२०७६ भदौ २ गते

साक्षर र शिक्षितः बन्ने के हो ? बनाउने के हो ?


डा. विद्यानाथ कोइराला


शाब्दिक स्पष्टता
साक्षरका तीन गुण हुन्छन् । लेखपढ गर्न सक्ने । विषयगत ज्ञान हुने । उपलब्ध पुस्तक एवं पत्रपत्रिकासँग परिचित हुने । अहिले दुई गुणा थप्न खोजिएको छ । हाते सीप हुने । आजीवन अध्ययनरत हुने । समयसँगै थपिँदै गएका यी गुण आफैले आर्जन गरे स्वर्जित साक्षरता हुन्छ । स्कूल, कलेजले दिए औपचारिक साक्षरता हुन्छ । अस्थायी संरचनाले सावधिक ढंगमा दिए अनौपचारिक साक्षरता हुन्छ । यसको सिधा अर्थ हो कुरानी शब्दमा ‘इक्र’ । पढ । जसरी पढे पनि मैले चिनेको अक्षर तिमी पनि चिन । मैले हिँडेको बाटोमा तिमी पनि हिँड ।


हार्डवर्ड र प्रिन्सटन कलेजले शिक्षितहरुका ५० गुण पहिल्याए । न्यूयोर्क टाइम्समा छापिएको सो लेखले दुईवटा शब्दको प्रयोग ग¥यो । पहिलो विद्धत व्यक्ति (Learned Person) । दोस्रो शिक्षित (Educated Person) व्यक्ति । शाब्दिक ज्ञानले भन्यो निरक्षर पनि विद्धत व्यक्ति हुन्छ । स्थानीय विज्ञ । ज्ञानवाला शिक्षित भएको चाहिँ किताबी विज्ञ हो । सूसूचित विज्ञ । कागजसहितको विज्ञ ।

त्यस्तो विज्ञले आर्जेको ज्ञानलाई उत्पादनमुलक तरिकाले प्रयोग गर्छ । गर्नुपर्छ । अनुसन्धानको निक्र्यौल रह्यो – विद्धत र शिक्षितको फरक त्यहीं हुन्छ । साक्षर विद्धत । निरक्षर विद्धत । तर, शिक्षित भन्ने भनिनेले चाहिँ डिग्री आर्जन गरेकै हुनुपर्छ । डिग्रीमा आर्जिएको ज्ञान, सीप एवं अन्य क्षमतालाई उत्पादन कार्यमा लगाएकै हुनुपर्छ । शुक्रातको शब्दमा समाजलाई योगदान दिएकै हुनुपर्छ । हाम्रा पूख्र्यौली शब्दमा भन्ने हो भने शिक्षित व्यक्ति नमूना हुनुपर्छ । विनयी । आराध्य । ज्ञाता । सहयोगी ।


गरे गराइएका काम
राणाकालको उत्तरार्धदेखि नेपालले संस्थागत साक्षरता सञ्चालन ग¥यो । सात दशक लामो प्रयासले एउटै कुरा भन्यो – हामी साक्षरताभन्दा माथि उठेनौं । बरु गुणहरु थप्दै गयौं । पहिले लेखपढ (Generally Literate) गर्ने बनायौं । क्रियात्मक साक्षरता (Fuctional Literacy) हुँदा विषयगत दक्षता थप्यौं । त्यसैमा सीप थप्यौं । अहिले आजीवन शिक्षाको कुरा सोचिरहेछौं । अर्थात् हाम्रो गन्तव्य उध्र्वगामी भएन । झ्याँगियो मात्रै । न हामीले विद्धता (Learnedship) चिन्यौं । न तिनलाई शिक्षित बनाउने उपक्रम ग¥यौं । एकाध घटना भने हाम्रा लागि सुखद रहे । मूलतः समकक्षी मान्यता दिएका कार्यक्रमका उपजहरु ।


साक्षर जिल्ला घोषणा गर्ने रहरले हल्लीखल्ली त भयो । पुनः निरक्षर हुनेलाई के ? साक्षरोत्तरलाई के ? आजीवन सिक्न चाहनेलाई के ? यस्ता प्रश्नहरु भने ज्यूँका त्यूँ रहे । साक्षरता पछिका कोटे बुद्धिले सबै साक्षर र नवसाक्षरको तिर्खा मेटेन । उदासीन स्थानीय सरकारले साक्षरोत्तर कार्यक्रममा चासै लिएन । कर्मचारी संयन्त्रले यसलाई सबैको कार्यक्रम बनाउनैे सकेन । शैक्षिक संरचनाले बोक्दै बोकेन । परिणामतः साक्षरता कार्यक्रम भेलबाढी भयो । आयो हल्ला भयो । गयो शान्त भयो ।


बाँकी काम
पहिलो काम हो साक्षर एवं निरक्षर विद्धत व्यक्तिको खोजी । दोस्रो काम हो – तिनका स्थानीय विद्धताको दस्तावेज निर्माण । त्यहींका दस्तावेज । त्यहीँ आजीवन सिकाइको पाठ्यसामग्री बनाउने व्यवस्था । क्रमशः ती स्थानीय विद्धतहरुको ज्ञान र सीप आदानप्रदान गर्ने डिजिटल व्यवस्था । सुन्नेलाई सुन्ने सामग्री दिएर । पढ्नेलाई पढ्ने सामग्री दिएर । हेर्नेलाई दृश्यसामग्री दिएर । तेस्रो काम हो – शिक्षित एवं विद्धतहरुको सहकार्यमा तत्स्थानमै आजीवन सिकाइ सामग्री बनाएर । ती सामग्रीहरु उपलब्ध डिजिटल तथा नन–डिजिटल मिडियामा राखेर ।

चौथो काम हो – पढेको कुरालाई समकक्षी बनाउन पुलेसा प्याकेज निमार्ण गर्ने । यसो गर्दा व्यक्तिले आफूलाई चाहिएको पुलेसो प्याकेज पढ्छ । अनि समकक्षी हुन स्कूल तथा क्याम्पसको अपेक्षित तहको जाँच दिन्छ । प्रश्न हो – त्यति लचिलो औपचारिक शिक्षा छ त ? छैन भने बनाउने एउटा बुद्धि हो । खुला विश्वविद्यालयको कोर्स लिने अर्को बुद्धि हो । अर्को प्रश्न हो – खुला विश्वविद्यालय सञ्चालकहरु त्यसो गर्लान् त ? मर्म बुझ्ने नेतृत्व आए गर्छन् । नत्र हाम्रो काम त वीए भन्दा माथि मात्रै हो भन्न थाल्छन् । जे होस्, खुला विद्यालय र खुला विश्वविद्यालयको काम नै त्यही हो भन्ने कुराको वकालत अवश्यै गर्न सकिन्छ । पाँचौ काम हो – अनौपचारिक शिक्षाको विस्तारित उपस्थिति । जाँच लिएर । प्याकेज बनाएर । औपचारिक शिक्षाको समकक्षी बन्ने बनाउने व्यवस्था गरेर ।


निचोड
सबै साक्षरलाई शिक्षित बनाउन सकिन्छ त ? उपलब्ध संयन्त्रहरुले काम गरे सकिन्छ । स्थानीय सरकारले काम गरे त्यसले सहजै सक्छ । रकम छ ऊसँग । क्रियाशील युवा छन् । नथाकेका सेवा निवृत्त व्यक्तिहरु छन् । उर्जाशील विद्यार्थी छन् । राजनीतिक दलका खम्बा बनेर बसेका शिक्षकहरु छन् । चाहिने रहर र परिचालन क्षमता हो । रहर मनबाट आउँछ । क्षमता गरेपछि बन्छ । स्कूल छन् । कलेज छन् । ती स्थायी संरचना हुन् । स्कूल तथा कलेजले सामाजिक रुपान्तरणमा क्रियाशील भूमिका खेल्नुपर्ने होइन र ? तिनलाई यति भनिदिए पुग्छ । उनीहरुसँग आफ्नै विद्यार्थी छन् । शिक्षक छन् । अभिभावक छन् । राजनीतिक दलका नेताले बोलाउँदा ती सबैलाई परिचालन गर्ने/गराउने अनुभव छ ।

तेस्रो संरचना छ त्यहाँ जातको । जातिको । धर्मको । तिनका सीमित काम छन् । थपिदिए पुग्छ । उनका आफ्नै तरिका छन् जनपरिचालनका । गैसस नभएका स्थानीय सरकार नै छैनन् । समाजकल्याण परिषद् र जिल्ला विकास समितिका तथ्याड्ढहरु त्यसै भन्छन् । तिनलाई बाध्यकारी भूमिका दिने हो भने नसकिने भन्ने नै छैन । राजनीतिक दलकै प्रारम्भिक समितिहरु छन् । युवा उर्जालाई ध्वंशमा लगाउन सक्ने तिनको तागत छ ।

त्यसैलाई सिर्जनामा लगाउने हो भने पक्कै सकिन्छ । प्राविधिक सहयोग त ललकारे पुग्छ । मागे पाइन्छ । कर्मचारीतन्त्रमा छ । विद्धत व्यक्तित्व छन् । शिक्षित व्यक्तित्व छन् । खुला विद्यालय एवं विश्वविद्यालयहरु छन् । मनकारी बनाइदिए पुग्छ । लचिलो बनाए हुन्छ । चाहिएको बन्ने/बनाउने आँट मात्रै हो ।

साभार : आजको शिक्षा साप्ताहिक

Comments: