२०७६ भदौ २९ गते

खनियाँको विवादस्पद निर्णय फिर्ता, विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा अनिवार्य

अन्तैबाट

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले निजी मेडिकल कलेजहरुलाई फाइदा पुग्ने गरी गरेको निर्णय स्थगित भएको छ । भदौ ५ मा उपकुलपतिबाट अवकाश पाउँदै गर्दा खनियाँले चिकित्सा शिक्षामा प्रवेश परीक्षा बिनै विदेशी विद्यार्थी भर्ना गर्ने विवादास्पद निर्णय गरेका थिए ।

स्रोतकाअनुसार कार्यवहाक उपकुलपति सुधा त्रिपाठीले प्राज्ञिक परिषद्को बैठक डाँकेर उक्त निर्णय थप छलफलका लागि विद्या परिषद्मा पठाउने निर्णय गराएकी हुन्। खनियाँले विद्या परिषद्को सहमति र प्रस्ताव बिनै मेडिकल कलेज संचालकहरुको आग्रहमा प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने (नीड) लाई मान्यता दिएका थिए। त्रिपाठीले उक्त निर्णयबारे जानकारी नभएको प्रतिक्रिया दिएकी थिइन्।

सरकारले कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिएपछि त्रिपाठीले प्राज्ञिक परिषद्बाट पुनर्विचार र थप छलफलका लागि उक्त निर्णय विद्या परिषद्मा फिर्ता पठाइदिएकी हुन्। जसका कारण विदेशी विद्यार्थीले यहाँका मेडिकल कलेजहरुमा भर्ना हुन अब अनिवार्य रुपमा प्रवेश परीक्षा पास गरेको हुनुपर्नेछ। प्राज्ञिक परिषदले विद्या परिषद्को राय लिएर नेसनल मेडिकल इन्ट्रान्स टेस्ट (नीट) सम्बन्धी निर्णय रद्ध गर्ने त्रिवि स्रोतले जनाएको छ। यस विषयमा त्रिपाठीले कान्तिपुरसँग कुरा गर्न चाहिनन्।

‘प्राज्ञिक परिषद्मा उक्त निर्णयबारे छलफल चाँहि गरियो, केहि दिनमा पूर्ण निर्णय आउँछ,’ उनले भनिन्। प्राज्ञिक परिषद् बैठकमा खनियाँले गराएको निर्णय विद्या परिषद्मा फिर्ता मात्र गराउने कि रद्ध नै गर्ने भनेर छलफल भएको थियो। रद्ध गर्ने सहमति नजुटेपछि विद्या परिषद्को राय बुझेर मात्र निर्णय लिन लागिएको हो।

प्रवेश परीक्षा नलिई विद्यार्थी भर्ना गर्ने निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरूले हालकै अवस्थामा एक शैक्षिक सत्रमा कम्तीमा ६० करोड रुपैयाँ अतिरिक्त कमाइ हुने थियो। खनियाँले त्रिवि अन्तर्गतका ६ निजी कलेजहरुको प्रभावमा विदेशी विद्यार्थीलाई भर्ना सहज हुने गरी निर्णय गराइदिएका थिए। उक्त निर्णयबारे प्राज्ञिक परिषद्ले समेत अनविज्ञता प्रकट गर्दै आएको थियो।

नेपालका मेडिकल कलेजमा विदेशी विद्यार्थीका लागि कुल सिटको ३० प्रतिशत सिट तोकिएको छ। ती सिट विदेशी विद्यार्थीले पुरा नभए नेपाली विद्यार्थीले भर्ना पाउँछन्। गत वर्ष त्रिवि चिकित्सा शिक्षा अध्ययन शास्त्र (आईओएममा) भारतीय विद्यार्थीले प्रवेश परीक्षा पास गर्न नसकेपछि एक सय ५० नेपाली विद्यार्थीले उक्त रिक्त ठाउँमा भर्ना पाएका थिए।

यदि नीट लागु नभए प्रवेश परीक्षामा सहभागी नभई पुरा सिटमा विदेशी विद्यार्थी भर्ना हुन्छन्। ती विद्यार्थीबाट मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा दोब्बर शुल्क लिने गर्छन्। सोहि कारण उनीहरुले निर्णय गराउन दबाब दिँदै आएका थिए। भारतमा मेडिकल कलेज अध्ययन गर्न चाहने विद्यार्थीले निट उत्तीर्ण गरेको हुनुपर्छ। आईओएमले निट उत्तीर्ण गरेको आधारमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न नसकिने भन्दै आफूले सञ्चालन प्रवेश परीक्षा समेत उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू गरेको थियो।

गत भदौ १ गते बसेको प्राज्ञिक परिषद् बैठकमा भारतको ‘निट’ लाई मान्यता दिने र नदिने छलफल भए पनि निर्णय भएको थिएन। तर पछि खनियाँले निर्णय भएको भनी आईओएमको डिन कार्यालय र सबै मेडिकल कलेजमा कार्यान्वयनका लागि परिपत्र गरेका थिए।

त्रिविमा आबद्ध निजी मेडिकल कलेजहरूको संस्था ‘सोसाइटी अफ टीयू अफिलिएटेड हेल्थ इस्टिच्युसन्स नेपाल (स्टाहिन) ले ‘यस शैक्षिक सत्रदेखि निट लागू गर्ने’ भनी निवेदन दिएको थियो। सोहि आधारमा खनियाँले प्राज्ञिक परिषद्का सबै सदस्यलाई समेत थाहा नदिई निर्णय गराउन सफल भएका थिए।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: