२०७६ मंसिर ४ गते

शिक्षक नेता तिलक कुँवरलाई एकजना शिक्षकको खुला पत्र


भुवन सुवेदी
राष्ट्रिय मावि, पोखरा लेखनाथ महानगर पालिका १, कास्की

 


आदरणीय शिक्षक नेता, अभिवादन ।


यहि मिति २०७४ साल भाद्र ८ गते चर्चित अनलाइन पत्रिका एजुकेशन पाटीमा प्रकाशित लेख पढिसकेपछी प्रतिक्रिया स्वरुप यहाँलाई केही प्रश्न राख्ने जमर्को गरे, अन्यथा भएमा अग्रिम माफी चाहन्छु ।


तपाईं अहिले तमाम शिक्षकहरुको नेता हुनुहुन्छ । मेरो बुझाइमा यहाँको अहिलेको हैसियत सानो त्याग र तपस्या मार्फत पक्कै प्राप्त भएको होइन । तपाईको दक्षता क्षमताको अतिरिक्त, हजारौं शिक्षकहरुले एकमाथि अर्को खप्टिएर निर्माण गरेका हजारौं खुड्किला चढेर नै नेपाल शिक्षक महासंघको एक जिम्मेवार नेता बन्नु भएको पक्कै हो ।


यो यात्राको दौरानमा थुपै शैक्षिक आन्दोलनमा विभिन्न भुमिका निर्वाह पनि पक्कै गर्नुभयो । यद्यपि तपाईंको हालसालै प्रकाशित लेख पढ्दा कटु यथार्थतालाई सभ्य रुपमा मीठो भाषा शैलिको प्रयोग गरि बङ्गयाएर दोष जति सबै अरुतिर फ्याकि शिक्षक महासंघको भुमिकालाइ उत्कृष्ट रुपमा प्रस्तुत गर्न खोज्नु भएको रहेछ। यहि बिषयले भित्र भित्र काउकुती लागि दुई चार अक्षर कोर्न बाध्य भए ।


तपाइँको लेखले आरोपित गरेका विभिन्न पक्षहरु जस्तै शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोग र अस्थायी शिक्षकको नेतृत्व समेत अस्थायी शिक्षक व्यवस्थापनको अन्योलग्रस्त परिस्थिति निर्माणमा अछुतो छैनन् । केही प्रतिशत हिस्सा यी पक्षहरुमा बाढिनुपर्ने कुरामा म पनि सहमत छु । तर पनि शिक्षक महासंघलाई पानी माथिको ओभानो बनाउन खोज्नु भएको प्रयत्नलाई बिरलै शिक्षक एबम सरोकारवालाहरुले पत्याउलान् ।


मेरो बुझाईमा शिक्षक महासंघ भनेको विभिन्न प्रकृतिका शिक्षक कर्मचारीहरुको संयुक्त सङ्गठन हो । समग्र शैक्षिक क्षेत्रका विकृति र बिसङ्गतिलाई सुधार्नको लागि सरोकारवाला संघसस्थालाई घच्घच्याउन, सबै प्रकृतिका शिक्षक र कर्मचारीहरुका पेशागत हक हितका सवालमा आवाज उठाउन र सरोकारवाला मैत्रीनीति निर्माण गर्न समुह समुहमा विभाजित भएर भन्दा एकै ठाउँमा गोलबन्द भई संयुक्त प्रयत्न गर्दा उपयुुक्त हुन्छ भन्ने मान्यताका साथ तत्कालीन तिन वटा छाता संगठनहरु नेपाल शिक्षक युनियन, गणतान्त्रिक शैक्षिक मञ्च र मधेसी शिक्षक युनियनको एकता गरि नेपाल शिक्षक महासंघगठन गरिएको हो । यसमा आवद्ध–सम्बद्ध संघसंगठनहरु मात्र नभई सम्पूर्ण सरोकारवालाहरुका जुनसुकै पेशागत बिषयमा औपचारिकता नखोजी सहयोग गर्नु यसका नेताहरुको दायित्व हो ।

यहाँको लेखले दावा गरे अनुसार अस्थायी शिक्षक व्यवस्थापन सम्बन्धि मुद्दा सर्बप्रथम तत्कालीन शिक्षक युनियनले उठाएको थियोे । जसमा शिक्षक सेवा आयोग मार्फत अस्थायी शिक्षकहरुको परीक्षा लिने, सफल उम्मेदवारलाई स्थायी गर्ने र असफललाई उपचार खर्चलगायत आर्थिक सुविधा दिने माग थियो । तर, सरकारले बेवास्ता गर्यो । यदि हजुरको कुरा सत्य हो भने त्यो महत्वपूर्ण मागलाइ सम्बोधन गराउन तत्कालीन युनियन र हालको महासंघमार्फत के कस्ता विरोधका कार्यक्रमहरु सञ्चालन गरिए ?

दोस्रो कुरा तपाईहरुले उठाएको र राज्यले सम्बोधन नगरेको बिषय लिएर अस्थायी शिक्षकहरुले सञ्चालन गरेका बिरोधका कार्यक्रमहरुलाई सफल पार्न सम्पूर्ण शिक्षकहरुलाई औपचारिक अपिल गर्न किन सक्नु भएन ? किन तपाईंहरुका अभिव्यक्ति अस्थायी शिक्षक आन्दोलनका बिरुद्दमा आए ? यी प्रश्नहरुको जवाफ समयले यहाँहरुसँग माग्ने छ ।


तेस्रो कुरा, तपाईको लेखले शिक्षक महासंघको रोहवरमा भएको आन्दोलनरत अस्थायी शिक्षक र सरकारबीच भएको गत असार नौ गतेको चार बुँदे सहमतिको समेत स्वामित्व लिन खोजेको देखियो तर त्यसको मसी नसुक्दै तपाईहरुका अभिव्यक्ती किन त्यसको विरुद्ध आए ? त्यसको कार्यान्वयनको निमित्त के कस्ता दबाव मूलक कार्यक्रमहरु गर्नु भयो ?


चौथो कुरा, यहाँले अस्थायी शिक्षक आन्दोलन विधि सम्वत भएन र सहयोग गर्न नैतिक संकट पर्यो भनि आरोप लगाउनु भयो । के तपाईहरुले विगतमा गरेका आन्दोलनहरु विधि सम्वत थिए? विद्यमान नीति नियम र परिधिलाई हु–बहु मानेर आन्दोलन गर्न सम्भब छ ? यसको निमित्त यहाँहरुले आफ्नो बिगतलाइ राम्ररी पुनराबलोकन गर्न जरुरी छ ।


म सबै अस्थायी शिक्षक सहि छन, दुधले नुहाएका छन, इतिहासको कालखन्डमा यीनीहरुले केही गल्ती गरेकै छैनन भनेर दावा गर्ने पक्षमा छैन । कतिपय यिनिहरुका मागहरु पनि तत्काल पूरा गर्दा दिर्घकालिन समस्या पार्ने होलान तर पनि शिक्षकहरुको नेताको हैसियतले तपाईंहरु अस्थायी शिक्षकहरु अनसन बसेको ठाउँमा गएर आन्दोलनलाई सुझाव दिएर सहि माग प्रति ऐक्यवद्धता जनाउन किन सक्नु भएन ? के समग्र शिक्षकहरुका नेतागणहरुलाई अस्थायी शिक्षकका अगुवा हरुले उचित सम्मान दिएनन् ?

पाचौँ कुरा, तपाईंको लेखमा शिक्षामन्त्री तिर तेर्साउनु भएका प्रश्नहरु समस्त अस्थायी शिक्षकहरुले अधिकांश प्रश्नहरु शिक्षक महासंघप्रति सोझ्याउने वाला छन र त्यसको जवाफ तपाईं स्वयमले दिनु पर्नेछ किनकी तपाईं एउटा शिक्षक महासंघको जिम्मेवार नेता हो र तपाईका अभिव्यक्तिहरु विभिन्न पत्रपत्रिकाहरुमा छपिएका छन् । समग्र शिक्षकको हकहित र अधिकारका खातिर स्थापित सयौ शिक्षक संघसंगठनहरुले अस्थायी शिक्षक आन्दोलनलाइ खासै महत्व दिएको पाइएन र सांगठनिक आधिकारिक धारणा समेत सार्वजनिक गरेको देखिएन ।


दुई जना शिक्षकहरुले अनसन बस्दाबस्दै आत्म दाह गरेको भए समग्र ट्रेड युनियन आन्दोलनमाथि कस्तो दुरगामी असर पर्दथ्यो भन्ने बिषयमा कसैको ध्यान देखिएन । आमरण अनसन स्थगनको उत्तरार्ध तिर एकीकृत अखिल नेपाल शिक्षक सङगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले सार्वजनिक गरेको सांगठनिक धारणा मर्म स्पर्शी थियो, यद्यपि उहाँहरुको भुमिका पनि समिक्षाको विषय बन्ला ।

अहिलेको विषम परिस्थितिमा शिक्षक महासंघको जिम्मेवार नेताको दोहोरो भुमिका झन् खतरनाक हुन्छ । यदि अस्थायी शिक्षकको विद्यमान समस्या समाधानको दिशातिर गयो भने हाम्रो पनि सहयोग थियो भन्ने तर कथम कदाचित धोका भयो भने अपजस जति अरुतिर पन्छाउने प्रवृत्तिले कहिल्यै पनि समाधान को बाटो तर्फ लैजान सक्दैन । अतः शिक्षक महासंघले आफ्नो हालसम्मको भुमिकालाइ समीक्षा गरि यो अन्योलग्रस्त परिस्थितिलाई सहि निष्कर्ष लैजान अग्रणी भुमिका खेल्नु पर्ने अहिलेको आवश्यकता हो । यदि अस्थायी शिक्षक, राहात शिक्षक, निजिबिध्यालयका शिक्षक, निजी स्रोतका शिक्षक एवं विद्यालय कर्मचारीहरुले आफ्ना हक अधिकारका लागि आफै–आफै आन्दोलन गर्नु पर्ने परिस्थिति सृजना भयो भने शिक्षक महासंघमा मात्र सिमित हुने कुरामा यहाँहरु पक्कै अनविज्ञ हुनुहुन्न । यति बिषयबस्तुहरु राख्दै आजको संक्षिप्त पत्र बिट मार्ने अनुमती चाहन्छु । धन्यवाद।

भुवन सुवेदी
पोखरा लेखनाथ महानगरपालिका–१, कास्की ।

Comments: