२०७६ कार्त्तिक २६ गते

किन हटाइयो आधारभूत तहबाट पूर्वव्यावसायिक शिक्षा ?

अन्तैबाट

काठमाडौँ । सरकारले प्राविधिक शिक्षालाई अधिकतम प्राथमिकता दिने उद्देश्य राखेको छ । शिक्षा मन्त्रालयले भने आधारभूत तहको पाठ्यक्रमबाट व्यावसायिक शिक्षा विषय हटाएको छ । नेपालमा २००४ सालमा कृषि, काष्ठकार्य, कताइ, बुनाइ उद्यमका रूपमा उक्त विषय सुरु गरिएको थियो । आधारभूत तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा संलग्न व्यावसायिक शिक्षा विषय पाठ्यक्रम प्रारूप, २०७५ बाट हटाइएको हो ।


विद्यालय संरचना कक्षा ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ लाई माध्यमिक तह कायम छ। मन्त्रालयले नयाँ संरचनाअनुसार माध्यमिक तहमा कक्षा ९–१२ मा साधारण धार र प्राविधिक धारका रूपमा विकास गर्ने नीति लिएको छ। बालबालिकाको उमेरअनुसार आधारभूत तहमा आवश्यक नरहेकाले पाठ्यक्रमबाट व्यावसायिक शिक्षा विषय हटाइएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले बताए। ‘आधारभूत तहमा पढ्नेको उमेर व्यावसायिक सीप सिक्ने होइन,’ उनले भने, ‘त्यसैले कक्षा ९ देखि मात्र राखिएको छ। व्यवहारकुशल सीप भनेर समेटिएको छ। सबै विषयको क्रियाकलापमा जोडिएको छ।’

मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्याल भने व्यावसायिक शिक्षालाई सामाजिक विषयमा समेटिएको दाबी गर्छन्। ‘व्यावसायिक शिक्षालाई सामाजिक शिक्षा विषयमा जोडिएको छ,’ उनले कान्तिपुरसित भने। विज्ञले भने बालबालिकालाई प्रारम्भिक तहदेखि नै कृषि, व्यवसाय, हस्तकला, चित्रकलाजस्ता सीप सिकाउँदा उनीहरू आफ्नो वरिपरिका विषयवस्तुसित परिचित हुने बताउँदै आएका छन्। साथै उनीहरूको खुबी र रुचि पनि पहिचान हुने भएकाले व्यावसायिक शिक्षा हटाउन नहुने उनीहरूको भनाइ छ।

‘आधारभूत तहमा पठनपाठन गर्दा माध्यमिक तहमा सम्बन्धित विषय रोज्न विद्यार्थीसित विकल्प रहन्थ्यो,’ मन्त्रालयका पूर्वसचिव तथा विषयविज्ञ जयराज गिरीले भने, ‘सानै कक्षादेखि व्यावसायिक शिक्षासम्बन्धी सीप सिक्दै र पाठ्यपुस्तकमा पनि पढ्न पाउँदा त्यसप्रति विद्यार्थीको जिज्ञासा बढ्छ। रुचि जगाउँछ। तर सात दशकदेखि प्राथमिकतामा परेको विषय एकाएक हटाइनुबाट यसको गाम्भीर्यलाई कम आकलन गरिएको पुष्टि हुन्छ।’

पूर्वव्यावसायिक शिक्षालाई कक्षा ४ देखि अनिवार्य विषयका रूपमा समावेश गर्दा सकारात्मक प्रभाव रहने उनको भनाइ छ। तत्कालीन सरकारले आधार शिक्षा लागू गर्न २००३ सालमा ६ जना स्नातक युवालाई तालिम लिन भारत पठाएको थियो। त्यसको अर्को वर्ष देशमा १४ वटा आधार स्कुल स्थापना गरिएको थियो। भारतबाट तालिमप्राप्त जनशक्तिलाई खटाएर कृषि, काष्ठकार्य, कताइ, बुनाइजस्ता उद्यम विषय सैद्धान्तिक र प्रयोगात्मक शिक्षण सुरु गरिएको थियो।

विभिन्न चरणमा विद्यालय शिक्षामा लागू गरिने विषयको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार गरिँदै आएको छ। यसअनुसार २०११ र २०१८ सालको शिक्षा प्रतिवेदनमा व्यावसायिक शिक्षा राखिएको थियो। २०२८ सालमा लागू नयाँ शिक्षामा पूर्वव्यावसायिक शिक्षा उल्लेख गरिएको थियो। ‘कक्षा ४ देखि ७ सम्म निम्न माध्यमिक शिक्षा, यस तहको शिक्षाको उद्देश्य देशभक्ति, राजभक्ति सिकाइ चरित्र निर्माण गर्नु हुनेछ र पूर्वव्यावसायिक शिक्षाको प्रारम्भ गर्नु हुनेछ,’ प्रतिवेदनमा छ, ‘कक्षा ८ देखि १० कक्षा तहको शिक्षाको उद्देश्य व्यावसायिक शिक्षामा जोड दिई उत्पादनशील र उपयोगी नागरिक तयार गर्नु हुनेछ।’ पूर्वव्यावसायिक शिक्षा एक सय पूर्णांकको पठनपाठन हुने गर्थ्यो।

पूर्वव्यावसायिक विषय विद्यार्थीलाई आत्मनिर्भर हुने, जवाफदेही बनाउने, इमानदार हुने र अरूलाई सहयोग गर्ने बानी बसाल्ने उद्देश्यले पाठ्यक्रममा समावेश गरिएको हो। श्रमप्रति इज्जत र प्रेम जगाउने वास्तविक काम सिक्न, काठका सामान बनाउने, कागजको फाइल, खाम आदि बनाउने, खेतीबाली उत्पादन गर्न सहयोग गर्ने र व्यवसायउन्मुख समाजका लागि उपयोगी बनाउने उद्देश्यले विकास गरिएको थियो।

कान्तिपुरमा खबर छ ।

Comments: