२०७६ असोज २८ गते

अनुमति बिना सञ्चालित निजी विद्यालय बन्द गर्न निर्देशन



सर्लाही । जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको छ।

अधिकांश निजी विद्यालयले अनुमतिबिन सञ्चालन भएका छन् भने केही विद्यालयले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरिरहेका छन्। निजी वा संस्थागत दुवै विद्यालयले शैक्षिक सत्र २०७४ देखि सञ्चालन गर्न नपाइने जिशिकाले जनाएको छ । जिल्लामा अहिले अनुमति नलिई करिब १ सय बढी विद्यालय सञ्चालनमा छन्।

जिल्ला शिक्षा कार्यालय सर्लाहीले सूचना गर्दै अनुमति बिना सञ्चालित विद्यालयलाई तुरुन्त बन्द गर्न निर्देशन दिएको छ। जिशिकाले अनुमति बिना संचालनमा रहेका विद्यालयमा बालबालिकालाई भर्ना नगर्न समेत अभिभावकलाई अनुरोध गरेको जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीले जानकारी दिए।


अनुमति लिइ भौतिक रूपमा सञ्चालनमा नदेखिएका तीन सय १४ सामुदायिक विद्यालयहरू यस अघि नै जिशिकाको सिफारिसमा जिल्ला शिक्षा समितिले बन्द, समायोजन र खारेज गरी सकेको छ ।

सर्लाहीमा हाल सामुदायिक विद्यालयको रूपमा तीन सय २५ प्राथमिक तह, ५७ आधारभूत तह र ७९ माध्यमिक तहका विद्यालय सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालयको योजना तथा तथ्यांक फाँटका प्राविधिक सहायक सुनिल कुशवाहाले बताए ।

त्यसैगरी संस्थागत तर्फ एक सय ४५ प्राथमिक तह, ३० आधारभूत तह र ३५ माध्यमिक तहका गरि जम्मा चार सय ७० विद्यालयहरु रहेका छन् । अन्नपुर्णपोष्ट दैनिकमा खबर छ ।


Comments: