बालबालिकामा संक्रमण बढ्दो

Avatar photo

Byएजुकेशन पाटी

१९ असार २०७७, शुक्रबार

काठमाडौँ । नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । बुधबार अर्थात् असार १७ गते मात्रै एक शिशुको राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । म्याग्दी घर भएका उनको शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनलाई असार ९ गते घाँटीको शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको थियो । शल्यक्रियापछि श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुरुवाती अवस्थामा थोरै बालबालिकामा संक्रमण देखिएको थियो, असारमा यो संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १८ वर्षमुनिका २ हजार १ सय ९८ जना बालबालिका संक्रमित भइसकेका छन् । संक्रमितमध्ये अधिकांश ११ वर्षमाथिका छन् । ५ सय २ जना १० वर्षमुनिका छन् । बिहीबार मात्रै १० वर्षमुनिका ४८ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये अधिकांश विदेशबाट अभिभावकसँगै फर्किएका बालबालिका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बालबालिकामा संक्रमण देखिए समुदायमा रोग फैलिने जोखिम भएकाले सतर्क रहन उनले आग्रह गरेका छन् ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार एक वर्षमुनिका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूमा संक्रमण सर्ने जोखिम बढी छ । संक्रमितको घरमा कम उमेरका बालबालिका छन् भने बढी सजग हुनुपर्ने उनले बताए । ‘साना बच्चालाई नियममा बाँधेर राख्न पनि गाह्रो हुन्छ, त्यसैले घरका अरू सदस्य बढी सतर्क हुनुपर्छ,’ उनले भने, ‘संक्रमितले त बच्चालाई छुँदा पनि नछोएको राम्रो ।’ दूधबाट कोरोना संक्रमण नसर्ने भएकाले विशेष सावधानी अपनाएर आमाले शिशुलाई दूध चुसाउन सक्ने उनले बताए । ‘मास्क, पन्जा लगाएर दूध खुवाउन सकिन्छ तर माया लाग्यो भनेर काखमा खेलाउन भएन,’ उनले भने, ‘संक्रमणमुक्त नभएसम्म आमा र बच्चालाई छुट्याएर राख्नुपर्छ ।’

नेपालमा कुपोषणका बालबालिका बढी भएकाले यो उमेर समूहमा संक्रमणको जोखिम धेरै रहेको उनले बताए । कुपोषणका बालबालिका रोगसँग लड्न नसक्ने भएकाले संक्रमण भएमा मृत्युसमेत हुन सक्ने उनको भनाइ छ । बालबालिकालाई सकेसम्म घरबाहिर भीडभाडमा नलैजाने, लैजानै परे मास्क लगाएर, भौतिक दूरी कायम गरेर बचाउनुपर्ने उनले बताए ।

कान्ति बाल अस्पतालका निर्देशक तथा बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलका अनुसार अन्य मुलुकको तुलनामा नेपालका बालबालिकामा कोरोनाको संक्रमण दर उच्च देखिएको छ । कुल १४ हजार ५ सय १९ संक्रमितमा २ हजारभन्दा बढी बालबालिका हुनु निकै बढी दर भएको उनले बताए । ‘अहिले बालबालिका स्कुल गएका छैनन्, घरमै बसिरहँदा पनि यति धेरै बालबालिकामा संक्रमण देखिनु राम्रो संकेत होइन,’ उनले भने, ‘अभिभावक होसियार नहुँदा बच्चाहरूमा संक्रमण सरिरहेको छ ।’

१५ वर्षमै रोजगारीका लागि भारत जानेको संख्या बढी भएकाले पनि नेपालमा संक्रमित बालबालिकाको संख्या बढी देखिएको हुन सक्ने उनको अनुमान छ । अन्य देशसँग तुलना गर्दा नेपालमा बालबालिकाको संख्या बढी (कुल जनसंख्याको ४२ प्रतिशत) भएको हुँदा पनि संक्रमित बढी देखिएको हुन सक्ने उनले बताए । ‘संक्रमित भए पनि बालबालिका मृत्युदर कम छ तर उनीहरूले वृद्धवृद्धा र दीर्घरोगीलाई संक्रमण सार्ने उच्च जोखिम भएकाले सतर्क रहन जरुरी छ,’ उनले भने । ८० प्रतिशत धेरै संक्रमित लक्षणविहीन भएकाले यसले धेरै खतरा सिर्जना गरिरहेको उनले बताए ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट तीन बालबालिकाको मृत्यु भएको छ । शिक्षणमा एक, जनकपुरमा १२ वर्षीय बालक र बाजुरामा दुई वर्षीया बालिकाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । डा. पौडेलका अनुसार क्यान्सर, निमोनिया वा अन्य कडा रोगका बालबालिकामा संक्रमणपछि मृत्यु हुने खतरा बढी छ ।

फातिमा बानुले कान्तिपुरमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्