जुनसुकै काम गर्दा पनि कामसँग सम्बन्धित ज्ञान, सीप र क्षमताको आवश्यकता पर्दछ चाहे त्यो उच्चस्तरको काम होस् या न्यूनस्तरकै किन नहोस् । एकपटक हासिल गरेका ज्ञान र सीप सदाका लागि उपयुक्त भइरहन्छन् भन्नु पनि मूर्खता हो । समय, परिस्थिति र ठाउँ अनुसार हामी र हाम्रो काम गर्ने शैली तथा सीपलार्ई पनि परिवर्तित गर्दै लैजानु आजको टड्कारो आवश्यकता भएको छ ।

हामी शिक्षणमार्फत् आफ्नो सीप प्रस्तुत गर्ने गहन जिम्मवारी बोकेका सिपालु शिक्षकहरुले पनि समयको मागसँगै शिक्षण गर्ने शैलीमा परिवर्तन गर्नुछ, प्रयोग गर्ने सामग्री र हाम्रो समग्र शिक्षण पेशामै परिवर्तन ल्याउनुछ । हिजो हामीले सिकेका ज्ञान, सीप, तरिका, विधि र रणनीतिहरु आज शून्य ठहरिएका छन् । अझ सूचना र प्रविधिको क्षेत्रमा आएको आमूल परिवर्तनले त झन् त्यो प्रयोग गर्न नसकेर हामी झन् अन्जान छौं । विषयवस्तुहरु जटिल बन्दै गएका छन्, विद्यार्थी झन् चलाख हुँदै छन्, सामग्रीहरु प्रविधिमुखी हुँदै आएका छन् । तर, बिडम्बना हामी अधिकांश शिक्षकहरु त्यही हिजो हासिल गरेको योग्यताकै आधारमा कक्षामा उभिएका छौं जुन समय, विषयवस्तु र विद्यार्थीको अनुकूलतामा छैन । यस्तो परिस्थितिमा अब पनि हामी शिक्षकहरुले हाम्रो पेशामा विकास गर्ने कि नगर्ने ? पेशागत दक्षता हासिल गर्ने कि नगर्ने ? पक्कै पनि गर्नु पर्दछ । आउनुहोस्, शिक्षकको पेशागत विकासका निम्न सरल र अत्यन्तै व्यवहारिक रणनीतिमार्फत् हाम्रो पेशालार्ई सान्दभिक बनाऔं ।

शिक्षक सहयोग समूह निर्माण गरौं  
एउटै विद्यालयका शिक्षकहरुका शैक्षणिक समस्याहरुलाई छलफलमार्फत् समाधान गर्नका लागि शिक्षक सहयोग समूह निकै उपयोगी हुन्छ र शिक्षकको पेशागत विकासमा प्रत्यक्ष फाइदा पुग्छ । पक्कै पनि प्रत्येक शिक्षकहरुसँग एउटै विषयवस्तुलार्ई शिक्षण गर्ने फरक–फरक विधिहरु हुन्छन् । बेला–बेलामा यस्ता नवीन विधिमाथि समूहमा छलफल गर्नाले शिक्षकमा नयाँ–नयाँ विचार, तरिका र दृष्टिकोणको विकास हुन्छ जसबाट शिक्षण पेशामा विविधता ल्याउन सकिन्छ । अझ यस्ता सामुहिक छलफलबाट शिक्षकहरुमा सहकार्यात्मक भावना विकास भई शैक्षिक चुनौतीसँग मिलेर लड्ने परम्परा थालनी हुन्छ ।

तसर्थ, विद्यालयस्तरमा स–साना शिक्षक सहयोग समूह निर्माण गरौं, सकिन्छ दैनिक, सकिँदैन । साप्ताहिक रुपमा भएपनि आफूसँग भएका शैक्षिक समस्या र नवीनतालार्ई छलफलमा राखौं जसबाट हाम्रो पेशागत विकासमा निम्न फाइदाहरु पुग्छन्,

    शैक्षिक नवीनताको बारेमा जानकारी हुन्छ ।
    शिक्षकमा हिनताबोध र एक्लोपनाको भावना हटेर जान्छ ।
    सहकार्य र सिर्जनात्मकताको विकास हुन्छ ।
    शिक्षणमा सुरक्षा र सन्तुष्टि प्राप्त हु्न्छ ।
     शिक्षकलाई शिक्षणप्रति दक्ष र निपूर्ण बनाउँछ ।

शिक्षकले आफ्ना शैक्षणिक क्रियाकलापबारे दैनिकी लेखौं
दैनिक रुपमा आफ्ना शैक्षणिक गतिविधिबारा केही समय छुट्याएर दैनिकी लेख्नु हामी शिक्षकहरुको लागि त्यति जटिल कार्य होइन, जुन हाम्रै पेशागत विकासमा फाइदाजनक छ । दिनभरी मैले के कस्ता विधिहरु प्रयोग गरेँ, ती विधिमा म सफल भएँ कि भइनँ, कुन विषयवस्तुमा समस्या आइप¥यो, विद्यार्थी सन्तुष्ट भए कि भएनन् र अपेक्षित उपलब्धि हात प¥यो कि परेन जस्ता विविध पक्षहरुलार्ई समेटेर दैनिकी लेख्नाले हामीलार्ई शिक्षण पेशाप्रति अझ पोख्त बनाउन मद्दत गर्दछ । यस्तो कार्यबाट हामी शिक्षकहरुलाई नयाँ–नयाँ विधि, सामग्री र रणनीतिहरु खोज्न र अनुसन्धानमुलक कार्यमा लाग्न उत्प्रेरित गर्दछ । जसबाट हाम्रो पेशागत विकासमा फाइदा पनि पुग्दछ । मुख्यतः दैनिकी लेखनबाट शिक्षकलाई आत्मप्रतिविम्बित् शिक्षणमा प्रत्यक्ष सहयोग पुग्दछ । तसर्थ, हाम्रो पेशागत विकासको लागि थोरै समय छुट्याएर दैनिकी लेखौं जसबाट निम्न फाइदाहरु पुग्छन् ।

    भावी प्रयोजनको लागि अभिलेख हुन्छ ।
    शैक्षणिक समस्या माथि खोज तथा अनुसन्धान गर्नको लागि आधार तयार हुन्छ ।
    शिक्षण विधि र सामाग्री प्रयोगको प्रभावकारिता मूल्याङ्कनमा सहयोग पुग्छ ।
    आत्म प्रतिबिम्बित शिक्षणमा प्रत्यक्ष सहयोग पुग्दछ ।
    विद्यार्थी, समाज, समय र पाठ्यक्रम अनुरुप शिक्षण गर्नको लागि सहयोगी हुन्छ ।
    शिक्षकलार्ई आफ्नो कामको आफैं मूल्याङ्कन गरी सुधारात्मक शिक्षण गर्न उत्प्रेरित गर्दछ ।

सहपाठी शिक्षकहरुको कक्षा अवलोकन गरौं
अबका हामी आधुनिक शिक्षकहरु सरासर आफ्नो कक्षामा गएर एकोहोरो प्रवचन दिनुभन्दा पनि आफ्ना सहपाठीहरुले कसरी शिक्षण गरिरहेका छन्, कक्षा व्यवस्थापन कसरी गरेका छन्, के कस्ता सामग्रीहरु उपयोग गरेका छन् र मूल्याङ्कनमा के कस्ता रणनीतिहरु प्रयोग भएका छन् भनेर बेला– बेलामा उनिहरुको कक्षा अवलोकन पनि गर्नुपर्ने तड्कारो आवश्यकता हामी सामु प्रकट भएको छ । बेला बेलामा सहपाठीहरुको कक्षा अवलोकन गर्नाले हामीलाई शिक्षणमा विविधता ल्याउन मद्दत पुग्छ । एउटै बिषयबस्तुलाई दुइ फरक फरक शिक्षकहरुले शिक्षण गरि एकआपसमा तुलना गर्दा विविध नविनताहरु को आविस्कार हुन सक्छ, जसबाट शिक्षकको पेशागत विकासमा प्रत्यक्ष सहयोग पुग्न जान्छ ।

सहपाठीले आफ्नो कक्षामा प्रयोग गरेका सकरात्मक र अनुकरणिय कला, सीप र विधिहरु हामीले आफ्नो कक्षामा पनि प्रयोग गर्दा हामी कहिल्यै पनि सानो बन्दैनौ बरु आफ्नो पेशा प्रति अझै दक्ष, पूर्ण र पोख्त हुन्छौँ । तसर्थ खाली समयमा त्यत्तिकै बसेर मूल्यवान समयलाई खेर फाल्नु भन्दा केहि समय निकालेर, सहपाठीहरुकै मिलेमतोमा एक अर्काको कक्षा अवलोकन गर्ने, राम्रा तथा सुधार गर्नु पर्ने पक्षहरुको टिपोट गर्ने, आफुसँग भएका केहि रणनीतिहरुलार्ई सहपाठीसामु राख्ने, आफ्नो शिक्षण कसरी अझै राम्रो र उत्कृष्ट बनाउने भनेर सल्लाह माग्ने जस्ता कायहरु क्रमिक रुपमा गर्दै जाउँ केही हदसम्म भएपनि हामी पेशागत विकासमा फड्को मार्न सफल हुनेछौं । सहपाठी अवलोकनका अन्य केही फाइदाहरु पनि छन् ।

–एक अर्काबीच शैक्षणिक समस्या र मुद्दाहरुको बारेमा छलफलको अवसर जुट्छ ।
–अन्य शिक्षकहरुले के कसरी शिक्षण गरिरहेका छन् भन्ने कुराको जानकारी हुन्छ ।
–सहपाठीहरुबीच आत्मियता र साथित्वको भावनाको विकास हुन्छ ।
–शिक्षणमा फरकपना भित्र्याउन सहयोग पुग्छ ।
–शिक्षणमा सहयोग र सल्लाह लिने र दिने बानीको विकास हुन्छ ।
–सहपाठीले भित्र्याएका नवीन विधि, सामग्री र धारणालार्ई अनुसरण गर्ने अवसर मिल्छ ।

कार्यमुलक अनुसन्धान गर्ने बानी बसालौं
शैक्षणिक क्षेत्रमा कार्यमुलक अनुसन्धानलार्ई कक्षाकोठा अनुसन्धान पनि भन्ने गरिन्छ । हामी सबै शिक्षकहरु शैक्षणिक समस्याबाट अछुतो छैनौं । शिक्षणको क्रममा देखापरेका समस्यालार्ई बेवास्ता गर्नुभन्दा वास्तविक कारण र निदानहरुका लागि सूक्ष्म अनुसन्धान आवश्यक पर्दछ जसबाट स्वतः पेशागत विकासमा सकारात्मक लाभ हुन्छ । सामान्यतः हामीले सबै समस्याहरु एउटै विधिबाट शिक्षण गर्छौं विद्यार्थीले बुझे या बुझेनन्, त्यसको हेक्का गर्दैनौं । तर अब यस्तो दैनिकीले हाम्रो पेशागत स्तर माथि उठ्न सक्ने छैन । त्यसैले यसलार्ई परिवर्तनको खाँचो छ, जुन काम कार्यमुलक अनुसन्धानबाट मात्र सम्भब छ । तसर्थ, हामीलार्ई कक्षाकोठामा आइपरेका शैक्षणिक समस्याहरुलाई हाम्रै पहलमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सबैभन्दा पहिले के गर्ने, कसरी गर्ने, कुन विधि कुन सामाग्री को साथमा प्रयोग गर्ने, क–कसको सहयोग लिने आदि कुराहरु समेटेर सर्वप्रथम योजना बनाऊँ, त्यसपछि योजना अनुरुप शिक्षण कार्य गरौं । कार्यको प्रभावकारिता अवलोकन गरौं ।

समस्या समाधान भए त्यही प्रक्रियामा जोड दिऔं र नभएको खण्डमा फेरि अन्य विकल्पसहितको पुनः योजना बनाई अवलोकन गरौं, जुन कार्यमूलक अनुसन्धानको वास्तविक रुप हो । यस्ता खालका सूक्ष्म अध्ययन तथा अनुसन्धानमूलक कार्यबाट एकातिर शैक्षणिक समस्या समाधानका नयाँ तथ्य पत्ता लागि अपेक्षित उपलब्धिहरु सफलतापूर्वक हासिल गर्न सकिन्छ भने अर्कोतिर शिक्षक एक सफल अनुसन्धानकर्ताको रुपमा उभिन सक्छ जुन उसको पेशागत विकाससँग प्रत्यक्ष रुपमा जोडिएको छ । अत, अबका हामी शिक्षकहरु यथास्थितिबाट माथि उठ्नका लागि, हाम्रो पेशामा अझै अब्बल ठहरिनका निम्ति र समयको माग अनुसार हाम्रो पेशालाई परिमार्जित गर्दै लैजान अनुसन्धानात्मक तथा सिर्जनात्मक कार्यमा लाग्नुपर्ने अनिवार्य भएको छ । यस्ता कार्यका अन्य केही फाइदालाई निम्न बुँदाबाट प्रष्ट पार्न सकिन्छ ।

    आफ्ना अभ्यासहरुको आफैले अवलोकन र मूल्याङ्कन गर्ने मौका मिल्दछ ।
    सहकार्यात्मक प्रक्रिया भएकाले सहपाठीसगँ सञ्चार क्षमताको विकास हुन्छ ।
    शिक्षण विधि, प्रक्रिया, सामाग्री र समग्र विद्यालयलाई परिवर्तित गर्ने अवसर हुन्छ ।
    शैक्षिक समस्या, मुद्दा र चासोका विषयमा खोज गर्ने बानिको विकास हुन्छ ।
    शिक्षणसँग सम्बन्धित नयाँ–नयाँ तथ्य फेला पर्छन् ।
    यो शिक्षकले गर्दै जाँदा सिक्दै जाने प्रक्रिया पनि हो ।

शिक्षणसँग सम्बन्धित सभा, सम्मेलन, बैठक, गोष्ठी, सेमिनार, वर्कसप आदिमा सक्रिय सहभागिता जनाऔं
हामी अधिकांश शिक्षकहरु शिक्षण गर्ने शिलशिलामा कक्षाकोठामै समित भइरहेका छौं र विद्यालय बाहिर हुने शैक्षिणिक सभा, छलफल, तालिम र वर्कशपहरुमा बिरलै उपस्थिति जनाएका छौं । फलस्वरुप पेशागत विकास मा असफल भएका छौँ । हामीलाई हाम्रो त्यही सिमित कक्षाकोठा र विद्यालय प्यारो लागिरहेको छ तर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पढाउने र पढ्ने शैलीमा भएका परिवर्तनहरुको बारेमा अनविज्ञ छौं । थुप्प्रै सरकारी र गैरसरकारी संघ–संस्थाहरुबाट समय–समयमा शैक्षणिक तालिम, सभा, गोष्ठी र छलफलहरु सञ्चालन हुँदै आएका छन् तर हामी सहभागिताप्रति कम चासो दिएका छौं । खासगरी, शैक्षणिक सम्मेलनमा भाग लिनाले शिक्षण र यसका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका अभ्यासहरुको बारेमा जानकारी हुन्छ अनि राम्रा अभ्यासहरुलाई अवलम्बन गर्न सकिन्छ ।

शिक्षणको क्षेत्रमा भएका र देखा परेका नयाँ–नयाँ विधि, सामाग्री, चुनौती, मुद्दा र अभ्यासहरुको छलफल तथा प्रस्तुति यस्ता सभा र सम्मेलनमा हुने हुनाले हाम्रो पेशागत क्षेत्रमा नवीनता भित्र्याउन सकिन्छ । अर्कोतर्फ यस्ता बैठक, तालिम र सेमिनारमा भाग लिनाले हाम्रो व्यक्तित्व विकास हुनुका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुसँग भेट हुन्छ र उनीहरुका अनुभव तथा अभ्यासहरु प्रत्यक्ष महशुस गर्ने अवसर हुन्छ । अनि एकअर्काबीच सहसम्बन्ध स्थापित हुन्छ । फलस्वरुप पेशागत स्तर माथि उठाउन सकिन्छ । जस्तै अंग्रेजी शिक्षकहरुको पेशागत विकासका लागि वार्षिक रुपमा हुने ल्भ्ीत्ब् सम्मेलन एक उदाहरण हुन सक्छ जहाँ भाग लिनाले अंग्रेजी शिक्षणसम्बन्धी सयौं प्रस्तुतिमा सहभागी हुन सकिन्छ, जुन पेशागत विकाससँग प्रत्यक्ष सम्बन्धित हुन्छन् । तसर्थ हाम्रो पेशामा समयको माग अनुसारको स्वाद ल्याउनको लागि समयको उचित व्यवस्थापन गरि शैक्षणिक सभा, सम्मेलन, बैठक, तालिम र वर्कशपमा सक्रिय सहभागिता जनाऔं ।

सूचना र प्रविधिलाई शिक्षणमा अत्याधिक प्रयोग गरौं
हामी सबै शिक्षकहरु कुनै न कुनै रुपमा सूचना र प्रविधिसँग जोडिएका छौं । हामी सबैसँग फेसबुक एकाउण्ट छ, सबैले मोबाइल फोन प्रयोग गर्छौं, युटुबमा सधैं नयाँ–नयाँ भिडियोहरु हेर्छौं र मोबाइलमा आफ्नो स्वर पनि रेकर्ड गर्छाैं । तर, कहिल्यै पनि यी कार्यहरुलाई हामीले शिक्षणसँग जोडेर हेर्न सकेनौं र त पेशामा अब्बल ठहरिन पनि सकेनौं । अब शिक्षण पूरै प्रविधिमुखी भएको छ र प्रविधिसँगको शिक्षण अति सान्र्दभिक हुने तर्कहरु सत्य सावित भएका छन्् । अब चक र डस्टर मात्र समातेर कक्षामा जाने दिनले हामी माझ विदा लिइसकेका छन् ।

बरु, यसको सट्टा ल्यापटप प्रयोग गरी पावर प्वाइन्टद्वारा शिक्षण गर्ने प्रचलन भित्रिएको छ । प्रवचन विधिलाई प्रतिस्थापन गर्दै थुप्रै अडियो र भिडियोसहितका विधि हरु इन्टरनेटमा राखिएका छन् जुन तुलनात्मक रुपमा प्रवाभकारी पनि छन् । शिक्षक साथीहरु, अब पनि यो ‘ग्लोवोलाइजेसन’ अर्थात् विश्वव्यापीकरणको युगमा हामीले हाम्रो पेशालाई प्रविधिसँग जोड्न सकेनौं भने हाम्रो पेशाको गुणस्तर शून्य ठहरिन कत्तिपनि बेर लाग्दैन । इन्टरनेट हाम्रो पेशागत विकासको एक मुख्य स्रोत सावित भएको छ जसबाट असंख्य सामग्रीहरु प्राप्त गर्न सकिन्छ । तर, विडम्बना हामीले इन्टरनेटलाई फेसबुक चलाउने, युट्युबबाट भिडियो हेर्ने र नानाथरी खेलहरु डाउनलोड गर्ने माध्यमका रुपमा मात्र प्रयोग गरिरहेका छौं । अतः पेशागत विकासमा सफल छैनौं । आउनुहोस अब फेसबुकमा के छ, खाना भो, के गर्दै जस्ता अनावश्यक गफ गर्न भन्दा एउटा फेसबुक ग्रुप बनाऔं, विद्यार्थी र सहपाठीलाई समाबेश गरी पढ्ने, पढाउने र सिक्ने कुरा गरौँ ।

आ–आफ्ना पेशासँग सम्बन्धित तर्क, विचार, अनुभव, तथ्य, सूत्र, जानकारी र सूचना लाई त्यहि गु्रपमा पोष्ट गरौं र बहश गरौँ केही हदसम्म हाम्रो पेशामा गुणस्तरको मात्रा पक्कै पनि बढ्नेछ । त्यसैगरी युट्युबलाई पनि शिक्षणसँग सम्बन्धित भिडियो हेर्न र डाउनलोड गर्न प्रयोग गरौं । हामी प्रत्येकसँग मोबाइल सेट छ तर त्यसलाई शिक्षणमा प्रयोग गर्न सकेनौं । अंग्रेजी शिक्षणमा सुनाइ सीप पढाउँदा सामग्री छैन, परीक्षामा आउँदैन, पढ्न पर्दैन भन्दै छाडिदिएका छौं तर गोजीमा भएको मोबाइल सेटमा ‘लिसेनिङ टेक्स्ट’लाई आफ्नै आवाजमा रेकर्ड गरेर सुनाउनसमेत सकेका छैनौं । अब हामी आफैं अनुमान गरौं त, हामीले हाम्रो पेशा कत्तिको प्रविधिमुखी बनाएका छौं ? तसर्थ शिक्षणमा प्रविधिको समुचित प्रयोग गरी हाम्रो पेशालाई आजैबाट प्रभावकारी, सफल, र समय अनुकूल बनाऔं ।

निष्कर्ष
हाम्रो शिक्षण पेशामा पेशागत बिकास ल्याउनको लागि माथि उल्लिखित छ वटा रणनीतिहरु मात्र पूर्ण छैनन् । यसका अतिरिक्त आत्मनिर्देशन, शिक्षकको उपलब्धि संग्रह (पोर्टफोलियो)को निर्माण, घटना अध्ययन, सामुहिक शिक्षण आदि विधिहरु पनि पेशागत विकासका लागि उत्तिकै उपयोगी छन् । शिक्षक साथीहरु ! यदि हामीसँग हाम्रो पेशालाई अब्बल, गुणस्तर र सान्दर्भिक बनाउने दृढ इच्छाशक्ति मनैबाट छ भने पेशागत विकास पक्कै पनि सम्भव छ । तसर्थ, आजैबाट सकारात्मक सोंचका साथ माथि उल्लिखित रणनीतिहरुलाई आत्मसाथ गर्दै पेशागत विकासको मार्गतिर लाग्ने कि ?

(बागलुङ काँडेबास ३ गलकोटस्थित श्री शिव माध्यमिक विद्यालयका का शिक्षक हुनुहुन्छ ।)

प्रतिकृया दिनुहोस्