२०७६ असोज २९ गते

‘सामुदायिक विद्यालय कमजोर भन्ने निजी विद्यालयले चलाएका हल्ला मात्रै हो’

राजेश्वरमान श्रेष्ठ


राजेश्वरमान श्रेष्ठ
प्रधानाध्यापक
प्रभात मावि, नगल, काठमाडौं


शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ?
विद्यार्थीले चाहेअनुसारको सिकाइ वातावरण तयार गरेका छौं । सिकाइलाई प्रविधिसँग जोड्ने प्रयास गरेका छौं । विद्यार्थीहरुलाई प्रोजेक्ट वर्क र कक्षाकोठा बाहिरको सिकाइमा जोड्दै आएका छौं । १ कक्षा देखि १० सम्मकै विद्यार्थीहरुलाई अनुसन्धान र प्रोजेक्टवर्क खोज सिकाइमा सहभागी गराउँदै आएका छौं । पढेर मात्रै होइन गरेर सिक्ने वातावरण निर्माण गरिदिएका छौं । हरेक कक्षाकोठामा पर्याप्त सिकाइ सामग्रीको व्यवस्था गरिदिएका छौं । निकट भविष्यमै हरेक कक्षालाई मिनी प्रयोगशाला बनाउने हाम्रो योजना छ । शैक्षिक भ्रमण, सिकाइ भ्रमण गर्दै आएका छौं । निर्वाचन वारे जानकारी लिन निर्वाचन आयोग, इतिहासवारे बुझ्न संग्रहालय, जैविक सिकाइका लागि खेत र चिडियाखाना लग्ने गरेका छौं ।


कक्षाकोठालाई बालमैत्री र सिकाइ मैत्री बनाउन के प्रयास भएको छ ?
सिकाइ योजना लिएर मात्रै कक्षाकोठामा जान अनिवार्य गरिएको छ । साथै, हरेक दिन कम्तिमा एउटा शैक्षिक सामग्री लिएर कक्षाकोठामा जान शिक्षकहरुलाई भनेका छौं । बसाइ व्यवस्थापन, सिकाइ सामग्री सजावटमा मिहिनेत गरेका छौं । गएको ३ वर्ष देखि विदालयले नै जोयफूल मेथड विकास गरी कक्षा ३ सम्म लागु गरेका छौं । यसका लागि हामीलाई त्रिभुवन विश्वविदालयको सेरिड संस्थाले पनि सहयोग गरेको छ । कक्षा १ अगाडि हामीले केजी नर्सरी र पिजी गरी तीन तहनै सञ्चालन गरेका छौं । उनीहरुका लागि अलग्गै पाठ्यक्रम बनाएर मल्टिमिडियाको प्रयोगबाट सहभागीतामूल शिक्षण सिकाइ गर्दै आएका छौं । हामी पाठ्यपुस्तक भन्दा माथि उठेर शिक्षण क्रियाकलाप गर्दै आइरहेका छौं ।


सिकाइस्तरको अवस्था के छ ?
हामीले जोयफूल मेथडमा सिकाएर ल्याएका बालबालिकाहरुको अवस्था अन्यभन्दा बेग्लै छ । अन्यको पनि सिकाइ राम्रो छ । अगाडि बढेर काम गर्न नेतृत्व लिन, मान्छेको अगाडि बोल्न हिच्किचाउन्नन् । अन्य कक्षाको सिकाइ सुधारका लागि हामीले नियमित कोचिङ कक्षाहरु सञ्चालन गर्दै आएका छौं । यसअघिका एसएलसीका नतिजाहरुमा प्रथम र द्वितीय श्रेणीमा मात्रै गरी शत् प्रतिशत नतिजा थियो । अहिले एसइइमा पनि राम्रै छ । ३.६ माथिका जिपिए ल्याउने विदार्थीहरुपनि धेरै छन् । अन्य कक्षाहरुको सिकाइ उपलब्धिपनि राष्ट्रिय औषत भन्दा माथि नै छ । यसै स्कूल पढेर राष्ट्रका लागि योगदान दिने उच्च ओहादामा पुग्ने विद्याथीृको संख्या पनि राम्रो छ । रोजिता बुद्धाचार्य जसले सगरमाथाको सफल आरोहण गरिन् ।


सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
सामुदायिक विद्यालयको स्तर खस्किएको  पटक्कै होइन । सामुदायिक विद्यालयको त झन् सवलीकरण पो भइरहेको छ । जिल्ला जिल्लामा राम्रा सामुदायिक विद्यालयहरु देखिइरहेका छन् । विभिन्न संस्थाहरुबाट पुरस्कृत पनि भइरहेका छन् । सरकारले पनि सार्वजनिक विद्यालयको सवलीकरणमा चासो देखाउन शुरु गरेको छ । पहिले केन्द्रिय सरकार मात्रै थियो अहिले संघ, प्रदेश र थानीय तीनै तहका सरकार सामुदायिक विद्यालयको सुधारमा जुटेको अवस्था छ । अहिले निजी विद्यलयहरुको टाउको दुख्न शुरु भएको छ । हाम्रो विद्यालयमा मात्रै होइन देशभर निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढिरहेको छ । यो सही समय हो । यदि अहिले स्थानीय सरकारहरुले विदालयको आवश्यकताका आधारमा केही सहयोग गरिदिने हो भने देशभरका सामुदायिक विदालयको स्तर निजीको भन्दा धेरै माथि पुग्नेछ ।


अभिभावकहरुले त अझैपनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नि ?
सामुदायिक विद्यालय कमजोर भन्ने निजी विद्यालयले चलाएको हल्ला मात्रै हो । अभिभावकहरु हल्लाकै पछाडि दौडिए । सामुदायिक विद्यालयको महत्व, पछि पाइने सुविधा बारे अभिभावकलाई जानकारी गराउन आवश्यक छ । अंग्रेजी भाषा जान्दैमा गुणस्तरीय हुँदैन । यो त भाषा मात्रै हो । शिक्षा र ज्ञान भनेको धेरै माथिल्लो कुरा हो । सरकारले उच्च शिक्षामा छात्रवृत्तिमात्रै होइन सामुदायिक विदालय पढेकालाई भविष्यका अन्य सेवासुविधासँग पनि जोड्नुपर्छ ।


अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ।  सुधारका लागि के गर्नुपर्ला ?
यो पनि हल्ला हो । हजारौं लाखौंबाट प्रतिस्पर्धा गरेर छानिएका, कैयौं तालीम लिएका सामुदायिक विद्यालयका शिक्षकहरुको क्षमतामा प्रश्न उठाउने ठाउँ छैन । समस्या मात्रै व्यवस्थापनमा छ ।  न सरकारले शिक्षकको क्षमता पहिचान गर्यो न शिक्षक आफैले गरे । गरे शिक्षकले नै गर्ने हो सुधार । शिक्षकले चाहेमा गुणस्तरीय सुधार टाढा छैन । पढ्दापद्दै केही जागीर खाउँ न त भनेर पढाएका, कुनै तालीम नै नलिउका शिक्षकहरु छन् निजी विद्यालयमा । सामुदायिक विद्यालयका हरेक शिक्षक कम्तिमा १० महिने शिक्षण तालीम लिएका छन् । शिक्षा विषय पढेका छन् । दाज्न मिल्छ ? शिक्षकहरु सक्षम छैनन् भन्ने होइन तर, सबै शिक्षकले क्षमता अनुसार काम गरेनन् भन्ने मात्रै हो । सामुदायिक विद्यालयका शिक्षकहरुले केही सुधार गरे निजी विद्यालयहरु १० वर्ष पनि टिक्दैनन् । अब शिक्षकले सक्रियता देखाउनुपर्यो ।


शिक्षकहरुको बेला बेलामा क्षमता परिक्षण हुनुपर्ला कि नपर्ला ?
एक पटक आयोग लडेर आएकाहरु सषम नै मान्नुपर्छ । बरु उनीहरुलाई वर्षैपच्छिे पुनताजंगी तालीमा चाँही दिनुपर्छ । वृत्तिविकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहनुपर्छ । शिक्षकलाई सक्रिय बनाइ राख्नुपर्छ । गरे शिक्षकले नै गर्ने हो ।


सरकारले दिने शिक्षक तालीम, पाठ्यक्रम, परीक्षा प्रणाली, मूल्याङ्कनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
शिक्षक तालीममा पहिलेको भन्दा अहिलेकोमा धेरै सुधार आइसकेको छ । पाठ्यक्रम चाँही समय सापेक्ष बनाउनु आवश्यक छ ।  परीक्षा प्रणालीमा पनि सुधार आवश्यक छ । मूल्याङ्कनमा पनि समयसापेक्ष सुधार आवश्यक छ । अहिले स्वत्तः उत्तीर्ण हुने अवस्थाले विद्यार्थीहरु अल्छि भए । यस विषयमा विद्यार्थी र अभिभावकलाई काउन्सीलिङ गर्न अझै पुगेको छैन । यसैगरी अघि बढ्दा विद्यार्थीमा पढाइ प्रतिको रुची अझै घट्नेछ ।


एउटा विद्यालय राम्रो बनाउनका लागि एकजना प्रअको कस्तो भूमिका रहन्छ ?
सबै शिक्षकहरुसँग समन्वय गर्न सक्ने, मन जित्न सक्ने, अभिभावकहरुसँग सम्बन्ध स्थापित गर्न सक्ने, सहयोगी दाताहरुसँग समन्वय गर्न सक्ने प्रधानाध्यापकहरुले नै विद्यालय सुधार गर्ने हो । नेतृत्व क्षमता, मिलनसार, दक्ष, रोलमोडल प्रअहरु नै सुधारका आधार हुन् । शिक्षक, विद्यार्थी र समयको आवश्यकता बुझेको प्रअ हुनुपर्छ । प्रअकै असल व्यवस्थापनले धेरै सामुदायिक विदालयहरुमा सुधार आएका देखिन्छ ।


प्रभात माविमा नै विद्यार्थीहरु किन पढाउने ?
विद्यालयमा हामीले विद्यार्थीहरुको सर्वागिण विकासका लागि चाहिने सबै सुविधा उपलब्ध गराउँछौं । यसका लागि सवै आवश्यक पूर्वाधारहरु तयार गरिसकेका छौं । केही गर्दै पनि छौं । यो नै विद्यालयको सबै भन्दा सवल पक्ष हो जस्तो लाग्छ । यहाँ विद्यार्थीहरुले हिजो नभइ आज र भोलि पढ्छन् । पुरा संसार नै बुझ्छन् । शिक्षकहरुले इन्टरनेटमा खोजेर सिकाउछन् । हाल अंग्रेजी माध्यममा शिषण सिकाइ गर्दै आएका छौं । कक्षाकोठाको अभावमा दुई सिफ्टमा कक्षा सञ्चालन गर्दै आएका छौं्र विहान र दिवा गरेर । हाम्रो विद्यालयमा विद्यार्थीहरु घरभन्दा नि बढी रमाउछन् । बिदा भएपछि पनि नरमाइलो मानेर घर जान्छन् । र विद्यालय समय भन्दा धेरै अगाडि रमाउँदै विद्यार्थीहरु आउने गर्छन् ।


तपाई यस विद्यालयमा कहिले प्रअ बन्नुभयो ? तपाइ प्रअ बनेपछि के–के सुधार गर्नुभयो ?
मैले २०६६ साल पुस महिना देखि यस विद्यालयको प्रअको जिम्मेवारी पाएको हँु । म प्रअ भएपछि कोसिस गरेर सफलता पाएको भनेको शिक्षकहरुसँगको समन्वय हो । मैले प्रअ बन्नसाथ पहिले विद्यार्थीको आवश्यकता बुझ्ने कोसिस गरेँ र सोही अनुसार सुधार गर्दै गए । अभिभावकहरु बोलाएर उनीहरुको पनि इच्छा बुझेँ । र सोही अनुसार सुधारको प्रयास थालेँ । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध विस्तारको प्रयास गरेँ । सिकाइ सुधारको योजना बनाए र सोही अनुसार व्यवहारमा सुधार गर्दै लगेँ ।


स्थानीय समुदायको सहयोग कत्तिको छ ?
स्थानीय समुदायसँग विद्यालयको सम्बन्ध एकदमै राम्रो छ । उनीहरुले नै शुरुमा स्थापना गरेर सञ्चालन गरेकाले उनीहरुको माया पनि विद्यालय प्रति धेरै पाएको छु । विद्यालय काठमाडौंको मुटुको पनि केन्द्रको ठाउँमा  रहेको छ । २०७२ सालको भूकम्पमा विद्यालयलाई स्थानीयले सेल्टरको रुपमा प्रयोग गरे ।


विद्यालयको समग्र अवस्थाको बारेमा बताइदिनुस न ?
विद्यालय प्रजातन्त्रको लगत्तै २००७ सालको श्रीपञ्चमीको दिनमा स्थापना भएको हो । शुरुमा प्रौढ शिक्षा पढाउन शुरु गरेर पछि मात्रै विद्यार्थीहरुलाई पढाउन शुरु गरेको हो । पछि निमावि हुँदै २०३० सालदेखि माध्यमिकतहसम्म अध्ययन गराउन शुरु गर्यो ।  


शिक्षक र विद्यार्थीको अवस्था के छ ?
विद्यार्थीहरु २५० जना छन् उनीहरुका लागि हामी निजी स्रोतमासमेत गरेर शिक्षकहरु ३० जना शिक्षकहरु छौं । विद्यार्थीहरुलाई उनीहरुले चाहे जस्तै सबैखाले अतिरिक्त क्रियाकलापहरु सहित बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिइरहेका छौं ।


अबको विद्यालयको योजना के छ ?
विद्यालयमा हामीले विद्यार्थीहरुको प्रतिभाप्रस्फुटनका लागि हर सम्भव कोसिस गरेका छौं । बाहिरी मैदानमा लगेर भएपनि खेलकुद गराउने गरेका छौं । विद्यार्थीहरुका लागि अनिवार्य कम्प्युटर कक्षा, प्रोजेक्टरबाट शिक्षक सिकाइ गर्दै आएका छौं ।  अब रहेक कक्षामा स्मार्ट बोर्ड जोड्ने, हरेक शिक्षकलाई ल्यापटप उपलब्ध गराउने योजनामा छौं ।

प्रस्तुतिः रोशन गाउँले

Comments: