२०७६ मंसिर ४ गते

क्यालिफोर्निया गोली काण्ड : विद्यार्थी र शिक्षिकाको मृत्यु

न्युयोर्क । क्यालिफोर्नियाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा दुईको मृत्यु भएको छ । क्यालिफोर्नियाको सान बर्नाडिनोमा सोमबार गोली चल्दा एक शिक्षिका र आठ वर्षीय विद्यार्थीको मृत्यु भएको हो । स्थानीय समयअनुसार साढे १० बजे सान बर्नाडिनो नर्थ पार्क इलिमेन्ट्री स्कुलमा गोली चलेको हो । आक्रमणकारीले आफ्नी पूर्वपत्नी तथा सो विद्यालयकी शिक्षिकालाई गोली हानेका हुन् ।

आक्रमणकारीले शिक्षिकालाई गोली हान्ने क्रममा दुई विद्यार्थीलाई पनि गोली लागेको थियो । गोली लागेर ती विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का विद्यार्थी गम्भीर घाइते भएका छन् । गोली हानेपछि आक्रमणकारीले आत्महत्या गरेका थिए ।

५३ वर्षीय आक्रमणकारी सेड्रिक एन्डरसन भिजिटरको रूपमा विद्यालय गएका थिए । प्रवेश अनुमति पाएपछि उनी सरासर कक्षाकोठामा पुगेर पूर्वपत्नी करिन इलेइन स्मिथलाई निसाना बनाएका थिए । गोली चल्दा कक्षामा १५ बालबालिका थिए । उनको गोली लागेर पूर्वपत्नी स्मिथको घटनास्थलमै मृत्यु भएको लस एन्जल्स टाइमले जनाएको छ । गोली चलेपछि विद्यार्थीलाई तत्काल कक्षाबाट खाली गराइएको थियो ।

आक्रमणकारीले हत्यापछि आत्महत्या गरेको प्रहरी प्रमुख जारोद बर्गानले बताए । सन् २०१५ को डिसेम्बरमा सान बर्नाडिनोको एउटा अशक्त केन्द्रमा एउटा जोडी पुगेर अन्धाधुन्दा गोली चलाउँदा १४ स्वास्थ्य कार्यकर्ताको मृत्यु हुनुका साथै २१ जना घाइते भएका थिए । नयाँपत्रिकामा खबर छ ।

Comments: