२०७६ असोज १ गते

बालबालिकालाई बस्तीमै सिकाउने एउटा थालनी

 


कृष्णप्रसाद ढुंगाना


केही वर्ष अघि मनमा उकुसमुकुस भएर खेलिरहेको एउटा विषय थियो– विद्यालय समयभन्दा अघिपछि घर परिवारमा आफैं पढ्ने वातावरण बनाउन सकियो भने बच्चाहरुमा पढ्ने आदत निर्माण हुन्थ्यो कि ! तर कसरी ? घरमा अभिभावकलाई यतिबेला यसरी पढ्नुपर्छ भन्ने थाहा नभएपनि आफ्ना बच्चाहरुले राम्रो पढुन् भन्ने चाहना हुन्छ । तर चाहना मात्र भएर हुँदैन परिस्थिति भने फरक हुन्छ । केटाकेटी उमेरमा मान्छे चञ्चल हुन्छन् । जता रमाइलो, उनीहरु उतै हुर्रिन्छन् ।

उनीहरुले किताब पढ्ने र स्कूलमा सर–मिसले दिएको लेख्नु–पढ्नु भनेको जबर्जस्त लादिएको बोझ ठानेका हुन्छन् । अहिले वयस्क भइसकेकालाई पनि उसबेलाको अवस्था उस्तै हो । एकाध बच्चाहरु भने फरक प्रवृत्तिका नहुने गरेका होइनन् । तर तिनको संख्या ज्यादै न्यून छ, जो पढाइलेखाइ र सिकाइलाई रहरको रुपमा स्वीकार गर्छन् । मलाई लाग्थ्यो बस्तीस्तरमै विद्यार्थीलाई आफैं पढ्ने वातावरण तयार गर्न कसरी सकिएला ? जबकि, यसले विद्यार्थीलाई अनावश्यक कामकुरातर्फ लाग्नबाट रोकोस् र पढाइलाई नै आफ्नो मूल कार्य ठान्ने सोंच विकास होस् ।


विद्यालयमा पढाउन थालेको लगभग १३ वर्ष भयो । तत्कालीन समयमा एउटा प्रस्तावित निमावि, क्रमशः मावि हुँदैथियो । विषयगत शिक्षकको अभावमा जुन विषय आइलाग्यो पढाउनै पथ्र्यो ।

जे जसरी हुन्छ, पढाइयो पनि । निमावि तहका अंग्रेजी र गणित विषयबाहेक सायद एक वर्ष नपढाएको विषय कुनै छैन होला, कक्षा ९, १० को पनि सामाजिक, अर्थशास्त्र, कम्प्यूटर जस्ता विषय कम्तिमा एक–दुई वर्ष पढाइएकै छ । सधैं भोगेको समस्या केटाकेटीलाई ‘यति लेखेर ल्याऊ, भोलि पालैपालो प्रस्तुत गर्नुपर्छ, यति पढेर आऊ अनि जानेको भोलि बताउनु पर्छ,’ भनिन्थ्यो । भोलिपल्ट भने कक्षामा होमवर्क सोध्दा उत्तर आउने गथ्र्याे, ‘सर आएन, सर बिर्सिएछ ।’ यस्तै, यस्तै ... । अनि लाग्थ्यो, मैले केटाकेटीलाई रत्याउन सकिनँ, मैले शिक्षणको उपयुक्त विधि अँगाल्न सकिनँ । बालमैत्री व्यवहार कक्षामा अपनाउनु पर्छ भनेर धेरै सुनेको, तालिममा पनि धेरै सिकेको । मेरो आत्माले ती बालबालिकालाई आँखा रसाउनेगरी पिट्दा र थर्काउँदा पछि एकान्तमा पश्चाताप बोध हुन्थ्यो । कहिल्यै कडा बन्न सकिएन । त्यसैले लाग्छ, बच्चाहरुमा पढाइप्रति क्रियाशिल बन्न कि त परिस्थिति सिर्जना गर्नुपर्छ, कि त रहर नै जगाउनु पर्छ । आफूले त्यो दुबै नसकेको आत्मानुभूति हुन्थ्यो र अहिले पनि त्यहीँ लाग्छ ।


विद्यालयमा पढाउने विषयगत जिम्मेवारीको अलावा अहिलेसम्म भण्डै आठ वर्ष सहायक प्रअको रुपमा हेडसरको सहयोगी भएर काम गर्दा मनमा धेरै योजनाहरु खेल्थ्यो । बेलुकी खाना खाएर सुतिसकेपछि पनि निदाउनुअघि धेरै सपनाहरु देखिन्थ्यो ।

ती सपनालाई यसो कागजमा लेख्दै र मनमा सुरक्षित गर्दै हेडसरसँग राख्दा ‘ठीक हो’ भन्दा कता–कता मन उमंग हुन्थ्यो र उत्साहले जीऊ फुले झैं लाग्थ्यो । अनि स्टाफ बैठकमा हेडसरसँगै कतिपय कुरामा तर्क राख्दा सबैले मौन भएर समर्थन गरेको देख्दा फेरि अरु उत्साह भरिन्थे । तैपनि विद्यार्थीलाई जागरुक बनाउने उपायबारे मनमा कौतुहलता कायमै रह्यो, व्यक्त र अव्यक्त रुपमा । विद्यालयमा विभिन्न प्रतिवेदन र कार्ययोजनाका मस्यौदा तयार गर्ने काममा आफ्नो हात अलि बढी चल्थे । लेखेका, प्रस्तुत गरेका विषय वा सवालहरुमा बेला–बेलामा तारिफ पनि हुन्थ्यो कतिपयबाट । कतिबाट प्रतिक्रियाबिहीन मौनता पनि । जे होस्, आफ्ना सोंच व्यक्त गर्नु, प्रयास, आग्रह अनि प्रस्ताव गर्नुलाई एउटा आत्मसन्तुष्टिको विषयका रुपमा लिन मन लाग्थ्यो र लाग्छ । कार्यान्वयन गर्ने नेतृत्वमा अर्को व्यक्ति हुँदा लाग्थ्यो, ‘चासो दिएनन् ।’ परिस्थितिहरु म बुझ्दैनथे । अहिले आफू नै कार्यान्वयनको तहमा हुँदा पनि लाग्छ– ‘सबै इच्छाएको कुरा पूरा गर्नका निम्ति परिस्थिति दाहिना हुन्नन् ।’ तर पनि निरन्तर प्रयत्नले सम्भावना नजिक पु¥याउँछ र सफल पनि बनाउँछ ।


विद्यालयमा कार्यारम्भ हुँदाबखत नै विषयगत शिक्षणको अलावा ममा भएको केही व्यवहारिक सीप आफ्नो लागि सम्पत्ति झैं लाग्थ्यो । विद्यालयमा आवश्यक कागजात तयार गर्ने काममा आफ्नै सक्रियता बढी हुन्थ्यो । कामको बोझ बढी भएपनि त्यसलाई अवसरका रुपमा लिने बानीले होला, छुट्टै आनन्द लाग्थ्यो । त्यसपूर्व गाउँमै बनाएको एउटा क्लब, त्यसमार्फत् विभिन्न कार्यक्रम आयोजना, बैठक सञ्चालन गर्ने, विभिन्न कार्यक्रममा सहभागी हुने, संघ–संस्था वा निकायमा सम्पर्क राख्ने जनचेतनामुलक तथा सिर्जनात्मक कार्यक्रम गर्दा धेरै व्यवहारिक सीपहरु आर्जन गरिए । जुन देखेर, गरेर अनि सहभागी भएर सिकेका । लाग्छ, अहिलेका बालबालिकालाई पनि समुदायमा संगठित हुने सिर्जनात्मक कार्यमा आकर्षण गर्न सक्यौं भने उनीहरुमा पनि यस्तै व्यवहारिक क्षमता विकास हुन सक्छ । समुदायलाई पनि सशक्तिकरण र सचेतनायुक्त एवं विकृति र बिसंगति विरुद्ध जागरुक बनाउन सकिन्छ । सिर्जनात्मक कार्यले सिकाइको दायरा पनि फराकिलो बनाउँछ र भोलि परिवर्तनका संवाहक बन्न सक्छन्, ती बालबालिका ।


एकदिन सायद भदौ महिना हुनसक्छ । टिच फर नेपालबाट एकजना स्वयंसेवक शिक्षक रतन देवकोटा विद्यालयमा आइपुग्नुभयो । चिनजान भयो । ललितपुरको आफ्नो अनुभव बताउँदा मैले केही वर्ष अघिदेखि जे सोचेको थिएँ, त्यही कुरा उहाँले गरेर देखाइदिनु भएछ । उहाँको कुरा सुनेपछि मैले दुई वर्ष अघि आफ्नो सिकाइ सुधार गर्ने उपायहरु समेटेर बनाएको एउटा रिपोर्टको पाना पल्टाएर देखाएँ पनि । हामीले सोचेर बस्ने होइन, सोचसँगै काम गरिहाल्न सक्नुपर्छ । त्यसपछि कता–कता हतारो महशूस भयो ।

भोलिपल्टै शिक्षक–अभिभावक संघका अध्यक्षसँग कुरा गरियो, उहाँले सकारात्मक आशय दिनुभयो । झन् उत्साह बढ्यो । पहिला कहाँ शुरु गर्ने भन्ने लाग्यो । बाक्लो बस्ती, एकै प्रकारका जीवनशैली भएका समुदाय छाप गाउँ, मनले उपयुक्त ठान्यो । ‘शुरु गरेर हेरौं, राम्रो भए निरन्तरता दिउँला नसके जे होला, दबाब होइन रहर त हो । असहज भए बरुँ पछि छोडुँला,’ यस्तै सोंच आयो । कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको समूहलाई ऋषिपञ्चमीको दिन टोल–बस्तीका अभिभावकलाई भेला गर्न खबर गरियो । त्यस दिन बिहान एक्लै गाउँ जान तयार भइयो । बिदाको दिन भएकाले अरु शिक्षक साथीहरुलाई जाउँ भन्न पनि कस्तो–कस्तो अफ्ठ्यारो लाग्यो । मनले जितेरै टेकबहादुर कार्की (फेलो टिच फर नेपाल) सरलाई फोन गरेँ ।

उहाँ अत्यन्त उत्साही हुनुभयो । तत्कालै स्कूलमा आइपुग्नुभयो । दुबैजना बस्तीस्तरमा सिकाइ अवधारणाबारे छलफल गर्दै गयौं, छाप गाउँ पुगियो । सोचेजस्तो अभिभावकमा चासो पाइएन । बुवाहरुभन्दा आमाहरुमा ज्यादा चासो भएको पाइयो आफ्ना छोराछोरीको । करिव ३० जना आमाहरुको बीचमा छलफल गरियो । सबैले उत्साह थपिदिए । सकारात्मक बने । विव्यस सदस्य निर्मला तामाङले एउटा मनोकांक्षा व्यक्त गर्नुभयो, ‘गाउँका सबै केटाकेटीले राम्रो पढिदिए गाउँ कति परिवर्तन हुन्थ्यो । आफ्नो पालामा पढ्न पाइएन । बिहान–बेलुका अन्य काममा बरालिनुको सट्टा सबैले पढ्ने वातावरण बनाउन पाए त म जे सहयोग गर्न परे पनि गर्थें । बरु मेरो घरमा यस्तै पढ्ने ठाऊँ बनाऔं, म व्यवस्था मिलाउछु ।’ उहाँको त्यो भनाइले एउटा सकारात्मक उत्प्रेरणा जगायो । भेलाबाट हामीले विद्यार्थीकै एउटा समिति बनायौं ९ र १० कक्षामा पढ्ने एक एकजनालाई संयोजक र उपसंयोजक हुनेगरी ।


बिहान वा बेलुकी कम्तिमा २ घण्टा स्कूलमा दिएको होमवर्क गर्ने, अघिल्लो दिन पढाएको पढ्ने र भोलिपल्ट पढाउने पाठ पढ्ने । त्यस्तो तालिका बनाएर सोही अनुसार अरु सिर्जनात्मक क्रियाकलापहरु गर्ने, आफ्नैखालका नीति–नियम बनाउने, टिम लिडर चयन गरी उसकै नेतृत्वमा सबै परिचालित हुनेलगायतका विषयमा सल्लाह दिइयो । विद्यार्थीहरु उत्साहित थिए । पक्कै पनि केही सकारात्मक प्रभाव पर्ला भन्ने आशा जाग्यो, हामी उत्साही हुँदै फर्कियौं ।


विद्यार्थीमा आफ्नैखालका नियम तर्जुमा गर्ने नियमित सञ्चालनका लागि आवश्यक समन्वय गर्न आवश्यकता थियो । आस्था खत्री (फेलो, टिच फर नेपाल) आवश्यक समन्वय गर्न उत्साही हुनुहुन्थ्यो । उहाँ नियमित बेलुका सहजीकरणका लागि जान थाल्नुभयो । विद्यार्थीलाई सिकाइको नयाँ वातावरण सिर्जना गर्न उहाँ निरन्तर प्रयासरत हुनुहुन्छ । झण्डै ७० जनाभन्दा बढी केटाकेटीहरु जम्मा भएकाले बिहान र बेलुका गरी दुई समयका लागि समूह विभाजन गरिएको छ ।

प्राथमिक तहका बिहान र माथिल्लो तहका बेलुकी । ठाउँ व्यवस्थापनलगायतका कामहरु सामुहिक रुपमा विद्यार्थी आफैं मिलेर गरेका छन् । एकै ठाउँमा जम्मा भएर आपसमा छलफल गर्दै सिक्ने सिकाउने, स्कूलमा दिएको गृहकार्य गर्ने÷गराउने गर्दै केटाकेटीहरु पढाइमा रमाउन थालेका देखिन्छन् । नियमित होमवर्क गरेर आउने गरेको प्रत्यक्ष प्रभाव पनि विद्यालयमा देखिन थाल्यो । दशैंको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम पनि उनीहरु आफैंले सम्पन्न गरे । दीर्घकालीन रुपले सिकाइ केन्द्रलाई कसरी व्यवस्थान गर्ने भनेर उनीहरु आफैं योजना बनाइरहेका छन् । हप्ताभरिको लागि कार्यतालिका पनि बनाएका छन् । टीभी, मोबाइलमा अल्झिरहने र कतिपय अनावश्यक क्रियाकलाप छोडेर उनीहरु सिकाइ केन्द्रमा रमाउन थालेका छन् । स्कूल छाडेकालाई पनि पढ्ने रहर लाग्ने वातावरण केटाकेटीहरुले नै बनाइरहेका छन् ।


विद्यालयको सेवा क्षेत्रअन्तर्गत दुवाचौर, छापमा ‘बस्ती बस्तीमा सिकाइ अभियान’को विद्यार्थीहरुकै संयोजनमा र हाम्रो सहजीकरणमा दैनिक दुई घण्टा स्वअध्ययन गर्नेगरी सिकाइ केन्द्र शुरुवात भएको हो । यसको ठूलै प्रभाव त अहिले नै देखिने कुरा भएन, तैपनि सकारात्मक लक्षण भने देखिएको छ । विदेशिएका युवाहरुले पनि स्वागतयोग्य मानेका छन् । सहयोग गर्न लालायित छन् तर व्यवस्थापनका कतिपय काम बाँकी नै छन् । यसले सिकाइमा सकारात्मक प्रभाव पार्ला भन्ने अपेक्षा छ । आगामी दिनमा विद्यालयका अन्य सेवा क्षेत्रमा पनि बिस्तार गर्दै जाने उद्देश्य राखिएको छ ।


केटाकेटीहरु भविष्यमा कस्तो बन्छन् भन्ने कुरा उनीहरुको लागि कस्तो वातावरण सिर्जना गरिन्छ र कस्ता क्रियाकलापमा नजिक गराइन्छन्, त्यसमा भर पर्छ । समुदायस्तरमा बालबालिकाको लागि सिकाइ वातावरण तयार गरी शैक्षिक गुणस्तर कायम गर्ने र समाज परिवर्तन गर्ने एउटा अभियान हो ।
(लेखक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६, तालामाराङस्थित श्री तेर्से माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ ।)

 

 

Comments: