शिक्षा र राजनीति

Avatar photo

Byएजुकेशन पाटी

२४ जेष्ठ २०७७, शनिबार

नेपालमा अहिले ‘राजनीति’ शब्दलाई सकारात्मकभन्दा नकारात्मक किसिमले चित्रण गर्ने प्रवृत्ति छ । अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनासँग राजनीतिलाई परिभाषित गर्नेहरुको संख्यामा पनि कमी छैन । वास्तवमा, स्वच्छ र निस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य एवं भविष्य सुनिश्चित गर्छ । अहिले हरेक क्षेत्र अस्वाभाविक राजनीतिक हस्तक्षेपले अस्तव्यस्त छ । शिक्षाको विकास र विस्तार गर्ने क्रममा कतिपय अवस्थामा राजनीति साधक नभएर बाधक बनेको देखिन्छ । विद्यालयस्तरीय होस् वा उच्च शिक्षामा अनावश्यक राजनीति व्याप्त छ । राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निर्बाध रुपमा सञ्चालन हुन पाएका छैनन् । यो एक सकस नै हो ।

राजनीतिको कपटपूर्ण खेलको अभ्यास गर्ने थलोका रुपमा शिक्षण संस्था पनि परिचित हुन थालेको छ । टाठावाठाको भूलभुलैयामा विद्यार्थी पनि आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नुभन्दा पनि विभिन्न रुपका आन्दोलनमा हाम्फाल्ने प्रवृत्ति छ । कतिपयलाई आन्दोलनको मर्म र धर्मबारे छेऊ–पुच्छर थाहा हुँदैन । आन्दोलनको दूरगामी असरसमेत उनीहरुलाई जानकारी हुँदैन । उच्च शिक्षाका अधिकांश विद्यार्थीको यो हालत छ भने विद्यालयको के होला ? आजकल गुरुलाई कालोमोसो दल्ने, कुट्पिट् गर्ने, थुन्ने जस्ता सांघातिक हमलाहरु उनीहरुका लागि पुरुषार्थ ठहर्छ अनि ती ‘सामान्य घटना’ मा चर्चा गरिन्छन् । जुन विद्यार्थी राजनीतिको विकृत रुपको पराकाष्ठ हो भन्दा अन्यथा नहोला ।

देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले राजनीतिक कर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा ठूलो मान्छे भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्नेखालको शिक्षा खट्किएको छ । हरेक प्रशासनिक निकायमा राजनीतिक गिद्धेदृष्टि राखेर च्याँखे थाप्ने प्रवृत्ति हावी भएको बग्रेल्ती उदाहरण छन् । समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न राजनीति केन्द्रित हुनुपर्ने हो । व्यक्तिको भन्दा विधिको, नेताभन्दा नीतिको, सिम्प्टमभन्दा सिस्टमलाई सम्बोधन गर्नेखालको दृढ इच्छाशक्तियुक्त राजनीतिकर्मी उत्पादन गर्ने शिक्षा आजको खाँचो हो । शिक्षित र चेतनशिल नागरिकमा राजनीतिक चेतना पनि उच्च हुनु स्वाभाविकै हो ।

तोकिएको आवश्यक सेवा शर्त पूरा नगरिकन शिक्षण संस्था किन खुल्छन् ? शिक्षक, कर्मचारीको नियुक्ति, पदस्थापना, सरुवा आवश्यकता र चाहना अनुसार विधिसम्मत भएका छन् त ? अनुशासित शैक्षिक वातावरण कायम राख्न किन सकिएको छैन ? यस्तैखाले कतिपय प्रश्नहरु राजनीतितर्फ औंलिन्छन् । विद्यार्थी, शिक्षक, कर्मचारीलाई आफ्नो योग्यता, क्षमता अनुसार दक्षता प्रदर्शन गरी विवेकपूर्ण निर्णयहरु लिनलाई राजनीतिले प्रभाव पारेको छ । आफैं नीति÷नियम बनाउने तर त्यसैलार्य मिचेर काम गर्न विवश पार्ने प्रवृत्ति अपरिपक्व राजनीतिको होइन र ? अर्को अर्थमा भन्नुपर्दा पेशाकर्मीलाई प्रत्यक्ष, परोक्ष रुपमा नीहित राजनीतिक उद्देश्य पूर्तिका लागि कठपुतली बनाइएको छ भन्दा अत्युक्ति नहोला । तसर्थ, भावी पिंढिका राजनीतिज्ञलाई इमान्दार बनाउन अहिलेदेखि नै शिक्षा दिनुपर्ने हुन्छ । गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि भविष्यदर्शी योजना, कुशल नेतृत्व एवं व्यवस्थापन, समसामयिक पाठ्यक्रम, लगनशील विद्यार्थी, जवाफदेही शिक्षक, सचेत अभिभावक र जागरुक समुदाय आधारभूत शर्त हुन् ।

शिक्षक, कर्मचारीलाई उनीहरुको पेशागत दक्षता र विवेकभन्दा पनि राजनीतिक आस्थाको आधारमा मूल्याड्ढन गरिनुका कारण बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट विमुख भएका छन् । विद्यालय वर्षको घटीमा २२० दिन खुल्नुपर्ने प्रावधान भएपनि ९० दिन पढाइ भएमा ठूलो उपलब्धि भएको ठान्नु परेको छ । बरु, बन्द–हड्ताल, जुलुसको प्रमुख तारो विद्यालय हुने गरेका छन् । पाठ्यक्रम, पाठ्यपुस्तकले निर्धारण गरेको समयावधि पढाइ नभएको अवस्थामा हामीले कस्तो गुणस्तरको अपेक्षा गर्ने हो ?

अतः शिक्षण संस्था तोकिएको विधि र प्रक्रियाबाट निर्बाध रुपमा चल्न पाउनु पर्छ । शिक्षण संस्थामा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ । व्यवहारिक र कडा आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनु पर्छ । राजनीतिकर्मीले आफ््नो अधिकार र कर्तव्यको अज्ञानताले शिक्षामा राजनीति गरेको हो भने उनीहरुको भूमिका के हुनु पर्ला भन्नेबारे अभिमुखिकरण गरिनु पर्छ । जसबाट शिक्षामा हस्तक्षेपको राजनीति गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न टेवा पुग्छ । जानी–जानी शिक्षामा राजनीति गरेर शैक्षिक वातावरण खल्बल्याउने कुत्सित नियत भएका जो कोहीलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक वहिस्कारसमेत गर्ने नीति अवलम्बन गरिनु पर्छ ।

समृद्ध नयाँ नेपाल बनाउन दक्ष जनशक्तिको खाँचो पर्दछ । दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनु पर्छ । विद्यार्थीको प्रतिभालाई अधिकतम् उत्खनन् गरेर उनीहरुको उर्जाशील क्षमतालाई सामाजिक रुपान्तरणमा खर्चेर देश विकास गर्न राजनीतिले नै निर्णायक भूमिका खेल्छ ।

राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्वसामु एक सफल राष्ट्र बनाउन राजनीतिकर्मीको अहम भूमिका रहन्छ । राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनिकरण गर्नका लागि समेत शिक्षाको अतुलनीय योगदान रहन्छ । त्यसकारण राजनीतिकर्मीले क्षणिक लाभ र स्वार्थलाई भन्दा दूरदृष्टि राखेर दिगो राजनीतिका निम्ति प्रतिस्पर्धी र प्रतिष्ठित देशको रुपमा उँभ्याउन शिक्षामा अशोभनीय राजनीति गर्न तत्काल त्याग्नु पर्छ । तसर्थ, शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा भन्ने विषय हरेक राजनीतिक दलले गहन बहस गर्ने बेला आएको छ ।

शिक्षण संस्थामा कार्यरत शिक्षक देखि उच्च पदाधिकारीहरुले विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर नीति/नियम, योजना निर्माण र कार्यान्वयन गरिनु पर्छ । उनीहरूको कार्य दक्षताको मूल्याड्ढन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धिस्तरलाई प्रतिस्पर्धी श्रम बजारमा खपतको आधारमा दाँजेर हेरिनु पर्छ । सबै राजनीतिक दलहरुले शिक्षण संस्थालाई मर्यादित एवं स्वच्छ वातावरणमा चल्न दिन व्यवहारमा समेत उतार्नेखालको संकल्प गरेमा निश्चय नै नेपाललाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रूपमा स्थापित गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्