२०७६ मंसिर २६ गते

विद्यार्थी अभावमा क्याम्पस बन्द !

अन्तैबाट

बैतडी ।  ग्रामीण भेगका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पु¥याउनका लागि स्थापना भएका क्याम्पस विद्यार्थीको अभावमा बन्द भएका छन् । जिल्लाको सुर्नया गाउँपालिकास्थित रौलाकेदार बहुमुखी क्याम्पस र शंकर बहुमुखी क्याम्पस विद्यार्थी अभाव हुँदा बन्द भएका हुन् ।

‘हामीले ग्रामीण क्षेत्रका विद्यार्थीलाई सजिलो होस भन्ने उद्देश्यले क्याम्पसको स्थापना गरेका थियौं । तर अहिले विद्यार्थीकै अभावमा क्याम्पस बन्द गर्नु परेको छ’, रौलाकेदार बहुमुखी क्याम्पसका प्रमुख उद्धव बिष्टले भने, ‘निजीस्तरबाट क्याम्पस सञ्चालनका लागि व्यवस्थापन पनि चुनौती रह्यो । विद्यार्थी संख्या पनि निकै कम भयो ।’

त्यसैगरी २०६८ सालमा स्थापना भएको शंकर बहुमुखी क्याम्पसले पनि एक ब्याचमात्रै पठनपाठन कार्य सञ्चालन ग¥यो । त्यसपछि विद्यार्थीको अभावमा पठनपाठन कार्य सञ्चालन हुन नसकेको शंकर संस्कृत माविका प्रधानाध्यापक रामबहादुर बिष्टले बताए ।

‘क्याम्पसमा विद्यार्थी भर्ना भएका छैनन्। यसले गर्दा क्याम्पस बन्द हुने अवस्थामा पुगेको छ’, उनले भने, ‘विद्यार्थी नै भएनन् भने के ले क्याम्पस चलाउनु ?’

स्थानीय स्तरमा क्याम्पस सञ्चालनका लागि कसैको चासो नहुँदा बन्द भएको रौलाकेदार बहुमुखी क्याम्पसका प्रमुख बिष्टले बताए । ‘समुदाय स्तरमा सञ्चालन भएका क्याम्पसको व्यवस्थापनमा स्थानीय समुदायको पनि चासो हुनुपर्छ’, उनले भने, ‘शिक्षकले मात्रै सञ्चालन गर्न सक्तैनन् । शैक्षिक संस्था सञ्चालन गर्न स्थानीय समुदायको पनि उत्तिकै सहयोग आवश्यक हुन्छ ।’

मानविकी संकाय सञ्चालन गरेको रौलाकेदार बहुमुखी क्याम्पस र व्यवस्थापन संकाय सञ्चालन गरेको शंकर बहुमुखी क्याम्पस विद्यार्थी अभावका साथै व्यवस्थापन नहुँदा बन्द भएका हुन् । उच्च शिक्षाका लागि धेरै जसो विद्यार्थी अन्यत्र जाने भएकाले क्याम्पसमा विद्यार्थी भर्ना नभएका हुन् ।

 सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आंगिक क्याम्पसको रुपमा सञ्चालिन तीन क्याम्पस सहज रुपमा चले पनि अन्य क्याम्पसले विभिन्न समस्या झेल्दै आएका छन् ।

विद्यार्थी, भौतिक व्यवस्थापन, आर्थिक व्यवस्थापनलगायत चुनौती क्याम्पसले खेप्दै आएको शंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदराज पन्तले बताए । उनले भने, ‘क्याम्पस सञ्चालनका लागि स्थानीय समुदायको पनि उत्तिकै सहयोग चाहिन्छ । समुदायस्तरबाट पहल नहुँदा क्याम्पस सञ्चालनमा समस्या भएको हो ।’

अन्नपूर्णपोष्टमा खबर छ ।
 

Comments: