२०७६ चैत्र २५ गते

माध्यमिक विद्यालयमा प्रधानाध्यापकदेखि पियनसम्म महिला

अन्तैबाट

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० स्थित खैरा माध्यमिक विद्यालय महिला मात्रैले सञ्चालन गरेका छन् ।  विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी महिला छन् ।  

श्यामा रावतले विगत तीन वर्षदेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेकी छन्। पछिल्लो समय शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको घुलमिलमा नमुना बनेको छ।

‘शिक्षक मात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो, भने प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदोरहेछ,’ उनी भन्छिन, ‘विद्यालयमा महिला प्रधानाध्यापक छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेडसर खैरु बोलाइदिनुहोस् न भन्छन्। अनि मै हो हेड सरभन्दा द‌ंग परेर हेर्ने गर्छन्।’

विद्यालयमा प्रधानाध्यापक देखि पियनसम्ममा कर्मचारी महिला आएपछि गत वर्षदेखि ९ र १० कक्षाको पढाइ थप भएको छ। नयाँ भौतिक संरचना बन्ने क्रममा छन्। ‘हाल विद्यालयमा प्रअसहित १६ शिक्षका, एक जना कर्मचारी, एक जना कार्यालय सहयोगी सबै महिला छौँ,’ उनले भनिन, ‘विद्यार्थी धेरै अनुशासित छन्। एक पटक सिकायो भने ध्यान दिएर सुन्छन्, नबुझेको सोधीखोजी गर्छन्।’

महिला शिक्षिका र कर्मचारी आएपछि कक्षा कोठा सबै शैक्षिक सामग्रीले भरिएका छन्। बालबालिका स्वतन्त्ररुपमा अध्ययन गर्न पाएका छन्। कहिलेकाहीँ कारणवश विद्यालयमा शिक्षक नआएर पनि कक्षा खाली हुन पाउँदैन। अर्को शिक्षिकाले कक्षा हेर्छन। विद्यालयमा खानेपानी, शौचालय, छात्रालाई सेनेटरी प्याड र त्यसलाई विषर्जन गर्ने सुविधा रहेको उनले बताइन।

सहायक प्रधानाध्यापक विमला अधिकारीले सबै कर्मचारी, शिक्षक, महिला आएपछि शैक्षिक गुणस्तरमा सुधार आएको दावी गरिन। ‘सबै शिक्षकलाई कामको जिम्मेवारी छ। प्रार्थना, अतिरिक्त क्रियाकलाप, साहित्यजस्ता विविध क्रियाकलापको जिम्मेवारीअनुसार सबै शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ’ उनले भनिन। प्रधानाध्यापक रावतले एक पटक जिम्मेवारी बाँडेपछि कसैलाई काम अह्राउन नपर्ने बताइन। खैरा मावि बालमैत्री विद्यालयको रुपमा गत वर्ष नै घोषणा भएको थियो।


शिक्षा विकास तथा समन्वय एकाइ दाङले दिएको जानकारीअनुसार दाङका अन्य विद्यालयमा पनि महिला प्रधानाध्यापक छन्। तर सबै महिलामात्रै भएको विद्यालय जिल्लामा अरु छैनन।जिल्लाको मौरीघाट माविमा सीता रिजाल, सरस्वती मावि काठेकोलमा वसन्ता पौडेल, रक्षाचौर माविमा विष्णु केसीले महत्वपूर्ण जिम्मेवारी सम्हालेर काम गरिरहेका छन।

खैरा माविमा सबै महिला भएको कारणले विद्यालयको शैक्षिक र भौतिक गुणस्तरमा निकै राम्रो सुधार आएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण गौतमले बताए। उनले विद्यालयको आर्थिक पारदर्शिता सिकाइ क्रियाकलाप पनि नमुनायोग्य भएको जाकारी दिए। रासस

Comments: