२०७६ असोज २९ गते

पूर्वाञ्चल विश्वविद्यालयमा अनियमितता : पदाधिकारी आफूखुसी विदेशमा

अन्तैबाट

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका सबैजसो पदाधिकारी विदेश गएकाले शैक्षिक तथा आर्थिक क्रियाकलाप प्रभावित भएको छ । रजिस्ट्रार र प्रमुख लेखा अधिकृत १ महिनाभन्दा बढी समय विदेशमै छन् ।

दसैंअघि बेलायत गएकी रजिस्ट्रार प्रमिला थापा र अस्ट्रेलिया पुगेका प्रमुख लेखा अधिकृत खगेन्द्र ढकाल फर्किएका छैनन् । गत शुक्रबार उपकुलपति घनश्यामलाल दास र समन्वय महाशाखा प्रमुख राजेश झा एक साताका लागि भारत गएका छन् । व्यवस्थापन संकायका डिन खगेन्द्र आचार्य उपचारका लागि साताअघि गुजरात पुगेका छन् । विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक प्राय: काठमाडौं बस्छन् । कला, कानुन र शिक्षासंकायका डिन शम्भु कोइरालालेनिमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका छन् ।

उपकुलपतिको कार्यकक्षमा तीन महिनाअघि अनेरास्ववियुले लगाएको ताला अझै खुलेको छैन । ताला खुलाउन उपकुलपतिले कुनै पहल नै गरेका छैनन् । उनी विश्वविद्यालयको नाममा पटकपटक विदेश भ्रमण र काजमा काठमाडौं धाउनमै व्यस्त हुने गरेको विश्वविद्यालय स्रोतले भन्यो, ‘उनले विश्वविद्यालयबाट व्यक्तिगत आर्थिक लाभ लिने काम मात्र गरेका छन् ।’

उपकुलपति विदेश भ्रमण निस्कँदा विश्वविद्यालयले डलरमा र काठमाडौं काजमा निस्कँदा नेपाली मुद्रामा भत्ता उपलब्ध गराउँछ । अधिकांश पदाधिकारी निजी काम र विश्वविद्यालयको काममा बाहिर रहेको निमित्त उपकुलपति कोइरालाले स्विकारे । उपकुलपति विश्वविद्यालयको केही कामले भारत गएको बताए । लेखा अधिकृत र व्यवस्थापन संकायका डिन आचार्य निजी कामले बाहिर गएको उनले बताए । उपकुलपति, रजिस्ट्रार र प्रमुख लेखा अधिकृतसहितका पदाधिकारी लामो समयदेखि बाहिर भए पनि काम प्रभावित नभएको कोइरालाको दाबी छ ।

मोरङ गोठगाउँमा विश्वविद्यालयको नाममा ओपिडी भवन, एग्रिकल्चर र फरेस्ट्रीको भवन निर्माण भइरहेको छ । रजिस्ट्रार र लेखा अधिकृत एक महिनादेखि विदेशमा रहेका कारण ठेकेदारले रनिङ बिल भुक्तानी नपाउँदा निर्माण रोकिएको छ । उपकुलपति, रजिस्ट्रार र आर्थिक प्रशासन विभागमा विभिन्न विद्यार्थी संगठनले ताला लगाएका कारण विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयसँग रकम सापटी लिएर कर्मचारीलाई तलब खुवाएको छ ।

बाहिरका व्यक्तिलाई पदाधिकारीमा नियुक्त गर्दा यो विश्वविद्यालयको शैक्षिक र आर्थिक क्षेत्र लथालिंग भएको स्रोतको दाबी छ । उपकुलपति लाल दास महेन्द्र मोरङका बहालवाला प्राध्यापक हुन् । निमित्त उपकुलपति यहाँको स्नातकोत्तर क्याम्पसबाट आएका हुन् । व्यवस्थापन संकायका डिन आचार्य स्नातकोत्तर क्याम्पसबाट सेवानिवृत्त प्राध्यापक हुन् । विज्ञान तथा प्रविधि संकायका डिन पाठक इन्जिनियरिङ क्याम्पस पुल्चोकका प्राध्यापक हुन् ।

‘बाहिरका व्यक्तिलाई पदाधिकारी बनाउँदा र आन्तरिक किचलोकाकारण विश्वविद्यालयको प्राज्ञिक परिषद्् अझै गठन हुन सकेको छैन,’ स्रोतले भन्यो, ‘प्राज्ञिक परिषद् नै गठन नभएपछि विश्वविद्यालयको अवस्था कस्तो होला ?’


सेवा आयोग कामविहीन
सेवा आयोगको कार्यालयलाई विश्वविद्यालयले जिम्मेवारी नै दिएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज ९ गते पत्र पठाएर सेवा आयोगको कार्यालयलाई अर्को व्यवस्था नभएसम्म पदपूर्तिसम्बन्धी कार्य नगर्न निर्देशन दिएको छ । चलानी नम्बर १८३४ को उक्त पत्रमा शाखा अधिकृत विवेक घिमिरेको हस्ताक्षर छ । तर, विश्वविद्यालयले सेवा आयोगलाई बन्धक बनाएर करारमा ५२ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ । सेवा आयोगले कर्मचारी भर्ना गर्दा भागबन्डा नहुने र आर्थिक चलखेल पनि भएपछि उसलाई जिम्मेवारी नदिई विश्वविद्यालयले सोझै करारमा कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको स्रोतको दाबी छ । यसरी कर्मचारी भर्ना गर्दा राजनीतिक भागबन्डा र आर्थिक चलखेल हुने स्रोतको ठम्याइ छ ।

आंगिक क्याम्पस खस्कँदो
विश्वविद्यालयका आंगिक क्याम्पसको अवस्था पनि नाजुक बन्दै गएको छ । त्यसको पहिलो उदाहरण पुसेट इन्जिनियरिङ क्याम्पस हो । यस क्याम्पसको पहिलो ब्याजका ४८ विद्यार्थीमध्ये ७ जनामात्र नियमिततर्फ उत्तीर्ण भएका छन् ।

५ वर्षदेखि सञ्चालित यो क्याम्पसलाई विश्वविद्यालयले इन्जिनियरिङ काउन्सिलमा अझै दर्ता नगर्दा उत्तीर्ण भएका विद्यार्थीले अघिल्लो चरणको अध्ययन गर्न पाएका छैनन् । ‘हातमा सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेको सर्टिफिकेट छ,’ उत्तीर्णमध्येका एक विद्यार्थीले भने, ‘तर काउन्सिलमा दर्ता नहुँदा सर्टिफिकेटको सदुपयोग गर्न पाइएको छैन ।’ काउन्सिलमा दर्ता प्रक्रिया भइरहेको र साताभित्रमा दर्ता भइसक्ने क्याम्पस प्रमुख मनोजकुमार हलवाईको भनाइ छ । क्याम्पसमा प्रयोगात्मक कक्षाका लागि पर्याप्त उपकरण नहुँदा विगतमा काउन्सिलको दुई पटकको निरीक्षणमा अनुत्तीर्णभएको थियो । हाल आवश्यकउपकरण रहेको हलुवाईको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालयको पुसेटसहित व्यवस्थापन, जनसंख्या तथावातावरण, कलेज अफ इन्भारोमेन्ट, गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रिकल्चल रिसर्च सेन्टरलगायत आंगिक क्याम्पस छन् ।

विनोद भण्डारीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: