२०७६ मंसिर ४ गते

चन्दा उठाएर विद्यालय भवन

अन्तैबाट

म्याग्दी । अन्नपूर्ण गाउँपालिका– ६ घारको मुक्तिमार्ग माविको १२ कोठे आरसीसी भवन निर्माण भएको छ । २०२४ मा निर्मित विद्यालयका पुराना भवन भूकम्पले चर्किएर जीर्ण भएपछि समुदायको सक्रियतामा सहयोग जुटाई १ करोड ४५ लाख ४६ हजारको लागतमा भवन बनाइएको हो ।


२ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा स्नातक तहसम्म शिक्षा विषयको पढाइ हुन्छ । भवन निर्माणका लागि तत्कालीन शिक्षा कार्यालयको ६० लाख, स्थानीय देव खड्का आबद्ध इस्टन नेपाल जर्मनको ३५ लाख ८७ हजार, प्रसान्तमोहन रेग्मी आबद्ध जर्मनकै हिमालय फ्रेन्ड्सको १६ लाख ७७ हजार ५ सय, मोना जापानबाट ७५ हजार, घार कतार समाजबाट ६३ हजार, स्थानीय घार युवाक्लबको ८ लाख, वन समितिले ४५ हजार सहयोग गरेका थिए । प्रधानाध्यापक मेखबहादुर खड्काका अनुसार नवनिर्मित भवनमा साविक घार गाविस ५ लाख, अन्नपूर्ण गाउँपालिकाको १० लाख, जापान, बेल्जियममा रहेका स्थानीयबाट १ लाख ५० हजार र गाउँबासीले संकलन गरेको १० लाख रुपैयाँ चन्दा पनि खर्च भएको छ । समुदायले पछिल्लो दशकमा ११ र १२ कक्षा सञ्चालन गर्न तत्कालीन अवस्थामा ६० लाख र क्याम्पस सञ्चालन गर्न महायज्ञ लगाई १ करोड ५० लाख रुपैयाँ जोहो गरेका थिए ।

विद्यालयको भौतिक तथा शैक्षिक वातावरण संरक्षण गर्न घेराबार गर्न प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले क्षेत्र विकास कोषबाट यसै वर्ष १० लाख विनियोजन गर्ने भएका छन् । भवनको उनैले बिहीबार उद्घाटन गरेका हुन् । संविधानसभा सदस्य रेशमबहादुर बानियाँले घार स्वास्थ्यचौकी, जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र केसीले वडा कार्यालय भवन र वडाध्यक्ष कृष्ण बरुवालले सामुदायिक भवनको उद्घाटन गरे । ‘एउटै कोठामा कार्यालय, बिरामी, गर्भवती जाँच, प्रसूति, औषधि स्टोर राखेर काम गर्दा समस्या थियो,’ स्वास्थ्य केन्द्र प्रमुख रिसव पाण्डेले भने, ‘नवनिर्मित भवनले स्वास्थ्य सेवा उपलब्ध गराउन सहज भएको छ ।’ नेकपाका सांसद, जिसस प्रमुख र कांग्रेसका पूर्व सभासद र वडाध्यक्ष एकसाथ सबै कार्यक्रममा सहभागी भए ।

कान्तिपुरमा खबर छ ।

Comments: