२०७६ असोज २९ गते

सांकेतिक बुझ्दैनन्, बुझाउने कसरी ?

अन्तैबाट

दाङ । आफ्ना कुरा अरूलाई बुझाउन सक्दिनन् । अरूले भनेको बुझ्न कठिन हुन्छ । घरदेखि विद्यालय पुग्दासम्म कुरा बुझाउन हम्मेहम्मे पर्छ । उनी सुन्दिनन् र बोल्न पनि सक्दिनन् । सांकेतिक भाषामा कुरा गर्छिन् । त्यो सबैले बुझ्दैनन् । शान्तिनगर गाउँपालिका–५ की निशा केसीलाई कुराकानीमा कष्ट छ ।


तुलसीपुरको रक्षाचौरस्थित गुरुजजुर माविमा १० कक्षामा पढ्छिन् । ‘विद्यालयमा महिनावारी हुँदा प्याड चाहिएको हुन्छ । कसलाई भन्नु !’ दोभाषेको सहारामा उनले भनिन्, ‘हाम्रा कुरा बुझिदिने कोही छैन । हामी उकुसमुकुस हुन्छौं । हाम्रा समस्या सुनाउनै पाउँदैनौं ।’ लमहीकी बिन्दु खनाल त्यही विद्यालयमा ६ कक्षामा पढ्छिन् । उनलाई दुःखसुख बाँड्नै समस्या छ । न घरमा कुरा बुझ्छन्, न त विद्यालयमा । बजार जाँदा पनि त्यस्तै समस्या हुन्छ । ‘सडक पार गर्दा समस्या हुन्छ । हामी बोल्न सक्दैनौं । संकेत गरेको अरूले बुझ्दैनन्,’ उनले भनिन्, ‘गाउँ–समाजमा पनि कोहीसँग कुरा हुन पाउँदैन । सबै जना आफ्नै धुनमा हुन्छन् । हामी एक्लोजस्तो हुन्छौं ।’

लमहीका विजय गुप्ता १० कक्षामा पढ्छन् । सुन्न र बोल्न सक्ने विद्यार्थीसँग बसेर उनी पढ्छन् । शिक्षक बोलेर पढाउँछन् । उनी सुन्दैनन् । शिक्षक सांकेतिक भाषा जान्दैनन् । शिक्षकले बोलेको उनी हेरिरहन्छन् । साथीको नोट सारेर पढ्छन् । नबुझेको कुरा सोध्न सक्दैनन् । ‘पढाएको केही बुझिँदैन । केही सोधौं भने शिक्षकहरूले बुझ्नुहुन्न । हामीलाई एकै ठाउँमा राखेर पढाउँदा समस्या भएको छ,’ उनले भने, ‘अन्य विद्यार्थी फटाफट प्रगति गर्न सक्छन् तर हामी सक्दैनौं । हामीलाई सिक्न समय लाग्छ । परीक्षामा राम्रो नतिजा आउँदैन ।’

बहिरा बालबालिकालाई घर, समाजदेखि विद्यालयसम्म समस्या रहेको भालुबाङका कमल थापाले बताए । १० कक्षा अध्ययनरत थापालाई पनि सबैतिर समस्या छ । दोभाषे नहुँदा कुरा बुझाउनै समस्या हुन्छ । गाउँघरमा मानिसहरू ‘लाटो’ भनेर जिस्काउँछन् । ‘बजारमा सामान किन्न जाँदा लेखेर दिनुपर्छ । लेखेको भरमा सबै कुरा प्रस्ट हुँदैन । सामान किन्न नै समय लाग्छ,’ उनले भने, ‘सबैतिर लेखेर दिन सम्भव छैन । घरमा बाआमा लेखेको बुझ्दैनन् । हामी र अभिभावकलाई सांकेतिक भाषामै पढाउने व्यवस्था हुनुपर्छ ।’

भाषा नबुझेकै कारण घरमा पनि समस्या हुने गरेको तुलसीपुरकी अभिभावक देवा शर्माले बताइन् । ‘हामी भाषा बुझ्दैनौं । उनीहरूले हाम्रो कुरा बुझ्दैनन्,’ उनले भनिन्, ‘पालनपोषण, पठनपाठन र अन्य सबै काममा समस्या छ । घरमा आफ्ना कुरा राख्नै समस्या छ ।’ बहिरा बालबालिकासँगै अभिभावकलाई पनि सांकेतिक भाषाको ज्ञान जरुरी रहेको उनले बताइन् । विद्यालयमा पनि पर्याप्त तालिमप्राप्त शिक्षक छैनन् । भएकाले पनि सांकेतिक भाषामा पढाउन पाउँदैनन् । ‘सबै विद्यार्थी एकै ठाउँमा पढाउनुपर्ने भएकाले सांकेतिक भाषा प्रयोग हुन पाउँदैन । विद्यार्थीले पछि छुट्टै सोधेमा मात्रै सिकाउन सकिन्छ,’ सांकेतिक भाषाको तालिम लिएकी गुरुजजुर माविकी शिक्षिका झरना केसीले भनिन्, ‘सांकेतिक भाषाको तालिम लिएर पनि कक्षामा उपयोग हुन सकेको छैन ।

हरेक कक्षामा भाषा जान्ने शिक्षक हुन जरुरी छ ।’ पाँच वर्षदेखि सांकेतिक भाषा पढाउँदै आएकी तुलसीपुरस्थित प्रावि श्रीगैंकी शिक्षिका निमा वलीलाई पनि बहिरा बालबालिकालाई बुझाउन साह्रै समस्या भएको छ । ‘बोलेर पढाउन बानी लागेकाले बोल्नमै जोड हुन्छ । हाउभाउ गर्दै बोल्दै गर्ने गरेका छौं । सुन्न सक्ने विद्यार्थी भएकाले पनि बोल्नैपर्छ,’ उनले भनिन्, ‘सांकेतिक भाषा नेपालीमा मात्रै भएकाले अंग्रेजी, गणित सिकाउन समस्या छ । अंग्रेजी शब्दलाई पनि नेपालीमा उल्था गरेर बुझाउनुपर्छ ।’ विद्यालयमा सांकेतिक भाषामा पढाइ नहुँदा सिकाइमा समस्या रहेको राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्माले बताइन् ।

‘बहिरा बालबालिकामा पनि अन्यमा जस्तै राम्रो क्षमता छ तर भाषा नै मुख्य समस्या छ । पढ्दा नै बुझ्न समस्या भएपछि अन्य क्षेत्रमा अघि बढ्न कठिन भएको छ,’ उनले भनिन्, ‘बहिरा बालबालिकाका लागि निःशुल्क आवासीय सांकेतिक भाषा शिक्षाको आवश्यकता छ ।’ बहिरा बालबालिकाप्रति स्थानीय सरकार गम्भीर नभएको उनले बताइन् । ७३ बहिरा बालबालिकालाई तुलसीपुरस्थित छात्रावासमा राखेर संरक्षण गर्दै आएकी शर्माले कतैबाट पनि सहयोग नपाएको गुनासो गरिन् ।

दुर्गालाल केसीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: