२०७६ भदौ २ गते

पाठ्यपुस्तक नभए हुन्न र ?



डा. विद्यानाथ कोइराला



पुख्र्यौली संस्कार
पुर्खाले श्रुति संस्कार सिकाए । त्यो संस्कारले भन्यो— सुने पुग्छ । पुराण त्यसैको अवशेष हो । धम्मपद सुन्ने त्यही बुद्धि हो । अल्लाहको प्रवचन गर्ने त्यही प्रक्रिया हो । थुथरीवेदको प्रक्रिया त्यही हो । यो श्रुति प्रक्रियाले भन्यो– प्रवचकनलाई किताब भए पुग्छ । अरूले सुन्छन् । गुन्छन् । गम्छन् । जीवनमा उतार्छन् । हिन्दू र बुद्धमार्गीको शब्दावलीमा श्रवण, मनन निधिध्यासन । लिखौट किताब हुँदा पुर्खाले त्यही बुद्धि गरे । छापिएका र ‘डिजिटाइज्ड’ गरिएका किताब पाइँदा पनि यो बुद्धि बदलिएकै छैन । किताब आफैं पढ भन्ने बुद्धि । तिम्रो अर्थ बताऊ भन्ने बुद्धि । तिम्रो र मेरो अर्थमा के फरक रहेछ भनी खोज्ने बुद्धि । पढेका र पढ्न सक्ने श्रोता वर्ग हुँदा पनि पण्डितले ठाउँ छोड्न जानेनौं । भन्तेले छोडेनौं । मौलवी मौलानाले छोडेनौं । फेदाङ्वा र अङ्सीले छोडेनौं । पढ्ने र पढ्न सक्ने श्रोताले पनि हामी पनि पढ्न सक्छौं भनेनौं । अथ्र्याउन सक्छौं भनेनौं । तिम्रो अर्थमा मेरो सहमति यति र विमति यति भनेनौं । हाम्रो निरीहताले किताब छापिनु र लेखिनुमा फरकै देखिएन । ‘डिजिटाइज्ड’ हुनु र नहुनुमा कुनै अर्थ रहेन । श्रोताले पढ्न जान्नु र नजान्नुमा केही भेद रहेन । यस अर्थमा हामी रुढ बन्यौं । बनाइयौं । बन्दैछौं ।

संस्कारकै निरन्तरता
हामी शिक्षकले पण्डितकै बुद्धि बोक्यौं । मौलवी, भन्ते, फेदाङ्वा वा अङ्सीकै संस्कार बोक्यौं । त्यसैले शिक्षकले पाठ्यपुस्तकै खोज्यौं । विद्यार्थीलाई पनि त्यही पाठ्यपुस्तक दियौं । यति त बुझ्mेछौं विद्यार्थी पनि पढ्न सक्छन् । अथ्र्याउन सक्छन् । तर पनि हामीले आफ्नो संस्कार छोडेनछौं । त्यही किताबको पाठ गर्ने । त्यसैको अर्थ लगाइदिने । विद्यार्थीको अर्थ नखोज्ने । उसको पढाइ नखोज्ने । विद्यार्थीले त्यही पाठ्यपुस्तक समाएपछि पनि आफ्नो बानी नबदल्ने । यस अर्थमा हामी अनौठा जीव बनेछौं । विद्यार्थीले त्यही पाठ्यपुस्तक समाउँदा पनि लाज पचाएर त्यही पुस्तकको व्याख्या गर्ने । विद्यार्थीका लागि भनेर लेखिदिंदा पनि त्यही किताब समाउन नछोड्ने । त्यसैका प्रश्नको उत्तर लेखाइदिने । भनिदिने । अर्थात् विद्यार्थीलाई नपत्याउनेहरू । अर्को शब्दमा भन्दा कर्मकाण्डी पुरोहित जस्ता । पढेको जजमानलाई पनि ‘मम’ भनी नाम सम्झ्mन लगाउने । जजमानलाई आफैं पढ् भन्न नसक्ने । जजमान पनि अहिलेका विद्यार्थी जस्तै भएछौं । आफूले पढ्न जान्दा पनि पुरोहितले नै पढिदिएकोमा रमाइलो मान्ने ।



निरन्तरता बदल्ने कि ?
संस्कारको निरन्तरताले हामी शिक्षक रहेनौं । पण्डित बन्यौं । भन्ते बन्यौं । मौलवी मौलाना बन्यौं । फेदाङ्वा वा अङ्सी बन्यौं । गतिला प्रवचक । शिक्षक बनेनौं । बदलिंदा शिक्षक । एक्काइसौं शताब्दीका शिक्षक । कुखुरीले चल्लालाई खाना ख्वाउने तरीकाले पढाउने शिक्षक । यसो हुनाको एउटै कारण हो– विद्यार्थीको पाठ्यपुस्तक पढेर त्यसैमा फुँदा जोड्ने हाम्रो बानी । त्यसैमा बुझयौं वा बुझ्ेनौं भनी सोध्ने बानी । त्यसलाई बदल्ने सजिलो तरीका हो– शिक्षकले पाठ्यपुस्तक समाएर नपढाउने । त्यही पाठ पढेर गनगन गर्ने बानी बदल्ने । गाउँबस्तीका कुराबाट अवधारणा दिने आदत बसाल्ने । सन्दर्भबाट पढाउने । सर्जक हुन सिकाउने । समालोचक बन्न उद्यत गर्ने । अर्थात् पत्याउने भन्दा पर्गेल्न सिकाउने ।

पाठ्यपुस्तक केका लागि त ?
पाठ्यपुस्तक विद्यार्थीको हो । उनकै हो । उनकै लागि हो । कुखुरीले चल्लालाई चारा ख्वाउन प्रयोग गर्ने नङ्ग्रा जस्तो । चुच्चो जस्तो । तर शिक्षकले भने चारा त्यहीं मात्रै छ भन्यौं । किनकि पाठ्यपुस्तक पूर्ण होइन । आंशिक हो । यस्ता अंशहरू पुस्तकालयमा छन् । मोबाइल र कम्प्युटरमा छन् । भुक्तभोगीका अनुभवमा छन् । । पुख्र्यौली शब्दमा भन्ने हो भने पञ्चतत्वमा छन् । त्यसैले बनेको शरीरमा छन् । जस्तो भनौं– शरीर गतिलो यन्त्र हो । यन्त्र पढाउन शरीर काफी छ । कोटेरो गतिलो चरा हो– इन्जिनियरिङ पढाउन । नदी गतिलो स्रोत हो– साहित्य र संगीत पढाउन । गरीबको झ्ुपडी गतिलो किताब हो– अर्थतन्त्र पढाउन । रूख असली किताब हो– गणित पढाउन । यस अर्थमा पाठ्यपुस्तक नै चाहिने हो र ? शिक्षकको अनुभव छैन र ? संस्कारबाट सन्दर्भ खोज्ने बुद्धि छैन र ? सन्दर्भबाट अवधारणा दिन सकिन्न र ? अवधारणाबाट विषयवस्तुमा जोड्न मिल्दैन र ? यति वर्ष पढाएँ, उति वर्ष पढाएँ भन्नेले भाउ बढाएको हैन र ? तिनैले पाठ्यपुस्तक नभई कसरी पढाउने भनेको चाहिं दश बाली लगाएको गोरुको मोल घटे झ्ैंm भएको हैन र ? दश वर्ष पढाउनेलाई किन किताब चाहियो अनुभवी हो भने । दश बाली लगाउने गोरु जस्ता हौं भने अनुभवी भएकोमा पनि किन आफ्नो भाउ बढाउने गरेको ? अचम्मको विरोधाभाषस रहेछ हामी शिक्षकमा । पाठ्यपुस्तकको सहारा लिंदा नयाँ शिक्षक जस्ता । अनुभव गणना गर्दा विज्ञ भए जस्ता । पाठ्यपुस्तक नभएर स्कूल कलेज बन्द गर्दा थाकेका गोरु जस्ता । अनुभव भएका तर जोत्न नसक्ने राँगा जस्ता ।

पाठ्यपुस्तक कसलाई त ?
पाठ्यपुस्तक चाहिने विद्यार्थी हुन् । दाउन चाहिने जुवा जस्तो । तिनले पाठ्यपुस्तक पाउने सुगम उपाय छ । उपाय गर्न सकिन्छ । दाजुदिदीको पाठ्यपुस्तक पढे हुन्न र ? च्यात्छन् तिनले भन्ने लागेमा नच्यात्नेलाई पचास रुपैयाँ पुरस्कार भने हुन्न र ? पुस्तक पाएबापत केही रकम जम्मा गर्न लगाए हुँदैन र ? गरीब देशमा प्रति वर्ष प्रतिविद्यार्थी नयाँ किताब दिने कसको बुद्धि हो यो ? पुराना किताब थुपार्ने बुद्धि किन बनेको हो त ? तिनलाई पुनप्र्रयोग गर्ने चिन्तन किन नआएको हो त ? के यो स्वदेशी एवं विदेशी सल्लाहकारहरूको दुर्बुद्धिकै परिणाम हैन र ? सरकारी संयन्त्रले पनि यही बुद्धि स्वीकार्नु गम्भीर भूल हैन र ? पुस्तकालयमा प्रत्येक कक्षाका लागि १०–१५ कपी बलियो गातावाला किताब बनाइदिए हुँदैन र ? किताब नच्याती अरूलाई बुझ्,ाउनेलाई पुरस्कृत गर्ने प्रबन्ध गर्न सकिन्न र ? अरू विकल्प खोज्नुहुँदैन र ?


वाग्मती नदी पढ्न लगाए स्वास्थ्यको पाठ पढ्छन् । सिंचाइ पढ्छन् । खानेपानी पढ्छन् । भूगोल पढ्छन् । जोड्न जाने वनस्पतिशास्त्र पढ्छन् । गणित पढ्छन् । यसै क्रममा विद्यार्थीलाई नै किताब बनाउन लगाउन सकिन्न र ? आफैंले बनाउने किताब । साथीले बनाएका किताब । त्यस्ता किताबबाट सिक्न सिकाउन मिल्दैन र ? जनक शिक्षा सामग्री केन्द्रकै किताब चाहिने हो र ? बहुपाठ्यपुस्तक प्रयोग गर्ने नीति भएको देशले शहरमै बस्नेले बनाएको किताब पढ्नुपर्ने हो र ? ठूलैले लेखेका किताब रट्नुपर्ने हो र ? यी र यस्ता प्रश्नले पाठ्यपुस्तक विना पढ्ने बुद्धि दिन्छ । सिकेका कुरालाई पुस्तकालयमा गएर यकिन गर्ने संस्कार दिन्छ । कम्प्युटरमा टुंगो लगाउने र अनुभवीसँग सहमति खोज्ने बानी बसाल्छ । क्रमशः विद्यार्थी स्वयं लेखक बन्छन् । तत्स्थानकै धेरै लेखक । सहपाठीकै लेखन पढ्ने विद्यार्थी । शिक्षकले पनि त्यस्तै पुस्तक लेखे हुन्न र ? व्यावहारिक पुस्तक हुने । वैज्ञानिक पढाइ हुने । गैरबुर्जुवा लेखकहरू बन्ने । जनमुखी पढाइ हुने । जनवादी तरीका बन्ने । समाजवादी शैली हुने । सबैका सोचलाई समेट्ने राष्ट्रवादी बन्ने । त्यसो गर्ने हो भने पाठ्यपुस्तक चाहिन्छ त ? पाठ्यपुस्तक पुगेन भन्ने गुनासो बस्छ त ? ती अव्यावहारिक भए भन्नुपर्छ त ?

निचोड
पाठ्यपुस्तक हुन्नन् माथिल्ला कक्षामा । सन्दर्भसामग्री हुन्छन् । रुचि अनुसारका । क्षमता अनुसारका कुरा पढ्न पाइने सामग्री । किन एउटै पाठ्यपुस्तक चाहियो त ? फिनलैण्डमा स्कूल तहमै पाठ्यपुस्तक चाहिएन । नेपालीलाई मात्रै चाहिने हो र ? शिक्षक कमजोर छन् त्यसैले चाहियो भन्ने हो भने शिक्षकलाई बदल्न मिल्दैन र ? पाठ्यक्रमकै आधारमा पढाउने संस्कार बसाउन सकिन्न र ? नोट लेखाउने शिक्षक बाहेक उच्च शिक्षाको तहमा त्यसै गरिएको हैन र ?


श्रुति परम्परामा मनन र निधिध्यासन जोडे पुग्दैन र ? त्यसो हो भने संस्कारवादी तरीका अनुसरण गरी शिक्षकलाई मात्रै पुस्तक बनाए हुन्न र ? धर्मविद्हरूलाई भएकै छ । हुँदैन र ? त्यसैगरी सबै विद्यार्थीलाई उही किताब दिनुपर्छ र ? कुनै दिन केही पढ्ने कुनैले केही पढ्ने गरे हुँदैन र ? क्यानाडालीलाई भएकै छ । पुस्तकालयमा किताब हुन्छन् । विद्यार्थीले मन पराएका किताब लिन्छन् । सबै किताब सबै दिन पढ्दैनन् । सबै विषय पढ्दैनन् । त्यसो गर्ने हो भने गतिला पुस्तकालय भए पुग्दैन र ? विद्यार्थीपिच्छे त्यही किताब सबैलाई बोकाउनु पर्छ र ?


सहसिकाइ अर्को बुद्धि हो । चार जनाले एउटा किताब पढ्ने । भिन्नाभिन्नै किताब किन्ने । किताबको आदानप्रदान गर्ने । स्रोतको अधिकतम् उपयोग भयो । त्यसो गर्न नमिल्ने हो र ? किताब व्यापारीलाई ठीक नहोला । सरकारलाई के फरक पर्छ र ? विद्यार्थीलाई के अप्ठेरो हुन्छ र ? केटीको संख्या धेरै हुने देशले बहुपत्नी प्रणाली स्वीकारे जस्तो । थोरै हुने ठाउँमा बहुपति प्रणाली बनाए जस्तो । सम अनुपातमा केटाकेटी हुँदा एकल पति वा पत्नी प्रथालाई मान्यता दिए जस्तो । परिस्थितिजन्य मान्यता बनाए हुन्न र ?


शिक्षक र विद्यार्थीले तत्स्थानमै पाठ्यपुस्तक बनाउने बुद्धिको उपयोग गरे हुन्न र ? पाठ्यक्रम दिने । पाठ्यपुस्तक चाहिं तत्स्थानमै बनाउन लगाउने । शिक्षकले । अभिभावकले । विद्यार्थीले ।


अन्त्यमा, मेरो भनाइ हो– पाठ्यपुस्तक नै चाहिन्छन्–शिक्षकलाई । विद्यार्थीलाई । यी भनाइ पुरना हुन् । अहिले अनेकन् विकल्प छन् । ती सवै सफल विकल्प हुन् । परीक्षित ९त्भकतभम० । पाठ्यपुस्तक नै नदिने विकल्प फिनलैण्डमा छ । पुस्तकालयमा मात्रै पाठ्यपुस्तक राख्ने र विद्यार्थीलाई सापटी दिने विकल्प क्यानाडामा छ । तत्स्थानमै पाठ्यपुस्तक बनाउने विकल्प नेपालले नै मातृभाषा शिक्षण कार्यमा गरेको छ ।


सन्दर्भसामग्री मात्रै पढाउने विश्वविद्यालयकै संस्कार छ । एउटै किताबमा दुई–तीन जनालाई पढ्न लगाउने चलन चीनमा छ । श्रुतिबाटै मनन् र निधिध्यासन गर्ने तरीका नेपालीको रगतमै छ । यीमध्ये कुनै वा सबै तरीका अपनाउने हो भने नेपालले पाठ्यपुस्तकमा खर्चिने रकम बचाउन सक्छ । विद्यार्थीले अनावश्यक रूपमा बोक्नुपर्ने भारी घटाउन सक्छ । पाठ्यपुस्तक नै पुगेन भन्ने सञ्चारकर्मीको टन्टै मेटाउन सक्छ । पाठ्यपुस्तक विना कसरी पढाउने र ? भन्ने शिक्षकलाई सोच्ने वातावरण दिन्छ । परिणति हुन सक्छ– जहाँ पनि पढ्ने बानी बन्छ । जसरी पनि सिक्ने संस्कार बन्छ । पाठ्यपुस्तकमै भर पर्ने विद्यार्थी र शिक्षकको बानी बाकस बाहिर(outside the box) जान थाल्छ । क्रमशः विद्यार्थीमा सिक्ने संस्कारको थालनी हुन्छ । शिक्षकमा सहजकर्ता (Scaffolder )बन्ने वातावरण बन्छ । पाठ्यपुस्तक नभए पनि पढ्छु र पढाउँछु भन्ने विश्वास बन्छ । सिक्छु र सिकाउँछु भन्ने परिवेश सिर्जना हुन्छ । रहर निर्णयकर्ताको ।


Comments: