त परामर्श लिन नसक्नु उनको कमजोरी थियो, जुन कमजोरीले उनलाई अलमलमा पार्‍यो, साथै परिवारको सपना पनि साकार नहुने भयो । भन्छिन्, ‘अब बीएस्सी भर्ना गर्नुपर्ला । केही गर्न सकिएन भने पनि पढाएर त जीवन निर्वाह गर्न सकिएला ।'


दस जोड दुईलाई एसईई (तत्कालीन एसएलसी) पछि उच्च शिक्षाको बाटो कोर्ने पहिलो खुड्किलोको रूपमा लिइन्छ । तर, सही खुड्किलो पहिल्याउन नसक्दा ईश्वरीजस्ता थुप्रै विद्यार्थी अहिले पनि पहिलेको बाटोबाट मोडिएर अर्को बाटो रोज्नुपर्ने बाध्यतामा पुगेका छन् । धेरैले प्लस टुअनुसारकै विषय स्नातकमा पढे पनि केहीलाई भने प्लस टु मा सोंचेअनुसारको नतिजा नआएर वा नतिजा आएर पनि नयाँ विषय पढ्न चाहनाले अलमलमा पारिरहेको छ ।
पछिल्ला दिनहरूमा उच्च शिक्षाको खोजीमा भौतारिरहेका विद्यार्थीको साझा समस्याहरू हुन् यी । त्रिपाठीले बेहोरेको समस्याबाट जो कोहीले पनि सहजै अनुमान गर्न सक्छ, विद्यार्थीको भविष्यलाई प्लस टुको नतिजासँगै स्नातकमा रोजिने विषय र विद्यार्थीको मेहनतले मात्र सार्थकता प्रदान गर्दछ । अर्थात् विद्यार्थीको भविष्य निर्धारणमा एसईई र प्लस टु दुवैको नतिजाको भूमिका बराबरी हुन्छ । स्नातक तहको पढाइ सञ्चालन गरिरहेका मुलुकभरका नौवटा विश्वविद्यालय अहिले सञ्चालनमा छन् । गत वर्षमात्र ऐन जारी भएर उपकुलपतिसमेत नियुक्त भइसकेको खुल्ला विश्वविद्यालयले पनि दूर शिक्षाको माध्यमबाट पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेको छ ।


विश्वविद्यालय अनुदान आयोगको पछिल्लो तथ्यांकअनुसार मुलुकभरका विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूमा स्नातक तहमा मात्र तीन लाख ५६ हजार तीन सय ४५ जना विद्यार्थी अध्ययनरत छन् । विदेशी विश्वविद्यालयसँगको सहकार्यमा यहाँ सञ्चालित कलेजहरूमा अध्ययन गर्ने विद्यार्थी संख्या पनि हरेक वर्ष बढिरहेका छन् । तर यीमध्ये थुप्रै विद्यार्थीहरू प्लस टुपछि सही सुझाव र परामर्शको अभावमा विद्यार्थीले गलत निर्णय लिन पुगेका उदाहरणहरू पनि प्रशस्त भेटिन्छन् ।


कुन विश्वविद्यालयमा के पढ्ने ?

प्लस टुपछि स्वदेशमै पढ्ने कि अन्तर्राष्ट्रिय डिग्री लिन विदेशतर्फ लाग्ने ? नर्सिङ् पढ्ने कि बीएस्सीका लागि भर्ना हुने ? शिक्षाशास्त्र विषय लिएर अध्यापक बन्ने वा व्यवस्थापन विषय लिएर कुशल व्यवस्थापक बन्ने ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत सजिलै बिकाउ हुने होटेल व्यवस्थापन विषय लिने वा बीबीएमा भर्ना हुने ? सरकारी क्याम्पसमा पढ्ने वा निजी शिक्षण संस्थामा भर्ना हुने ? स्नातक तहमा भर्ना हुनुअघि आमविद्यार्थी र तिनका अभिभावकको मनमा खेलिरहने साझा प्रश्नहरू हुन् यि ।


नेपालमा स्नातक तहमा चिकित्सा विज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेदिक, संस्कृत र कानुन संकायको पढाइ भइरहेको छ । त्रिभुवन, नेपाल संस्कृत, काठमाडौं, पूर्वाञ्चल, पोखरा, कृषि तथा वन, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तहमा विभिन्न संकायमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । स्नातक तहमा तीनदेखि पाँच वर्षसम्मका कार्यक्रमहरू छन् ।


विद्यार्थी संख्याका आधारमा सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय हो । आयोगको तथ्यांकअनुसार त्रिविमा हाल दुई लाख ९१ हजार तीन सय २५ जना विद्यार्थीहरू स्नातक तहमा अध्ययनरत छन् । त्रिविले स्नातक तहमा नर्सिङ, आयुर्वेद (बीएएमएस), एमबीबीएस, बीफार्मेसी, बीफर्मा, बीएन, बीई (सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्स­), बीटेक, बीएस्सी टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, बीएस्सी न्युट्रिसन एन्ड डाइटिटिक्स), बीएस्सी एजी, बीएस्सी फरेस्ट, बीबीए, बीए, बीएडलगायतका विषय सञ्चालन गर्दै आएको छ ।


प्लस टु उत्तीर्ण विद्यार्थीले स्नातक तहका लागि नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना हुन पाउँदैन । सो विश्वविद्यालयमा स्नातकमा भर्ना हुन उत्तरमध्यमा तह उत्तीर्ण भएकै हुनुपर्दछ । उत्तरमध्यमा पूरा गरेकाहरूले क वर्ग (धर्मशास्त्र, न्याय, ज्योतिषलगायत) र ख वर्ग (नेपाली, राजनीतिकशास्त्र, अर्थशास्त्रलगायत) विषय अध्ययन गर्न पाउँछन् । नेसंविमा अध्ययन गर्दा भर्ना र परीक्षाबाहेक शुल्क लाग्दैन । गत वर्ष यस विश्वविद्यालयमा शास्त्री (स्नातक) तहमा एक हजार चार सय विद्यार्थी भर्ना भएका थिए ।


गुणस्तरीय शिक्षामा कहलिएको काठमाडौं विश्वविद्यालयले बीएस्सी इन् एप्लाइड फिजिक्स, बीएस्सी फार्मेसी, बीएस्सी इन इन्भाइरोमेन्टल साइन्स, बीएस्सी इन हुमन बायलोजी, बीई (सिभिल, कम्प्युटर, मेकानिकल, जियोम्याटिक्स), बीए बुद्धिष्ट इस्टडिज, बीए फाइन आर्टस्, एमबीबीएस, बीएस्सी नर्सिङ, बीडीएसलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


पूर्वाञ्चल विश्वविद्यालयले गत वर्ष झन्डै साढे २१ हजार विद्यार्थी भर्ना लिएको थियो । यस विश्वविद्यालयअन्तर्गत एक सय २१ क्याम्पसमध्ये तीन वटामात्र आंगिक छन्, बाँकी सबै सम्बन्धन प्राप्त छन् । यस विश्वविद्यालयले बीए एलएलबी, बीबीए, बीएचएम, बीटीटी (ट्राभल एन्ड टुरिज्म), बीएफडी (फेसन डिजाइन), बीएमटी (मेडिया टेक्नोलोजी), बीजेएमसी (जर्नलिज्म एन्ड मास कम्युनिकेसन्स), बीई (सिभिल, कम्प्युटर, आर्किटेक्ट, बायोमेडिकल), बीएस्सी बायोटेक्नोलोजी, बीपीएच, बीएस्सी नर्सिङ, बीफार्मेसीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


सुन्दर नगरी पोखरामा रहेको पोखरा विश्वविद्यालयले बीई (सिभिल, सिभिल एन्ड रुरल, सफ्टवेयर, आर्किटेक्ट), पब्लिक हेल्थ, नर्सिङ, फर्मास्युटिकल्स साइन्स, बीबीए, बीएचएम, बीसीआईएस, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट, ब्याचलर अफ डेभलपमेन्ट स्टडिजलगायतका विषयमा पठनपाठन गर्दै आएको छ । पोखरा विश्वविद्यालयले गत वर्ष स्नातक तहमा झन्डै १५ हजार विद्यार्थी भर्ना लिएको थियो ।


गत वर्षबाट कृषि तथा वन, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि शैक्षिक कार्यक्रम सुरु गरेका छन् । कृषि तथा वन विश्वविद्यालयले बीएस्सी एजी, बीएस्सी फरेस्ट्री तथा बीएस्सी भेटनरी साइन्स एन्ड एनिमल हस्वेन्डरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीबीएस, बीए, बीएस्सी तथा बीएड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीएड, बीबीएस, बीए र बीएस्सी कम्प्युटर साइन्स विषयमा पठनपाठन सुरु गरेका छन् । सूप विश्वविद्यालयले बीबीएस र बीए चारवर्षे अनर्स कार्यक्रम चलाएको छ भने यस वर्षबाट बीएस्सी र बीई सिभिल कार्यक्रम सुरु गर्दैछ ।


कुन विषय पढ्न कति शुल्क ?

विद्यार्थीले रुचाएको विषय पढ्न विश्वविद्यालयअनुसार शुल्क पनि फरकफरक तिर्नुपर्छ । मुलुकमा हालसम्म सबैभन्दा महँगो पढाइको रूपमा स्नातकमा एमबीबीएसलाई लिइन्छ । यो विषय हरेक वर्ष शुल्कको विषयमा विवादितसमेत हुने गरेको छ । यस विषय अध्ययन गर्न ६० लाख रुपैयाँसम्म कलेज सञ्चालकहरूले लिने गरेका छन् । इन्जिनियरिङ विषय अध्ययन गर्दा सरदर सात लाख रुपैयाँ लाग्छ । इन्जिनियरिङमा विद्यार्थीको सबैभन्दा बढी चाप सिभिल, आर्किटेक्ट र कम्प्युटरमा छ । सबैभन्दा कम खर्चिलो शिक्षा त्रिविको मानविकी र शिक्षाशास्त्र हो । विज्ञान, व्यवस्थापनलगायतका संकायमा विषय र कलेज हेरी १० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्छ ।


पोखरा विश्वविद्यालयअन्तर्गतका इन्जिनियरिङ कलेजले बीईमा कुल विद्यार्थी भर्नाको पाँच प्रतिशतलाई र बाँकी विश्वविद्यालयका कलेजहरूले १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराउने गरेका छन् । शिक्षा मन्त्रालयले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएन, बीएएमएस, बीफार्मेसी, बीपीएच र बीफरेस्ट्री विषयमा बर्सेनि सरदर साढे तीन सय विद्यार्थी छनोट गरी छात्रवृत्तिका लागि सिफारिस गर्ने गरेको छ । मन्त्रालयले नेपालका कलेजबाहेक पाकिस्तान, चीन र रुसमा पनि छात्रवृत्तिमा नेपाली विद्यार्थी पठाउने गरेको छ । भारत, जापानलगायतका मुलुकहरूले आफैंले विद्यार्थी छनोट गरी स्नातक तहमा विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउने गरेका छन् ।
कुन विविमा कति विद्यार्थी ?


विश्वविद्यालयअनुसार स्नातक तहमा अध्ययनरत विद्यार्थी संख्या
विश्वविद्यालय                         विद्यार्थी संख्या
काठमाडौं विश्वविद्यालय                     १३,६५४
लुम्बिनी बौद्ध विश्वविद्यालय                   ०
पोखरा विश्वविद्यालय                          २३,३१४
पूर्वाञ्चल विश्वविद्यालय                       २१,३३५
त्रिभुवन विश्वविद्यालय                         २,९१,३२५
मध्यपश्चिमाञ्चल विश्वविद्यालय              १।८८८
पाटन एकेडेमी अफ हेल्थ साइन्स                २९५
सुदूरपश्च्मिाञ्चल विश्वविद्यालय                 १।६३८
बीपी कोइराला स्वास्थ्व विज्ञान प्रतिष्ठान           १,०४०
नेपाल संस्कृत विश्वविद्यालय                       ९१९
वन तथा कृषि विश्वविद्यालय                       ८०७
नेसनल एकेडेमी अफ मेडिकल साइन्स                   १३०


कलेज छनोटबारे शिक्षाविद् कोइरालाको पाँच टिप्स
विद्यार्थीले स्नातकमा भर्ना हुनुअघि आफूलाई कुन विषय पढ्ने रहर छ त्यसबारे स्पष्ट हुनुपर्छ ।
आफ्नो रहरपछि अभिभावकले पढाइको लागि आर्थिक जोहो गर्न सक्नुहुन्छ कि सक्नुहुन्न सल्लाह गर्नुपर्छ ।
आफूले पढ्न लागेको विषयको अध्ययनपछि रोजगारीको सम्भावनाबारे अध्ययन गर्नुपर्छ
पढ्ने विषय स्पष्ट भएपछि कलेज भ्रमण गर्नुस्, ताकि कलेजको भौतिक संरचना, शैक्षिक वातावरण कस्तो छ भन्ने जानकारी होस् ।
कलेज छानिसकेपछि उक्त कलेजबाट अघिल्ला वर्षहरूमा पढाइ सकेर गएका दाजुभाइहरूको अनुभव सुन्नुस् । त्यहाँ पढाउने शिक्षकको योग्यता, अघिल्ला वर्षका नतिजा आदिबारे जानकारी राख्नुस् । अन्नपूर्णपोष्टकालागि सूर्य पाण्डेले लेखेका छन् ।

Comments: