२०७६ असोज २८ गते

घरमै सिलौटा खोप्छन्, स्कुल जाँदैनन्

बाँके । गाउँघर नजिक विद्यालय भएर मात्र विद्यार्थी टिक्ने रहेनछन्, बाँकेका अल्पसंख्यक कुचबधियालाई त्यो विद्यालय ‘आकाशको फल’ जस्तो भएको छ । परम्परागत पेसा सिलौटा बिक्री हुन छाडे पछि उनीहरू संकटमा पर्दै गएका छन् । आफ्ना छोराछोरीलाई आर्थिक संकटका कारण विद्यालय पठाउन नसकेका हुन् ।

१४ वर्षीया पूजा कुचबधियाले विद्यालय छाडेको ६ वर्ष पुग्यो । दुई कक्षासम्म स्थानीय विद्यालयमा पढिन् । आठ वर्षकी भएपछि काममा सघाउन भन्दै आमाबुबाले विद्यालय पठाउन छाडे । ‘घरमा बस्छु । घरकै काम गर्छु,’ उनले भनिन्, ‘सिलौटा बनाउन बुबाआमालाई सघाउँछु ।’

गाउँनजिकै सरकारी विद्यालय र मदरसा छन् । ती विद्यालयले जुनसुकै जाति र समुदायका बालबालिका भर्ना लिन्छन् । तर, लोपोन्मुख कुचबधिया जातिका दर्जनौं बालबालिका अहिले पनि विद्यालयबाहिरै छन् । कैलाश र मुली कुचबधियाका पूजासहित ५ छोरी र दुई छोरा छन् । सरकारले लोपोन्मुख जातिको सामाजिक सुरक्षाका लागि हरेकलाई मासिक एक हजार भत्ता उपलब्ध गराउँदै आएको छ । तर, कुचबधियाको जीवनस्तरमा कुनै सुधार आएको छैन ।

‘स्कुल नि:शुल्क भने पनि कापीकिताब र ड्रेसको खर्च लाग्छ । त्यो हामी तिर्न सक्दैनौं,’ ३६ बर्षिय कैलाशले भने ।  उनले १२ वर्षीया छोरी रेश्मीलाई पनि दुई कक्षापछि स्कुल पठाएनन् । कविता एक कक्षामा छिन् । अर्को वर्षपछि उनी पढ्न पाउनेरनपाउने निश्चित छैन । ‘नौ जनाको परिवार पाल्नु पनि पर्‍यो । छोराछोरी हुर्किएपछि स्कुल पठाउन कहाँ भ्याइन्छ ?,’ कैलाशले भने ।

कुचबधिया बस्तीबाट अहिलेसम्म कसैले माध्यमिक तह उत्तीर्ण गरेको छैन । इन्द्रपुरका ऐलानी जग्गामा बसेका दुई बस्तीमा झन्डै ६५ परिवार कुचबधियाको बसोबास छ । उनीहरूको सबैभन्दा ठूलो पिरलो आफ्नै जग्गा जमिन नहुनु हो । डोरी र सिलौटा बिक्रीजस्ता परम्परागत कामबाहेक आयआर्जनका अरू उपाय छैनन् । ‘सिलौटा पनि बिक्न छाडिसके । सबैका घरमा मिक्चर छन्,’ ६० वर्षीया शान्ति पत्थरकट्टाले भनिन् ।

कुचबधियाहरूको देशभर जनसंख्या झन्डै आठ सय मात्र छ । त्यसको आधा बाँकेमा बस्छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार इन्द्रपुर, गनापुर र फुल्टेक्रामा ३ सय ३७ जनसंख्या छ । अधिकांश झुपडी छन् । केहीले ऋणधन गरेर अर्धपक्की र पक्की घर पनि बनाएका छन् । आदिवासी जनजाति महासंघका बाँके अध्यक्ष डम्बर थापामगर कुचबधियाजस्ता लोपोन्मुख समुदायको जीवनस्तर उकास्न व्यावहारिक कुनै कार्यक्रम लागू नभएको गुनासो गर्छन् ।

‘कुचबधिया पनि फिरन्ते जाति हो । तराईका राउटेभन्दा पनि हुन्छ,’ उनले भने, ‘फरक यत्ति छ, कुचबधियाहरू घर बनाएर बस्छन् ।’ आयआर्जनका सहज विकल्प दिनसके यो लोपोन्मुख समुदायको सहज सामाजिक विकास हुनसक्ने अध्यक्ष थापामगर बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: