२०७६ मंसिर २३ गते

अस्थायी शिक्षक व्यवस्थापनको बाटो खुल्यो




-  निर्वाचन आयोगद्वारा नतिजा प्रकाशनबाहेक अन्तिम प्रक्रिया पुर्‍याउन अनुमति

–प्रावि १३ हजार ६४,  निमाविमा २ हजार ५ सय ५९ र माविको ७ सय ३ जनाका लागि विज्ञापन

–सुविधा लिएर अवकास लिन चाहने अस्थायी शिक्षकले ०७४ वैशाख २४ अगाडि शिक्षा कार्यालयमा निवेदन दिनु पर्ने

–०६१ देखि ०७२ सम्म रिक्त दरबन्दीको ५१ प्रतिशत खुलातर्फको करिब साढे सात हजारको विज्ञापन हुन बाँकी

–शिक्षा कार्यालयले विवरण नपठाउँदा प्रावितर्फ ८, निमावि १० र मावि १२ जिल्लाको विज्ञापन हुन बाँकी


शिक्षक सेवा आयोगले शनिबार १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन गरेको छ । निर्वाचन आयोगले नतिजा प्रकाशन बाहेक अन्य सबै प्रक्रिया पुरा गर्न अनुमति दिएपछि अस्थायी शिक्षकको व्यवस्थापन गर्न आयोगले स्थायी पदपूर्ति गर्न विज्ञापन गरेको हो । आयोगले विज्ञापन गरेसंगै ०४९ अघिदेखि अस्थायी रुपमा कार्यरत शिक्षकको अब व्यवस्थापन हुने भएको छ ।

शिक्षा विभागका अनुसार ०४९ भन्दा अघिदेखि ०७२ असोज २ सम्म नियुक्तिपत्र लिएर कार्यरत २६ हजार १ सय ५१ जना अस्थायी शिक्षक छन् । आयोगले शनिबार १६ हजार ३ सय २६ पदका लागिमात्रै विज्ञापन गरेको छ । प्राविमा ८, निमाविमा १० र माविमा १२ जिल्ला र ०६१ देखि ०७२ सम्म रिक्त रहेको दरबन्दीको ५१ प्रतिशत खुलातर्फको विज्ञापन गर्न बाकी रहेको आयोगका सहसचिव लक्ष्मीराम पौडेलले बताए ।  

२६ हजार अस्थायी मध्ये ५० प्रतिशतले अवकास लिन सक्ने अनुमान शिक्षा मन्त्रालयले गरेको छ । अवकास लिने १३ हजार शिक्षकका लागि ६ अर्ब रुपैया आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

०६१ देखि ०७२ सम्मको ५१ प्रतिशत खुलातर्फको प्रावि, निमावि र मावि सबै गरी ७ हजार ५ सय हाराहारीको दरबन्दीमा प्रतिस्पर्धा गर्न मिल्छ । ‘खुलाको प्रावितर्फको विज्ञापन चाडै गर्छौ,’ आयोगका सहसचिव लक्ष्मीराम पौडेलले भने ।

शिक्षा ऐन आठौं संशोधन असार १५ मा प्रमाणिकरण भएको एक बर्षभित्र अस्थायी शिक्षक व्यवस्थापन गर्न विज्ञापन गर्नुपर्ने व्यवस्था छ । अस्थायी शिक्षक भन्नाले कुनै तहको स्वीकृत दरबन्दीमा स्थायी नियुक्ति नलिएको शिक्षक हो ।

ऐनमा अस्थायी शिक्षकलाई तीन समूहमा विभाजन गरिएको छ । ०४९ पुस २० भन्दा अघि अस्थायी नियुक्ति पाएका, ०४९ पुस २१ देखि ०६१ साउन २१ सम्म नियुक्ति पाएका, ०६१ साउन २२ देखि ०७२ असोज २ सम्म नियुक्ति पाएका अस्थायी शिक्षकले खुल्ला प्रतिस्पर्धामा सहभागी हुन पाउछन् । तीनै समूहमा परेका अस्थायी शिक्षकहरु ०७३ असार १५ सम्म नियमित कार्यरत रहनु पर्ने हुन्छ । तीन समूहमध्ये ०६१ साउन २२ देखि ०७२ असोज २ सम्म रिक्त रहेको शिक्षक पदको ४९ प्रतिशत अहिले कार्यरत अस्थायी र ५१ प्रतिशतले खुल्ला रुपमा प्रतिष्पर्धा गराइने ऐनमा व्यवस्था गरेको छ ।

पौडेलका अनुसार प्राविमा १३ हजार ६४ पदका लागि विज्ञापन गरिएको छ । त्यसमध्ये ४९ भन्दा अघिको रिक्त ९ सय ३४, ०४९ देखि ६१ सम्मको ८ हजार ४ सय ८५ र ०६१ देखि ७२ सम्मको ३ हजार ६ सय ४५ रिक्त पदका लागि विज्ञापन गरिएको हो । निमाविमा २ हजार ५ सय ५९ पदका लागि विज्ञापन गरिएको छ । त्यसमा ०४९ भन्दा अघिको ६ सय ३३, ०४९ देखि ६१ सम्मको १ हजार ७ सय र ०६१ देखि ७२ सम्म २ सय २६ पदका लागि विज्ञापन गरिएको छ ।  पौडेलका अनुसार माविमा ७ सय ३ पदका लागि विज्ञापन गरिएको छ । त्यसमा  ०४९ अघिको १ सय २०,  ०४९ देखि ०६१ सम्मको २ सय १३  र ०६१ देखि ०७२ सम्मको ३ सय ७० पद छन् ।

०४९ अघि जति जना कार्यरत छन्, त्यतिनै जनाको दरबन्दीको व्यवस्था गरेर विज्ञापन गरिएको छ । उनीहरुले परीक्षामा न्यूनतम ४० अक ल्याउनु पर्ने हुन्छ ।

ऐनमा अस्थायी शिक्षकलाई दुई विकल्पको व्यवस्था गरिएको छ । गोल्डेन हयान्डसेक ९आकर्षक सुविधासहित बिदाइ० अथवा परीक्षा रोज्नु पर्ने हुन्छ । परीक्षा रोज्नेले गोल्डेन हयाण्डसेक लिन पाउँदैनन् । विज्ञापनमा उम्मेदवार हुन दरखास्त दिने अन्तिम मितिसम्मको अवधिलाई गणना गरी अधिकतम सेवा अवधि बीस वर्ष मानिएको छ । पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकलाई काम गरेको प्रत्येक वर्षको आधा महिनाको तलब बराबरको रकम, दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकलाई प्रत्येक वर्षको एक महिनाको तलब, पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई प्रत्येक वर्षको  डेढ महिनाको तलब बराबरको रकमसहित बिदाइ गर्ने ऐनमा व्यवस्था गरिएको छ ।

परीक्षा रोज्ने अस्थायी शिक्षकले छनौट हुन नसकेमा नतिजा प्रकाशित भएको मितिबाट स्वतस् अवकास भएको मानिने व्यवस्था छ । सुविधा लिएर अवकास लिन चाहने शिक्षकले विज्ञापनको दरखास्त दिने ०७४ वैशाख २४ अगाडि नै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनु पर्ने हुन्छ । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबरलेखेका छन् ।



Comments: