२०७६ असोज २९ गते

विवाह बन्धनमा स्कुले बालिका

महोत्तरी । सिउँदोमा सिन्दुर, गलामा मंगलसूत्र अनि मेहेन्दीले रंगिएका हात । गत शुक्रबार सकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)केन्द्रका कोठैपिछे देखिने यस्ता दृश्य आफैंमा गम्भीर विषय बनेका छन् । केही केन्द्रमा त बेहुलीको कपडामै घुम्टो ओढेर लेखिरहेका परीक्षार्थी पनि देखिए ।

स्कुले जीवनमै विवाह बन्धनमा बाँधिएका बालिका सय पचासको संख्यामा मात्र सीमित छैनन् । जिल्लामा सञ्चालित २८ मध्ये १८ केन्द्रबाट प्राप्त विवरणअनुसार एसईई परीक्षा दिएका २ हजार ३ सय १ छात्रामध्ये २४ प्रतिशत अर्थात् ५ सय ५७ बालिका सिन्दुर पोते र मंलगसूत्रमै परीक्षा केन्द्रमा थिए । सबैभन्दा बढी खखना केन्द्रबाट परीक्षा दिने १ सय ५९ छात्रामध्ये ५९ छात्रा विवाहित पाइएको थियो भने सबैभन्दा कम गौरीवास केन्द्रबाट १ सय ४८ छात्रामध्ये यादव थरकी एकमात्र परीक्षार्थी विवाहित थिइन् ।

 परीक्षार्थीका अनुसार बिहे अभिभावकको इच्छाले भएको हो । यीमध्ये केही बालिका १६ वर्ष टेक्न नपाउँदै आमासमेत बनेको पाइएको छ । विवाहित परीक्षार्थीको संख्याबाट एसएलसी परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसमेत चकित छन् । ‘सभ्यताको एक्काईसौं शताब्दिमा पनि स्कुले जीवनमै बिहे अनि बालबच्चा ' उनले आश्चर्य प्रकट गरे, ‘यो आफैंमा गम्भीर समस्या हो ।’ जिल्ला न्यायाधीवक्ता सुदीप दंगालकाअनुसार बालविवाह सामाजिक कुरीति मात्र नभएर दण्डनीय अपराधसमेत हो । मुलुकी ऐन बिहेबारीको महलको २ नं अनुसार बिहेबारी गर्दा महिला र पुरुषको उमेर २० वर्ष पुगेको हुनुपर्छ ।

कानुनलाई लत्याउँदै कलिलो उमेरमै बिहे गरिदिएर अभिभावकले आफ्ना निर्दोष सन्ततिको खुट्टामा किन बञ्चरो हाने यी बालिकालाई थाह छैन । तर यस्ता परीक्षार्थीले आफ्नो भविष्य नै अन्धकारमा परेको दुखेसो पोखेका छन् । बाल विवाहले पढाइप्रतिको लगनशीलता बिथोलिनुका साथै आफ्नो क्षमता, खुबी र आत्मविश्वासमै कमी आएको उनीहरूको पीडा छ ।प्रवेश पत्रमा उल्लेख भएअनुसार उनीहरूमध्ये अधिकांशको जन्म मिति ०५६ साल र कसैकसैको ०५७ साल छ । अर्थात् एसईई परीक्षा दिई रहँदा यी बालिकाको उमेर भरर्खर १५/१६ वर्ष टेकेको छ ।

साँढा केन्द्रबाट परीक्षा दिइरहेकी दलित बालिका राजीकुमारी राम प्रवेशपत्र अनुसार अंग्रेजी विषयको परीक्षा दिँदा १६ वर्ष २३ दिनकी मात्र भएकी थिइन् । तर बिहे भने २ वर्षअघि १४ वर्षमै भएको उनले जनाइन् । त्यतिबेला उनले दुर्गा मावि मनराबाट भरर्खरै ८ कक्षा उत्र्तीण गरेकी थिइन् । दलित समुदायमा व्याप्त बालविवाहजस्ता कुरीतिको आफू सिकार बनेको उनको दुखेसो छ ।

‘बिहे गर्ने मेरो उमेर नै थिएन,’ उनले विवशता प्रकट गरिन्, ‘बाबुआमाले नै गरिदिएपछि मेरो के लाग्छ ।’ बिहेपछि घरधन्दा, सासूससुराको कचकच र नयाँ समस्याले उनको पढाइ बाधित भयो । परिस्थिति मिलाएर कसैगरी एसईई परीक्षा दिने अवसर जुराइन् । तर परीक्षाको पहिलो दिन नै जलेश्वरबाट पुगेको अनुगमन टोलीले साथमा मोबाइल राखेको आरोपमा अंग्रेजी विषयको परीक्षा रद्द गरिदिएपछि माथि पढ्ने उनको सपना करिब टुटेको छ ।

‘बिहे भएकै कारण वर्ष दिन पढ्न दिएनन्’, आँसु पुच्छदै केन्द्रबाहिर आएकी राजीले निराशा व्यक्त गरिन्, ‘परीक्षाबाटै निकालिदिएपछि अब पढ्ने सपना अधुरै रहने भो ।’

यस्तै पीडा मटिहानी केन्द्रबाट परीक्षा दिइरहेकी सीमा मण्डलको छ । प्रवेश पत्रअनुसार अहिले उनको उमेर १८ वर्ष केही महिना मात्र छ । तर बिहे भने ३ वर्षअघि नै भएको उनले जनाइन् । उनले बुवाको मृत्युका कारण बेसहारा बनेकी आमाले आफ्नो जिम्मेवारी पन्छाउन १५ वर्ष नपुग्दै धनुषाको भुतही पटेर्वामा बिहे गरिदिएको बताइन् । बिहेपछि घरधन्दालगत्तै अनिच्छुक गर्भधारणको बोझ अनि १६ टेक्न नपाउँदै एक छोरीकी आमा बनिन् । पढ्ने र शिक्षक बन्ने सबै सपना चकनाचुर भए ।

‘मेरा साथी अहिले १२ कक्षामा पढ्दै छन्’, उनले थपिन्, ‘मेरो भने पढ्ने, शिक्षक बन्ने अनि आफ्नो खुट्टामा उभिने सबै सपना बालबच्चा र घर धन्दाको भारले किचियो ।

राजी र सीमाको पीडा एसईई परीक्षा दिइरहेका सबै विवाहित परीक्षार्थीका हो । यो कुरीतिले निर्दोष बालिका पीडित त छन् नै यसले मुलुकको शिक्षा नीतिलाई नै प्रभावित पारेको शिक्षा कार्यालयको ठम्याइ छ । शिक्षा अधिकारी ठूलोबाबु दहालका अनुसार बालविवाहाको दुष्प्रभावले शिक्षा क्षेत्र आक्रान्त छ । सिकाइ उपलब्धिमा नकारात्मक असर पार्नुका साथै पढाइको स्तर घटाएको, पढाइ नियमित हुन नदिएको दहालको विश्लेषण छ ।

‘छात्राहरूको ‘ड्रप आउट’ (बीचमै पढाइ छाड्ने) घटाउने राज्यको नीति तथा कार्यक्रलाई बालविवाहजस्ता कुरीतिले चुनौती थपेको छ,’ दहालले भने, ‘यसले शिक्षामा बालिकाको पहुँच तथा क्षमता वृद्धिका लागि राज्यले गरेको लगानी र सुविधासमेत खेर गएसरह भएको छ ।’

जिल्ला असपताल जलेश्वरका डा। राजीव झाका अनुसार बालविवाह कानुनी र सामाजिक समस्याजस्तो लागे पनि यसले मानव स्वास्थ्यसँग सीधा सम्बन्ध राख्छ । उनका अनुसार मेडिकल साइन्सको दृष्टिले शरीरको पूर्ण विकास नभई गरिएको विवाहले अनेकन स्वास्थ्य समस्या ल्याउँछ ।

प्रजिअ यादवले सामाजिक क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्था र महिला तथा बालबालिका कार्यालयसँग बालविवाह रोकथामका लागि सघन छलफल गरी ठोस निषकर्षसहित अघि बढ्न आफूले पहल गर्ने विश्वास दिलाए । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: