२०७६ कार्त्तिक २७ गते

को सक्षम ? को असक्षम ?


(मनोवाद)


भुवन सुवेदी


(रातको ११ बजेको समय ,बिस्तारामा पल्टदै गरेको अवस्था )

ओहो ..... सुतेको पनि आधा घण्टा भैसक्यो, किन निद्रा पर्दैन । दिनभरि पढाउँदा थकाइ पनि बेस्सरी लागेकै छ । पढाउन पनि थोरै परे पो हुन्छ, बिहान ६ बजे देखि पढाउन थालेको दिउँसो ४ बजेसम्म निरन्तर पढाएको पढाई गर्नुपर्ने मेरो दैनिकी नै छ । कस्तो पेशामा प्रवेश गरेछु, धिक्कार लाग्न थाल्यो आजकल त ? जति धेरै मिहिनेत गरे पनि, जति धेरै प्रयत्न गरेपनि, जति धेरै संघर्ष गरेपनि जिन्दगीमा उमेर बढाउने र परिवार संख्या बढाउने बाहेक केहि प्रगति गर्न सकिन मैले ।

(लामो सुस्केरा......उस्स्स्स्स्स्..............)

ओहो.......कति बर्ष भएछ मैले पढाउन थालेको ? २०५७ सालमा एसएलसी दिएको हो............परिवारको आर्थिक अवस्था मजबुत नभएको कारण पास भएपछि गाउँकै उच्च मावि पढेँ । शुभ चिन्तक र आफन्तको आग्रहमा अङ्ग्रेजी बिषय लिएर पढेँ । गाउँमा अङ्ग्रेजी शिक्षकको अभाव भइरहने कारण सबै मेरो भलो चाहनेहरु मबाट त्यही अभाव पुर्ति गर्ने अपेक्षा गर्नुहुन्थ्यो । पढेँ ....मेहनत गरेरै पढेँ, पास पनि गरे सबैको भन्दा उच्च अङ्क ल्याएर । तर पनि मेरा समस्याहरु कहिल्यै घटेनन्..... बढेका बढ्यै गरे ।

मनभित्रका दुईवटा तिब्र इच्छा (एउटा धेरै पढ्ने र अर्को धेरै पैसा कमाउने)हरुले कहिल्यै सुख दिएनन् जिन्दगीमा । के सोचिन मैले ? अरब जाने, कतार जाने, मलेशिया जाने मेरा धेरै छिमेकीहरु र सहपाठीहरुलाई देख्दा पटक–पटक त्यतै गएर टन्न पैसा कमाउन मन नलागेको पनि होइन । तर पढाईको प्यास अलपत्र पर्ने भयले ......त्यो निर्णय गरिन मैले । त्यसपछि शहर पस्ने, क्याम्पस भर्ना गर्ने, जागिर खोज्ने निर्णय अनुसार नजिकैको शहरमा गइ स्नातक तहमा भर्ना गरेँ । योग्यता अनुसार पारिश्रमिक नपाउने गरि सरकारी विद्यालयको निजीस्रोतको शिक्षक पनि बनेँ । शहरमा जीवन निर्वाह गर्ने आधार बन्यो, खुशी थिएँ त्यो बेला ।

(ओहो कुकुर पनि के साह्र्रो भुकेका हुन.......भौउँ.भौउँ.. भौउँ ...झ्यालबाट बाहिर निहाल्दै गर्दा चकमन्न अँध्यारो हुन्छ । )

तत्कालीन समयमा म स्थायी शिक्षक होइन भन्ने चिन्ता पटक्कै थिएन । विद्यार्र्थीहरुको, अभिभावकको र सहकर्मी साथीहरुको प्रतिक्रियाले उत्साहित बन्थेँ । सबैजना मलाई राम्रो पढाउने शिक्षक भन्नुहुन्थ्यो.......छोरा छोराछोरी, भाईबहिनी ट्युसन पढाउन आग्रह गर्नु हुन्थ्यो । सो समयमा पनि मलाई मेरो पेशा प्रमुख र अध्ययन दोस्रो बन्छ कि भन्ने त्रास थियो । मलाई शिक्षण पेशा शुरु गरेको करिब डेढ बर्ष बितेपछि सोही पेशा भित्र अर्को अवसर प्राप्त भयो, निजी विद्यालयको शिक्षक बन्ने ।


पहिलेको भन्दा झण्डै दोब्बर तलब पाएपछि अझै उत्साहित बन्दै गएँ । सो विद्यालयमा ५ वर्ष अध्यापन गराउँदा आफुलाई प्राथमिक तहको शिक्षकबाट माध्यमिक तहको शिक्षक सम्म स्तरोन्नति गर्न सकेँ । हरेक वर्ष विद्यालयका सञ्चालकले सेवासुविधा र तह बढाउँदै गर्दा उत्साह थपिदै जान्थ्यो । सो अवधिमा पनि अध्ययनलाई कहिल्यै छाड्न मानिन, रातको समयलाई अध्ययनमा लगाउँदै गएँ । जसको फलस्वरूप कुनै तहमा पनि अनुत्तीर्ण बन्नु परेन, सरासर स्नातकोत्तर तहसम्म पास गरेँ । जब स्नातकोत्तर तह उत्कृष्ट अङ्कका साथ पास  गरेँ, मलाई सरकारी विद्यालयको शिक्षक बन्ने अर्को अवसर प्राप्त भयो । एउटै विद्यालयमा दिवासत्रमा माध्यमिक र बिहानी सत्रमा उच्च मावि तह पढाउन थालेँ । अब पारिवारिक खर्च चलाउन अलि सजिलो बन्दै गयो । विद्यालय प्रशासन, सहकर्मी साथीहरु, अभिभावक, विद्यार्र्थीहरु सबैको प्रतिक्रियाले निरन्तर उत्साह थपिँदै गयो । विद्यालयबाट र जिल्ला शिक्षा कार्यालयबाट उत्कृष्ट नतिजा र कार्यसम्पादनको लागि पटक–पटक पुरस्कृत पनि बनेको छु ।

(के सार्हो गार्हो भयो निद्रा पर्न पनि........कोल्टे फेर्दै.......सुत्छु भो । बाहिर पानी परिरहेको छ ....दर्.दर्.दर् .. भित्ते घडिले १२ बजाई सक्यो)

पहिलो पल्ट २०६८ सालमा शिक्षक सेवा आयोगको खुला प्रतियोगितात्मक परीक्षामा सामेल हुने अवसर पाएँ........असफल हुने कल्पना नै गरेको थिइन । तर जिन्दगीले पहिलो पल्ट असफल बनायो । तर, पनि मेरा अधिकांश मित्रहरु पनि म जस्तै असफल भएका र सिमित सफल साथीहरु पनि अपायक विद्यालयमा पोष्टिङ भइ दुःख पाएको प्रत्यक्ष देख्दा मन बुझाउन थोरै सजिलो बन्यो । शिक्षक सेवा आयोगले पुनः अर्को खुला प्रतियोगितात्मक परीक्षा २०७० सालमा तोक्यो, तर विडम्बना सोही समयमा म शारीरिक रुपमा अस्वस्थ बन्न पुगेँ । आकस्मिक रुपमा ज्वरो र टाइफाईडले हस्पिटलमा भर्ना भएर बस्नु परेको र औषधि सेवन अवधि भित्र परीक्षामा सामेल हुनु पर्ने परिस्थितिले पुनः जिन्दगीमा दोस्रो पटक असफल बन्न पुगेँ । साह्रै दुःख लाग्यो, आफ्नो परिस्थिति र भाग्यलाई धिक्कार गर्न थालेँ ।


शिक्षण पेशालाई निरन्तरता दिँदै गर्दा यसका विकल्पका रुपमा पेशा परिवर्तनका, बिदेश पलायनका तुफानहरु दिमाग भित्र मडारिन थाले । तुफानले कुनै रुप र आकार नलिँदै देशमा शिक्षा ऐनको आठौं संशोधनको चर्चा चल्यो । अस्थायी शिक्षक व्यवस्थापन सम्बधी बिषय पनि जोड्तोड्का साथ उठे । फेरि आस पलाउन थाल्यो.......पेशागत रुपमा स्थायी बन्छु की भनेर । शिक्षक सेवा आयोगको आन्तरिक परीक्षाको मिति तोकियो, मिहिनेत गरेर पढ्न थालेँ ।
काठमाडौंमा अस्थायी शिक्षकको आन्दोलन चल्यो, अस्थायी शिक्षक साथीहरू संशोधित ऐनमा भएको अन्यायपूर्ण र विभेदकारी बुंदालाई सच्याउन आमरण अनसन पनि बस्नु भयो । यो अवधीभर द्विविधामै रहेँ..... एकमनले परीक्षा दिन पाए जीवनको अन्योलता हट्थ्यो होला जस्तो लाग्यो, फेरि अर्को मनले आफू जन्मेको देशको सरकार र नीतिनिर्माता विरुद्ध आन्दोलनमा सहभागी बनौँ जस्तो लाग्यो ।


दुबै अन्यौलताको बीचमा रही प्रत्यक्ष संलग्न नभई पेशागत आन्दोलनको पक्षमा २/४ अक्षर कोर्दै गएँ । नेपाल सरकार अन्तर्गतको शिक्षा मन्त्रालय, शिक्षा विभाग, समग्र शिक्षकहरुको छाता संगठन शिक्षक महासंघ र अस्थायी शिक्षक आन्दोलनका अगुवाहरु बीच चारबुंदे सहमति बन्यो ।


फेरि आशा र निराशाको भुमरीमा परिनै रहँ । समय भाद्र ३ हुँदै १० सम्म आइपुग्दा मनभित्र अनेकौ शङ्का–उपशङ्का उत्पन्न भए । चारबुंदे सम्झौताका हस्ताक्षर कर्ताहरुका अभिव्यक्ति सामाजिक संजालमा छरपस्ट थिए ।


कोही अस्थायी शिक्षकलाई घोक्रेठ्याक लगाएर पेशाबाट गलत्याउन पर्छ र नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्दै थिए भने कोही मसिनो स्वरमा अस्थायी शिक्षकको व्यवस्थापन उचित तवरबाट गरिनु पर्छ भन्दै थिए ।


संसद भित्र पनि यस्तै प्रकृतिका छलफल एवं वादविवादले आजको मितिसम्म शिक्षा ऐनको नवाँै संशोेधन अलपत्र अवस्थामा छ ।


हालको परिस्थितिको कारण सायद यस प्रकृतिको दोधार, अन्यौल एवं तनावपूर्ण अवस्थामा सबै अस्थायी शिक्षक साथीहरु हुनुहुन्छ होला । सायद सबै साथीहरूको मन भित्रै देखि दुखेको हुनुपर्छ .......अहिले आफुले बडो मिहिनेत गरेर पढाएको विद्यार्र्थी आफ्नै गुरुलाई असक्षम घोषणा गर्दै छ । यो अवस्था कसले सृजना गर्यो ? यसको दोषी को ?......

( सुनसान तर चकमन्न अन्धकार छ बाहिर ... उफ.......अझै निद्रा परेन भित्ते घडिले पौने एक बजाई सक्यो)

आजभोलि शैक्षिक गुणस्तरको कुरा गर्दा सबैले किन बिर्सेका होलान् एउटा पक्ष....... पहिले पहिले सबै बिषयमा उत्तीर्ण भएपछी मात्र क्याम्पस पढ्न पाइन्थ्यो ।


अब्बल विद्यार्र्थीहरुको आकर्षण शिक्षण पेशातिर हुन्थ्यो..........तर आजभोलि हरेक बिषयमा हुने प्रयोगात्मक परीक्षाले विशिष्ट श्रेणी, प्रथम श्रेणी धेरै सजिलो बनिसक्यो........झन अक्षराङ्कन पद्धतिले त सबै विषयमा उत्तीर्ण नभए पनि उच्च शिक्षा पढ्न मिल्ने अवस्था बनाइदियो । समग्रतामा अब्बल एवं मध्यम क्षमताका विद्यार्र्थीहरुको रोजाइमा शिक्षा शास्त्र संकाय बिरलै पाइन्छ । तर पनि सबैतिर नयाँ पुस्ताको प्रवेश गराई शिक्षा क्षेत्रको आमूल परीवर्तन गर्ने वाणीहरु गुञ्जिरहन्छ्न । सबै भन्दा पहिले उच्च एवं मध्यम क्षमताका विद्यार्र्थीहरुलाइ शिक्षा शास्त्र संकाय तर्फ आकर्षण गर्ने नीति निर्माण गर्नु पर्छ की पर्दैन ? यसको निमित्त शिक्षण पेशालाई मर्यादित बनाउनु पर्छ कि पर्दैन ?

कसले हो सोच्ने यी याबत् पक्षहरूको बारेमा ? नीति निर्माताहरु के सोचेर बस्छन होला ? कस्तो भविष्यको कल्पना गर्छन् होला ? के सक्षम शिक्षक बन्न अनुभवको जरुरत पर्दैन ? के शिक्षक छनौटको विधी १०० पुर्णाङ्कको लिखित परीक्षामात्रै हो त ? समयअनुकुल नवीनतम् ज्ञान, सीप र सूचना प्रविधि प्रयोगको क्षमता कसरी मापन हुन्छ होला ? सैद्दान्तिक ज्ञानको अतिरिक्त प्रयोगात्मक ज्ञान परिक्षण गर्नु पर्छ कि पर्दैन होला ? हाम्रा मन्त्रीहरु, शिक्षाविदहरु, नीति निर्माताहरु विदेश भ्रमण गरिरहन्छन्....तर अन्य देशका सकारत्मक अभ्यासहरु किन नेपालमा प्रयोगमा ल्याइँदैन ? उस.........रात पनि निक्कै नै छिप्पिइसक्यो । भोलि बिहान पढाउन जानू पर्छ जसै........

ओहो ... भित्तेर घडी तिर हेर्दै ...साढे एक बजिसकेछ । यो प्रकारको शैक्षिक विकृतिको बारेमा धेरै सोच्नु बेकार छ । अब त सुत्छु...सिरक ओडेर......हाइ.. हाइ.......। एकछिन पछी ..फ्वाँ .. फ्वाँ... ‘फ्वाँ...


(सुवेदी राष्ट्रिय मावि पोखरा लेखनाथ–१, कास्कीका शिक्षक हुन् ।)
subedisaral@gmail.com

Comments: