२०७६ मंसिर ४ गते

विद्यालयको बिजोग

 ताप्लेजुङ । न झ्याल, ढोका न त कोठा छेक्ने बार नै छ । वरिपरि बारिएका बाँसका भाटा मक्किएर भत्किन लागेका छन् । हिउँदमा सिरेटो र धुलोको सकस सहनुपर्छ । वर्षायाममा झरी, हिलो र लेदो सिधै कोठाभित्र पस्छ । त्यसमाथि गाईवस्तुको दिसापिसाबको दुर्गन्ध खपिनसक्नु छ । तीन वर्षदेखि यस्तै ठाउँमा बसेर पढिरहेका छन्, मिक्वाखोला-३ स्थित पञ्चेश्वरी माविका बालबालिका । २०७२ साल जेठ २७ गतेको पहिरोले भत्काएको यो विद्यालयका भवनको पुनर्निर्माणमा ढिलाइ हुँदा बालबालिकाको पढाइ प्रभावित भएको छ ।

पहिरोले विद्यालय भवनमा क्षति पुर्‍याएपछि यहाँको बाल विकाससहित कक्षा १ देखि ५ सम्मका एक सय २५ बालबालिकाको पढाइ प्रभावित भएको निमित्त प्रधानाध्यापक भीम विक बताउँछन् । ‘हिउँदमा बिहानदेखि सिरेटो चल्ने हुँदा जाडोले पढाउन सकिँदैन’, उनी भन्छन्, ‘वर्षायाममा झरी सिधै कक्षामा छिर्छ, आकाश धुम्म हुनेबित्तिकै बिदा गर्नुको विकल्प छैन ।’उनका अनुसार छाडा वस्तुभाउसमेत कक्षामा पसेर दिसापिसाब गरिदिने हुँदा दुर्गन्धमा बसेर पढाउनुपर्ने बाध्यता छ । बीचमा राम्रो बार नहुँदा कक्षाकोठा पनि राम्ररी छुटिँदैनन् । ‘एउटा कोठाको हल्ला अर्कोमा जान्छ, हल्लाकै कारण पनि शिक्षकले पढाएको विद्यार्थीले सुन्दैनन्’, उनी भन्छन् ।

कक्षाकोठामा फर्निचर पनि पर्याप्त छैन । डेस्क, बेन्च नभएपछि विद्यालय जान मन लाग्न छाडेको कक्षा ५ मा अध्ययनरत ११ वर्षीया पासाङ शेर्पा बताउँछिन् । ‘कक्षामा थोरै मात्र डेस्क, बेन्च छन् । त्यो पनि भाँच्चिन लागेका’, उनी भन्छिन्, ‘त्यस्तैमा धेरै जना खाँदिएर बस्नुपर्छ ।’बाहिर र अर्को कक्षाको हल्लाले गर्दा सरले पढाएको राम्ररी बुझ्न नसकेको कक्षा ४ का अमर लिम्बू सुनाउँछन् ।

पहिरो पसेर क्षति पुर्‍याएका फर्निचर मर्मत गरेकै भरमा काम चलाउनुपरेको निमित्त प्रअ विकको भनाइ छ । ‘मर्मत गरेका डेस्क, बेन्च केही अग्ला छन्, केही होचा, विद्यार्थीको बसाइ व्यवस्थापनमै समस्या छ’, उनी भन्छन्, ‘बजेट अभावमा नयाँ फर्निचर जोड्न सकेका छैनौं ।’उनका अनुसार विद्यालयका अरू भवन पनि जीर्ण छन् । भूकम्प र पहिरोले क्षतविक्षत बनाएका कारण कक्षा ६ देखि १० सम्मका विद्यार्थी पनि जोखिमपूर्ण कक्षामा बसेर पढ्न बाध्य छन् ।

भौतिक पूर्वाधार अभावमा विद्यालयको नतिजासमेत घट्दो क्रममा रहेको वडाध्यक्ष दीपेन्द्र लिवाङ बताउँछन् । उनका अनुसार यसपटक वडाले विद्यालयका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । उक्त रकमले ठूला कक्षा सञ्चालन हुने भवन मर्मत गर्ने प्रअ विक बताउँछन् ।जिल्ला शिक्षा कार्यालयको सहयोगमा एउटा चारकोठे भवन निर्माणाधीन छ । उक्त भवन पनि पहिरोका करण सामान ढुवानीमा समस्या हुँदा समयमा निर्माण हुन सकेन । पहिरोयता भवन निर्माणका लागि धेरै दाता गुहारे पनि कसैले चासो नदेखाएको विद्यालय प्रशासनले जनाएको छ ।

अन्नपुर्णपोष्टमा सीताराम गुरागाईंले खबर लेखेका छन् ।

Comments: