२०७६ असोज २९ गते

दसैंमा शिक्षक कर्मचारीले पाएनन् तलब

अन्तैबाट

डोल्पा । काइके गाउँपालिकाका शिक्षक–कर्मचारीले दसैंमा समेत तलब पाएका छैनन्  । शिक्षकले त अघिल्लो आर्थिक बर्षको चैतदेखिको तलबसमेत पाएका छैनन्  ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले सुत्र (बजेटसम्बन्धी सफ्टवेयर)मा इन्ट्री गर्नेलगायत समस्याले शिक्षक, कर्मचारी र जनप्रतिनिधिको तलब निकासा गर्न नसकिएको बताए । ‘हामीले प्रयास गरिरहेका छौं, समस्या हल हुने बित्तिकै तलब दिनेछौं,’ उनले भने, ‘शिक्षकको हकमा त्रैमासिक तलबभत्ता पनि केही अपुग भएको छ ।’

काइकेमा १४ विद्यालय छन् । ती विद्यालयमा ६१ जना शिक्षक कार्यरत छन् । ‘दसैं दैलोमै आइसक्यो, तर तलबभत्ता पाइएको छैन,’ अरनिको माविका प्रधानाध्यापक नरबहादुर रानाभाटले भने, ‘दसैंमा समेत यस्तो बेतलबी त कहिल्यै भइन्थेन ।’ अघिल्लो आर्थिक बर्षको चैतदेखिको तलबसमेत नपाएको उनले बताए ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल हरिदत्त न्यौपानेका अनुसार सुत्रको प्रयोग नगरेको भए पनि कबुलियतनामा गरेको अवस्थामा बजेट निकासा गर्न सकिन्छ । तर, त्यसरी कबुलियतनामा गर्ने कर्मचारीसमेत नहुँदा बजेट निकासा हुन सकेन । माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाले नेपालगन्ज पुगेर सुत्रको प्रयोग गरी शिक्षक, कर्मचारी र जनप्रतिनिधिको तलबभत्ता खातामा पठाएको छ ।

गाउँपालिकाका लेखापाल प्रेम केसीले गाउँपालिकामा प्राविधिक समस्या आएपछि नेपालगन्ज पुगेर काम गर्नुपरेको बताए । त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका, मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकाले मंगलबारमात्र शिक्षकको तलबभत्ता विद्यालयको खातामा निकासा दिएका छन् । शेफोक्सुण्डो गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाले भने आइतबारै निकासा दिइसकेका छन् ।

कान्तिपुरमा खबर छ ।

Comments: