२०७७ जेष्ठ १९ गते

बाल हिंसाविरुद्ध जुट्दै बालबालिका

कञ्चनपुर । सौरभ १६ वर्षका भए । उनी ९ कक्षामा पढ्छन् । सौरभको पढाइभन्दा पनि उनकी आमालाई बुहारीको खाँचो छ । उनले आफू काम गर्न नसक्ने भन्दै सौरभको बिहे गर्ने निधो गरिन् । आमाको निर्णय सौरभकी बहिनी निरुलाई चित्त बुझेन । बालविवाह हुन लागेको भन्दै उनले साथीभाइसँगै महिला स्वयंसेविकासम्म कुरा गर्न थालिन् । तर कसैले सम्झाउँदा पनि सौरभको बिहेबारे निर्णय परिवर्तन हुन सकेन ।

सौरभकी बहिनीसँगै पढ्ने सरु र रेनुकाकी हजुरआमाले पनि दुवैको कन्यादान गरिदिने भन्दै विवाहको तयारी गर्दै थिए । त्यत्तिकैमा सौरभकी आमा सरुको घर पुगेपछि दुवैको कुरा मिल्यो । सौरभ र सरुको पढ्ने इच्छा भए पनि इच्छाविपरीत छिट्टै बिहेको तय भयो ।

बालबालिकाको विवाह हुन लागेको खबर सुनेपछि सरुको घरमा पुगेका महिला स्वयंसेविका र स्वास्थ्यकर्मीले धेरैबेर सम्झाएपछि बिहे रोकियो । सौरभकी आमा र सरुकी हजुरआमाले गल्ती भएको भन्दै माफीसमेत मागे । बुहारीलाई हप्काएर नातिनीको विवाह गर्न लागेको भन्दै उनले बुहारीसँग पनि माफी मागिन् । विवाह रोकिएपछि सौरभकी बहिनी र साथीहरूले खुसियाली मनाए ।

माथि उल्लिखित दृश्य बुधबार कञ्चनपुरको बेदोट नगरपालिका ५ धरमपुरमा बालहिंसा न्यूनीकरणका लागि मञ्चित नाटकको अंश हो । स्कुले बालबालिकाले सामाजमा जरा गाडेको कुसंस्कार अन्त्यका लागि एकजुट भएर बेलाबेला यस्ता नाटक प्रस्तुत गर्दै आएका छन् । उनीहरूले गाउँघरमा बालहिंसा न्यूनीकरणका लागि किशोरी समूह गठन गरेर व्यक्तिगत र सामूहिक रूपमा काम गर्दै आएका छन् । यसपटक योगदान महिला कृषक सहकारी संस्थाले गरेको बालहिंसा न्यूनीकरणसम्बन्धी सामाजिक सद्भाव तथा जनचेतनामूलक कार्यक्रमले यस्तो अवसर जुटाएको हो ।

‘अहिले पनि गाउँमा छोरीलाई स्कुल पठाउनु हुन्न भन्ने परम्परा कायमै छ,’ नाटकमा हजुरआमाको भूमिकामा रहेकी कविता जोशीले भनिन्, ‘पुण्य कमाउने नाममा सानै उमेरमा विवाह गरेर हिंसा भइरहेको छ ।’ उनले यस्ता कुप्रथा रोक्न बालबालिका स्वयं सजग हुनुपर्ने बताइन् ।

छोरालाई बोर्डिङ र छोरीलाई सरकारी स्कुलमा पठाउने र कतिपयले छोरीलाई स्कुल नै नपठाउने गरेको अवस्था अहिले पनि देख्न पाइने नाटकका कलाकार बताउँछन् । उनीहरूको गाउँमा करिब १० प्रतिशतभन्दा बढीको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको छ । यसले गर्दा बालबालिका हिंसामा परिरहेको भन्दै यसको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनीहरू बताउँछन् ।

‘यस्ता जनचेतनामूलक कार्यक्रमले गाउँका बूढापाकालाई समेत सचेत गराउँछ,’ स्थानीय गणेश नेपालीले भने, ‘बालबालिकामाथि गर्भदेखि हिंसा हुने भएकाले त्यसको न्यूनीकरण आवश्यक छ ।’ उनले व्यक्ति आफैं सचेत नभएसम्म यस्ता हिंसा भइरहने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: