२०७६ असोज २९ गते

बाँकेका ६ सय ७८ टोल पढाई समुहमा विदाका दिन पढाई शुरु

नेपालगञ्ज । बाँके जिल्लामा गठन गरिएका टोल पढाई समुहहरुमा विद्यालय विदाको दिन शनिवार लगायत अन्य विदामा समेत कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले पठनपाठन शुरु गरेका छन् ।

जिल्लामा गठन गरिएका ६ सय ७८ वटा टोल पढाई समुहमा शनिवार र अन्य  द्यियालयका दिनमा बालबालिकाहरुले गएर पढाई शुरु गरेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।


सामुदायिक विद्यालय र मदरसामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्दै आएका बालबालिकाको पढाईशिप बढाउन बाँकेमा ६ सय ७८ वटा टोल पढाई समुह गठन गरिएको जनाउँदै ती समुहमा बालबालिकाहरुले पढाई समेत शुरु गरेको र बालबालिकाको सहभागिता पनि उत्साहजनक देखिएको बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाले बताए ।

सहायक जिल्ला शिक्षा अधिकारी थापाका अनुसार बालबालिकाको पढाई शिप निकै कमजोर देखिएपछि सो मा सुधार ल्याउनको लागि शुरु गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत गठन गरिएका टोल पढाई समुहमा विदाका दिन पढाई शुरु गरिएको छ ।

शनिवार लगायत अन्य विदाका दिन दिनभरी खेलेर बिताउने बालबालिकाहरु अहिले टोल पढाई समुहमा आएर रमाई रमाई पढ्न थालेको राप्ती सोनारी गाउँ पालिका वडा नम्बर ५ आलिनगर टोल पढाई समुहका संयोजक मैती खड्काले बताए ।

उनले टोल पढाई समुहगठनपछि बालबालिकाको पढ्ने बानीमा समेत सुधार हुन थालेको जनाए ।

यस्तै राप्ती सोनारी गाउँपालिकाकै चाचरफर्कास्थित बालकशान्ति प्राविको सुनटेपरी टोल पढाई समुहका संयोजक राजकुमारी थारुले टोल पढाई समुहमा हरेक शनिवार र अन्य विदाको दिनमा पनि २० देखि २५ जना बालबालिकाहरु आएर २ घण्टा भन्दाबढी पढ्ने र खेल्ने गरेको बताए ।

टोल पढाई समुह गठन पश्चात अभिभावकले पनि बालबालिकाको पढाईका ध्यान दिन थालेको र बालबालिकाले पनि शनिवार मन लगाएर पढ्न थालेको राप्ती सोनारी गाउँँपालिका ४ बैजापुर जनभावना प्राविको माहु टोल पढाई समुहका संयोजक सुन्दर कली थारुले जनाए । शुरुमा घरघरमा गएर बालबालिकालाई बोलाउनु परेपनि अहिले आफै सबै आउन थालेको उनले बताए ।

पढाई शिपमा सुधारका लागि टोल पढाई समुहहरुले स्थानीय पढाई सामाग्री समेत निर्माणमा गरेका छन् । जसले गर्दा पढाइमा निकै सहजता भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।


बालबालिकाहरुको पढाई तथा सिकाईलाई प्रोत्साहित गर्ने उदेश्यले हाल स्थानीय रुपमा सबै टोल पढाई समुहहरुमा विदाका दिन निरन्तर पढाई भैरहेको र त्यसको अनुगमन समेत गरिरहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । युएसएडको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका ३ सय ५९ वटा विद्यालय र मदरसामा प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरिरहेको छ । गोरखापत्रमा खबर छ ।

Comments: