२०७६ मंसिर २१ गते

विद्यालय टाढा हुँदा विद्यार्थीलार्इ सास्ती

रोल्पा । बिहान ८ बजेपछि रिम्सकी भूमिसरा घर्तीलाई स्कुल हिँड्ने हतारो हुन्छ । घरमा पढ्ने कुरा त परै जाओस्, कहिलेकाहीँ त भात खान पनि भ्याउँदिनन् उनी । बिहान उठ्यो, आमाबुवालाई घरको काममा सघायो, स्कुल जान हतार भइहाल्छ । उनी भन्छिन्, ‘छिटोछिटो खाना खाएर बाटोमा हिँड्दै कपाल कोर्दै गर्नुपर्छ नत्र १० बजे स्कुल पुग्न भ्याइँदैन।’

विद्यालय टाढा हुँदा यहाँका विद्यार्थीले फुर्सदले खाना खान र विद्यालय पोसाक लगाउन समेत भ्याउँदैनन् । घरबाट विद्यालय पुग्न डेढ घन्टा लाग्छ । विद्यार्थीलाई लामो उकाली–ओराली बाटो पार गर्दै रहेको विद्यालयमा प्रवेश गर्नुपर्ने बाध्यता छ । सहरमा जस्तै नजिक विद्यालय तथा स्कुल बस सुविधा नहँुदा लामो पैदलयात्राले कक्षाकोठा पुग्दासम्म विद्यार्थीहरू थाक्ने गर्छन् । उनीहरू साँझबिहानको घरधन्दा र हतारको विद्यालय तयारीले दिक्क छन्।

‘नेताले बाटोमात्र भन्छन् । हाम्रा छोराछोरीले पढ्न पाए पो हुन्थ्यो । बिचरा साना केटाकेटी स्कुल जादा सधैं हिँड्नुपर्ने त्यो त्यो बाटोको के काम ।’ रोल्पाली अभिभावक ‘बिहान उठेर अलिअलि घरको काम गर्नुपर्छ । कहिले त एकैछिन पनि किताब हेर्ने फुर्सद हुँदैन । बिहान ९ बजे खाना खाएर हिँड्न सकिएन भने समयमा स्कुल पुगिँदैन,’ कोटगाउँ रिम्सकी ९ कक्षामा पढ्ने छात्रा भूमिसराले सुनाइन् ।


विद्यालय पोसाकमा कपाल कोर्दै ओराली झर्दै गरेकी उनी हतारहतारमा पाइला चाल्दै थिइन् । ‘घरमा कपाल कोर्न थाल्ने हो भने त स्कुल छुट्छ,’ उनले भनिन्, ‘सधैं यस्तै हो । कपाल कोर्ने टाई बनाउने सधैं बाटोमै हो । बिस्तारै गयो भने त झन् २ घण्टा लाग्छ । भ्याइँदैन दौडिनुपर्छ । बाटो ओरालो छ र जाँदा अलि सजिलो हुन्छ।’

बिहान ९ बजे घरबाट हिँडेका उनीहरू ४ बजेसम्म स्कुल पढ्छन अनि त्यसपछिको एक घण्टा टिउसन । भूमिसराले भनिन्, ‘फर्कदा उकालो पर्छ । घर पुग्दा त ७ बज्छ । राति हुन्छ । अँध्यारोमा घर पुग्छौं । घर पुगी खाना खाएर पढ्दापढ्दै थकाइले निद्रा लाग्छ । कहिलेकाहीँ त कक्षाकोठामा पनि निद्रा लाग्छ।’

नेपाल मावि कोटगाउँमा अध्ययनरत विद्यालयबाट टाढा घर भएका भूमिसराजस्तै रोल्पामा धेरै विद्यार्थी छन् जसलाई विद्यालय पुगेर घर फर्किन दैनिक करिब ३ देखि ४ घण्टा पैदल हिँड्नुपर्छ । घाँटीमा टाईको गाँठो मिलाउँदै हिँडेकी छात्रा मारिया घर्ती पनि दैनिक हिँडाइले आजित छिन् । ‘बिहान हतारहतारमा खाना खाएर स्कुल गयो । घरबाट लगेको नास्ताले दिनभरि त धान्छ तर बेलुका फर्कंदा उकालोमा भोकले हैरान बनाउँछ । घर आयो, थकाइ लागेको हुन्छ । होमवर्क गर्दागर्दै निद्रा लाग्छ । बिहान घरको कामले ठिक्क । चाहेर पनि राम्रोसँग पढ्ने समय हुँदैन,’ मारियाले थपिन् । उनीहरूको कपाल कोर्ने, टाई मिलाउने बाटोमै हुन्छ भने जुत्ता पालिस गर्न शनिबार नै कुर्नुपर्छ।

घरभन्दा टाढा विद्यालय भएका कारण अभिभावक पनि चिन्तित रहने गर्छन् । ‘डेरा गराउन खर्चले धान्न सकिँदैन । नगराउनु केटाकेटीको हत्ते छ । भोक र थकाइले साँझ गलेर घर आउँछन् । नपढाएर पनि भएन,’ एक अभिभावकले दुखेसो पोखे, ‘नेताले बाटोमात्र भन्छन् । हाम्रा छोराछोरीले पढ्न पाए पो हुन्थ्यो । बिचरा साना केटाकेटी स्कुल जादा सधैं हिँड्नुपर्ने त्यो त्यो बाटोको के काम।’

४ सय ४० शैक्षिक संस्था रहेको जिल्लामा निजी र सरकारी गरी ६२ वटा माध्यमिक विद्यालय छन् । ती विद्यालयका ८६ हजार ५ सय २३ विद्यार्थीमध्ये धेरै बालबालिका दैनिक लामो पैदल विद्यालय पुग्ने गर्छन्।

गत निर्वाचनमा शिक्षासँग सम्बन्धित विषय कुनै पनि दलले आफ्नो प्रतिबद्धतापत्रमा राखेनन् भने स्थानीय तहको प्राथमिकतामा पनि विद्यालय र विद्यार्थी परेका छैनन् । चुनावमा भोट माग्न सडक, बत्ती, पानी, रोजगारीजस्ता विषय प्राथमिकतामा परे पनि आधारभूत शिक्षाजस्ता विषयमा दलहरू मौन नै रहे।

दिनेश सुवेदीले नागरिकमा लेखेको खबर

Comments: