२०७६ भदौ २९ गते

निमित्त उपकुलपतिले बदर गरिन् आफ्नै निर्देशन

अन्तैबाट

काठमाडौं । पाठ्यक्रम बाहिरबाट प्रश्न सोधेर सञ्चालन गरिएको स्नातकोत्तर तहअन्तर्गत भौतिक शास्त्रको एउटा विषयको परीक्षा दोहोर्‍याएर सञ्चालन गर्न नपर्नेगरी त्रिभुवन विश्वविद्यालयकी निमित्त उपकुलपति प्राध्यापक डा.सुधा त्रिपाठीले दिएको निर्देशन आफैंले बदर गरेकी छन्। गत जेठ १२ गते दिएको निर्देशन उनले भदौ ३ गते बदर गरेकी हुन् ।

भौतिकशास्त्र प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्स (आइ) फिजिक्स (५०३) मा पाठ्यक्रम बाहिरबाट प्रश्न सोधिएको विषयमा अध्ययन गर्न गठन गरिएको छानबिन समितिले ५० पूर्णांकको परीक्षामा ३० नम्बर पाठ्यक्रम बाहिरबाट सोधिएको किटानी गरेको थियो।

उक्त समितिले सो विषयको परीक्षा दोहोर्‍याएर सञ्चालन गर्न समेत सुझाव दिएको थियो। तर उक्त सुझाव विपरीत त्रिपाठीले शिक्षाध्यक्षको हैसियतमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन कार्यालयलाई पत्र लेखेर पुनः परीक्षा सञ्चालन गर्न नपर्ने निर्देशन दिएकी थिइन्। परीक्षा ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस केन्द्रमा गत पुस २९ गते सञ्चालन भएको थियो।

पाठ्यक्रम बाहिरबाट प्रश्न सोधेपछि परीक्षार्थी हल्ला गर्दै हलबाट निस्केका थिए। तर १२ बजेबाट सुरु भएको परीक्षा होहल्लाले रोकिएपछि फेरि साढे एक बजे सुरु गरिएको थियो। त्यतिखेर केन्द्रबाट आएका सहायक डीन तेजबहादुर विसीलगायतले परीक्षार्थीलाई परीक्षामा बस्न अनुरोध गर्दै उत्तीर्ण गराउने जिम्मा आफूहरूको भएको आश्वासन दिएको पीडित विद्यार्थीको भनाइ छ।

विद्यार्थीले उक्त दिनको परीक्षा रद्द गरी अर्को परीक्षा चलाउन डीन कार्यालयलाई निवेदन दिए। सँगै विद्यार्थीले छानबिनको माग गर्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी पनि दिएका थिए। सोही उजुरीका आधारमा केन्द्रबाट डीनको कार्यालयमा सत्यतथ्य जानकारी दिन अनुरोध गरी पठाएको पत्रको जवाफमा सहायक डीन विसीको हस्ताक्षरसहितको पत्रमा निर्धारित पाठ्यक्रम र पाठ्यपुस्तकबाटै प्रश्न सोधिएको उल्लेख छ।

तर यो जवाफमा विद्यार्थी मानेनन्। गलत जवाफ दिने विसी तथा विषय समितिका अध्यक्ष विनिल अर्याललाई समेत कारवाहीको माग गर्दै केन्द्रमा अर्को उजुरी दिए। तर विद्यार्थीको मागलाई बेवास्ता गर्दै डीन कार्यालयले वैशाख ११ गते ती विद्यार्थीको परीक्षाफल समेत प्रकाशन गर्‍यो।

परीक्षाफल प्रकाशन भएर पढाइ समेत सुरु भइसकेपछि त्रिपाठीले नयाँ निर्देशन डीन कार्यालयलाई दिएपछि समस्या थपिएको छ। त्रिपाठीले भदौ ३ गते विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीनलाई सम्बोधन गरी पठाएको पत्रमा भनिएको छ, ‘तीन सदस्यीय विशेषज्ञसहितको छानबिन समिति र विषय समितिले दिएको प्रतिवेदनलाई एकै साथ राखि अध्ययन गरे पश्चात प्राप्त निष्कर्ष कार्यान्वयनका लागि निर्देशन दिइएकोमा उक्त निर्देशनलाई फिर्ता लिएको छु।’

‘प्रा.डा.सीताराम व्याहुतको संयोजकत्वमा गठित छानबिन समितिबाट प्राप्त प्रतिवेदनमा उल्लेखित राय सुझावलाई अध्ययन गरी आवश्यक निर्णय लिइ सो को जानकारी यस कार्यालयलाई गराउनु हुन निर्देशन दिएकी छु’, पत्रमा उल्लेख छ।

नतिजा प्रकाशनपछि आन्दोलित विद्यार्थीका कारण त्रिविले वैशाख १७ गते भौतिकशास्त्र विभागकै पूर्वप्रमुख प्राध्यापक डा.सीतारामप्रसाद व्याहुतको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्‍यो।

समितिले वैशाख २३ गते शिक्षाध्यक्षलाई बुझाएको प्रतिवेदनमा प्रश्नपत्रमा सोधिएका प्रश्नमध्ये ३० अंक पाठ्यक्रम भन्दा बाहिरबाट आएको उल्लेख छ। त्यस वाहेक दश अंक बराबरको प्रश्न भने स्पष्ट नभएको पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनलाई मान्ने हो भने १५ नम्बर भन्दा बढी प्रश्न पाठ्यक्रमबाट सोधिएको छैन। त्रिवि विद्यार्थी हकहित संरक्षण समितिका संयोजक आशिष पौडेलले भने, ‘आफंैले छानबिन गरेको समितिले दोषी ठहर गर्दा पनि गल्ती गर्नेलाई त्रिविले कारबाही नगर्नु दुखद् हो। विश्वविद्यालयमा परीक्षा सञ्चालनमा कतिसम्म लापरवाही गरिन्छ भन्ने प्रमाण यो घटनाले देखाएको छ।’

यस विषयमा कुरा गर्न खोज्दा त्रिपाठीसँग सम्पर्क हुन सकेन। टेलिफोनबाट सम्पर्क गर्न खोज्दा उनले आफू मिटिङमा रहेको सन्देश पठाउँदै फोन काटिन्।

सूर्यप्रसाद पाण्डेले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: