२०७७ जेष्ठ २२ गते

अस्थायी शिक्षकको अनशन स्थगित, महासंघका अध्यक्ष थापाले जुस खुवाएर अनशन तोडाए

ईपाटी संवाददाता


काठमाडौं । परीक्षा स्थगित गर्न माग गर्दै ११ दिनदेखि काठमाडौंको खुलामञ्चमा अनशन बस्दै आएका अस्थायी शिक्षकहरुको अनशन तोडिएको छ ।


शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले जुस खुवाएर अनशन तोडाएका हुन् । यही असार २९ र ३० को आन्तरिक परीक्षा स्थगित गर्न माग गर्दै असार २१ गतेदेखि बाराका धर्मेन्द्र ठाकुर, रामेछापका सरस्वती आचार्य र अमृता केसी अनशन बस्दै आएका भएपनि शिक्षक सेवा आयोगले परीक्षा सम्पन्न गराएको थियो ।


पछि शिक्षक महासंघका अध्यक्ष थापाले अस्थायी शिक्षकका जायज माग पूरा गर्न पहल गर्ने आश्वासन दिएपछि अनशनरत शिक्षकहरुले अनशन तुहाएका हुन् । महासंघले अस्थायी शिक्षकहरुको ७५ प्रतिशत आन्तरिक हुनुपर्नेमा नभएको आरोपबारे बुझ्ने र परीक्षा छुटेका केही अस्थायी शिक्षकलाई केही गर्न सकिन्छ भनेर विचार गर्ने आश्वासन दिएको महासंघका अध्यक्ष थापाले जानकारी दिए ।



Comments: