२०७६ चैत्र २५ गते

बल्ल बन्यो संघीय संरचनालाई मिल्दो नयाँ पाठ्यक्रम प्रारूप

रोशन क्षेत्री गाउँले/काठमाडौं

झण्डै १४ वर्षपछि बनाइएको नयाँ पाठ्यक्रम प्रारूपले विद्यालय शिक्षामा नीतिगत तथा संरचनागत नवीन आयाम समावेश गरी कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम तथा कक्षा ९ देखि १२ सम्म एकलपथीय पाठ्यक्रम ढाँचा अवलम्बन गरेको छ ।




सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी गरेको छ ।

विद्यालय तहको शिक्षा विद्यार्थीकेन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो । नयाँ संविधान, शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११–१२ पनि विद्यालय शिक्षामा समाहित भएपछि नयाँ पाठ्यक्रम जारी गरिएको हो । २०७६ भदौ २० गते स्वीकृत भएसँगै यो कार्यान्वयनमा गएको छ ।

प्रारूपले विद्यालय शिक्षामा नीतिगत तथा संरचनागत नवीन आयाम समावेश गरी कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम तथा कक्षा ९ देखि १२ सम्म एकलपथीय पाठ्यक्रम ढाँचा अवलम्बन गरेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले जानकारी दिनुभयो । प्रारुपबाट विद्यार्थीमैत्री वातावरणमा सिकाइ क्रियाकलाप सञ्चालन गर्ने, सिकाइमा विद्यार्थीको सव्रिmय सहभागिता कायम गर्ने, सिकाइ क्रियाकलापमा विविधता कायम गर्नेलगायतका कार्यद्वारा सिकाइ प्रक्रियामा सुधार गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ ।

नेपालको समग्र शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक अवस्था एवं विश्वव्यापी शैक्षिक अभ्यासलाई समेत विश्लेषण गरी तयार पारिएको प्रारुपको सफल कार्यान्वयनबाट बालबालिकाका सर्वाङ्गीण विकासमा सहयोग पुग्नका साथै सन् २०३० सम्ममा मध्यम आय वर्गको मुलुकहरूका स्तरमा पुग्ने नेपालको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग मिल्ने विश्वास लिइएको पौडेलले स्पष्ट पार्नुभयो ।

पाठ्यक्रम तथा पाठ्यक्रमसम्बद्ध विश्वव्यापी परिवेश, विद्यमान पाठ्यक्रमको विश्लेषण, विशेषज्ञ/विज्ञहरूको सल्लाह, सुझाब र अन्य सरोकारवालाहरूका राय/प्रतिव्रिmयासमेतका आधारमा नयाँ पाठ्यक्रम प्रारूप तयार गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । पाठ्यक्रम विकास केन्द्रले कार्ययोजना तयार गरी २०७३ को फागुनदेखि पाठ्यक्रम प्रारूप निर्माण प्रारम्भ गरेको थियो ।

यसक्रममा मौजुदा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ ले व्यवस्था गरेका विद्यालय शिक्षाका पाठ्यक्रमसम्बद्ध विविध पक्षहरूको पुनरावलोकन गर्नुका साथै विद्यालय शिक्षाको पाठ्यक्रमसम्बद्ध अन्तर्राष्ट्रिय अभ्यास हेर्दै भारत, चीन, श्रीलङ्का, सिङ्गापुर, जापान, कोरिया, फिनल्याण्ड, अमेरिका, बेलायत, माल्टा, स्विजरल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड, थाइल्याण्ड, फिलिपिन्सका विद्यालय स्तरका पाठ्यक्रम ढाँचा र सम्बद्ध विषयक्षेत्रको तुलनात्मक अध्ययन गरी नेपालको सन्दर्भमा उपयोगी हुने विभिन्न विकल्पहरूमाथि विज्ञ समूहबीच छलफल गरिएको केन्द्रले जनाएको छ ।

साथै, प्रारूप निर्माणका क्रममा नेपालको संविधान, मौजुदा शिक्षा ऐन तथा नियमावली, विभिन्न समयमा गठित राष्ट्रियस्तरका शिक्षा आयोगका प्रतिवेदनहरू, आवधिक विकास योजनाहरू, विद्यालय क्षेत्र विकास योजनालगायत शिक्षासम्बद्ध नीतिगत दस्तावेजहरूको अध्ययन तथा पुनरवालोकन गरिएको थियो । सबैका लागि शिक्षासम्बन्धी लक्ष्यहरू, सहस्राब्दी विकास लक्ष्यहरू तथा दिगो विकासका लक्ष्य प्राप्तिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरूको अध्ययन गरी प्रारूप विकास प्रक्रियालाई सान्दर्भिक र व्यवहारिक बनाउने प्रयास गरिएको थियो । विद्यालय शिक्षाको प्रारम्भिक बाल विकास र शिक्षादेखि कक्षा १२ सम्मका विभिन्न विषय तथा सिकाइ क्षेत्रका मौजुदा पाठ्यक्रम तथा पाठ्यपुस्तक अध्ययन तथा विश्लेषण गरीे पाठ्यक्रमको कक्षागत, तहगत, विषयगत लम्बीय एवं समतलीय सम्बन्धलगायत सान्दर्भिकता तथा पर्याप्तताको विश्लेषण गरिएको केन्द्रले जनाएको छ । यसक्रममा सरोकारवालाहरूबाट सुझाब तथा पृष्ठपोषण सङ्कलन गरिएको केन्द्रले स्पष्ट पारेको छ ।

प्रारम्भिक बाल शिक्षा (इसिडि)
पहिलोपटक बालविकास शिक्षालाई समेत विद्यालय तहमा समावेश गरिएर तयार पारिएको इसिडिको पाठ्यक्रममा आधारभूत सीप सिकाइ र विषयगत सीप सिकाइको क्षेत्र किटान गरिएको छ । अब, बाल शिक्षामा शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक, स्वास्थ्य पोषण र सिर्जनात्मक सीप सिकाइनेछ । त्यस्तै, ४ वर्ष उमेर समूहका बालबालिकाले वार्षिक एक सय ९२ घण्टाको विषयगत कक्षा लिनेछन् । जसमा उनीहरूलाई भाषिक, पूर्वगणितीय, वातावरण विज्ञान र सामाजिक अध्ययनको ज्ञान दिइनेछ  । बालशिक्षाका विद्यार्थीले वार्षिक कुल ५ सय ७६ घण्टाबाहेक दैनिक १ घण्टा बाह्य खेल खेल्नेछन् र आराम गर्नेछन् ।

कक्षा १ देखि ३ सम्म
प्रारुपमा आधारभूत शिक्षा (कक्षा १–३) मा एकीकृत पाठ्यक्रम हुने जनाइएको छ । सिकाइका क्षेत्रहरू पहिचान गरी विषय र सिकाइका क्षेत्रका आधारमा बहुविषयात्मक तथा अन्तरविषयगत ढाँचामा पाठ्यक्रम आधारित गरिनेछ । यसअनुसार एकीकृत विषयक्षेत्रहरूले समेट्न नसकेका सिकाइ उपलब्धिहरूलाई समेट्ने गरी विषयगत सिकाइ क्षेत्रहरूसमेत रहन सक्ने छन् । भाषागत विषयसँग सम्बन्धित विषयक्षेत्रहरू पठनपाठन सम्बन्धित भाषामा नै गर्नुपर्नेछ । यस्तो पाठ्यक्रम क्रियाकलापमुखी हुनेछ । यसले विद्यार्थीहरूमा विषयवस्तुको ज्ञानका साथै विभिन्न किसिमका सीपको विकासमा जोड दिनेछ । यस तहमा बालबालिकाले आफ्नो मातृभाषामा सिक्ने अवसर प्राप्त गर्नेछन् । आधारभूत तह (कक्षा १–३) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सामाजिक अध्ययन, सिर्जनात्मक कला, मातृभाषा तथा स्थानीय विषयका सिकाइ क्षेत्रहरू प्रदान गरिनेछ । कक्षा १ देखि ३ को पाठ्यक्रम संरचनाअनुसार वार्षिक २६ पाठ्यघण्टाको ८ सय ३२ कार्यघण्टा पठनपाठन हुनेछ  । अहिलेसम्म विद्यालयहरूमा ३५ देखि ४५ मिनेटसम्मको पिरियड हुँदै आएको छ ।

कक्षा ४ र ५ सम्मको
प्रारुपमा, आधारभूत शिक्षा (कक्षा ४–५) मा विद्यार्थीलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला, मातृभाषा तथा स्थानीय विषयका सिकाइ क्षेत्रहरू प्रदान गरिने जनाइएको छ । यस तहको पाठ्यक्रम धेरै बोझिलो नहुनेगरी एकीकृत रूपमा विकसित गरिएको छ । यस तहमा बालबालिकाले आफ्नो मातृभाषामा सिक्ने अवसर प्राप्त गर्नेछन् । कक्षा ४ देखि १२ सम्म वार्षिक १ हजार २४ घण्टा पठनपाठन गर्नेगरी पाठ्यक्रम संरचना तयार पारिएको छ  । यसतहमा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन मानवमूल्य शिक्षा विषयको वार्षिक पाठ्यघण्टा १६० घण्टाको र स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला ९६ र मातृभाषा तथा स्थानीय विषय को वार्षिक पाठ्यघण्टा १२८ रहनेछ ।

कक्षा ६–८ सम्मको
प्रारुपमा आधारभूत शिक्षा (कक्षा ६–८) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक तथा मानवमूल्य, वातावरण, जनसंख्या, स्वास्थ्य शारीरिक र स्थानीय विषयका सिकाइ क्षेत्रहरू नै प्रदान गरिने उल्लेख छ । स्थानीय आवश्यकतामा आधारित अध्ययनअन्तर्गत विद्यार्थीलाई मातृभाषा वा स्थानीयय कला, संस्कृति, सीप, इत्यादिमा आधारित विषयवस्तु समावेश गर्न सकिनेछ । साधरण जीवनका लागि आवश्यक अन्तरवैयक्तिक सीपहरू, स्वसचेतना सीपहरू, समालोचनात्मक तथा सिर्जनात्मक सोचाइका सीपहरू, निर्णय गर्ने सीपहरू, सूचना प्रविधिसम्बन्धी सीपहरू र द्वन्द्व तथा तनाव व्यवस्थापनसम्बन्धी सीपहरू एकीकृत गरी पाठ्यक्रम विकास गरिने छ । कक्षा ६ देखि ८ सम्मपनि वार्षिक १ हजार २४ घण्टा पठनपाठन गर्नेगरी पाठ्यक्रम संरचना तयार पारिएको छ  । स्थानीय विषयअन्तर्गत मातृभाषा, स्थानीय कला, संस्कृति, ज्ञान, सीप, प्रविधि, पेसा तथा व्यवसाय अभिमुखीकरणसम्बन्धी विषयवस्तुसमेत समेट्न सकिने जनाइएको छ । यसतहमा साधरण शिक्षा तर्फ नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन मानवमूल्य शिक्षा विषयको वार्षिक पाठ्यघण्टा १६० घण्टाको र स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला ९६ र मातृभाषा तथा स्थानीय विषय को वार्षिक पाठ्यघण्टा १२८ रहनेछ ।

विद्यालय शिक्षा
प्रारुपमा विद्यालय शिक्षाअन्तर्गत कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षा कायम गरिएको छ । माध्यमिक शिक्षालाई साधारण, प्राविधिक तथा व्यावसायिक र परम्परागत गरी तीन प्रकारमा वर्गीकरण गरिएको छ । गुरुकुल, गोन्पा विहार, मदर्सा, मुन्धुमलगायतका परम्परागत शिक्षा पद्धतिलाई माध्यमिक शिक्षामा समेटिएको छ । माध्यमिक शिक्षाको पाठ्यक्रम संरचना एकलपथको हुने जनाइएको छ ।

कक्षा ९ र १०
कक्षा ९ र १० को साधारण धारतर्फ प्रत्येक कक्षामा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन गरी पाँचवटा अनिवार्य विषयहरू र दुईवटा ऐच्छिक विषयहरू रहनेछन् । कक्षा ९ र १० मा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन साथै ऐच्छिक प्रथम र द्वितीय गरी ७ विषय रहनेछ ।


कक्षा ११ र १२
यसै गरी कक्षा ११ र १२ को साधारण शिक्षातर्फ अनिवार्य विषयका रूपमा अङ्ग्रेजी र नेपालीलाई दुबै कक्षामा, सामाजिक अध्ययनलाई कक्षा ११ मा र जीवनोपयोगी शिक्षालाई कक्षा १२ मा समावेश गरिएको छ भने कक्षा ११ र १२ प्रत्येकमा ऐच्छिक विषय तीन तीनवटा समावेश गरिएको छ । यसको अतिरिक्त कक्षा ११ र १२ मा अतिरिक्त ऐच्छिक विषयका रूपमा थप एक विषय समावेश गर्न सकिने उल्लेख छ । त्यसैगरी, माध्यमिक शिक्षातर्फ कक्षा ११ र १२ मा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा विषयअन्तर्गत न्यूनतम एक पाठ्यघण्टा बराबरको सूचना प्रविधिसम्बन्धी विषयवस्तु समावेश गरिनेछ ।

पठनपाठनको समयावधि
प्रारम्भिक बालशिक्षाका लागि प्रतिदिन ४ घण्टा ३० मिनेटका दरले वार्षिक जम्मा ५७६ घण्टा दैनिक सीप सिकाइ क्रियाकलाप र विषयगत सीप सिकाइ क्रियाकलाप सञ्चालन हुनेछ । यसैगरी, वार्षिक ३८४ घण्टा आधारभूत सीप सिकाइका क्षेत्रअन्तर्गत शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक र नैतिक, बौद्धिक तथा मानसिक, स्वास्थ्य, पोषण, सुरक्षा, वातावरण र सिर्जनात्मक सीप सिकाइनेछ । वार्षिक १९२ घण्टा विषयगत सीप सिकाइका क्षेत्रअन्तर्गत भाषिक, पूर्वगणितीय, दृश्यकला, कार्यतरिका र सिर्जनशीलता, वरपरको वातावरण र सामाजिक सीप सिकाइनेछ । यसबाहेक मनोरञ्जन क्रियाकलाप, बाह्य खेल र आराम गर्ने समय कम्तीमा दैनिक एक घण्टाका दरले वर्षभरिमा २५६ घण्टा आराम र खेल्नका लागि छुट्याउनु पर्नेछ । कक्षा १ देखि ३ सम्म जम्मा २६ पाठ्यघण्टा (क्रेडिट आवर) अर्थात् वार्षिक ८३२ कार्य घण्टाको पठनपाठन गर्नु पर्नेछ । कक्षा ४ देखि १२ सम्म जम्मा ३२ पाठ्यघण्टा अर्थात् वार्षिक १०२४ कार्य घण्टाको पठनपाठन गर्नुपर्नेछ । यस्तै ६ देखि ८ र ९र १० कक्षामा पनि ३२ पाठ्यघण्टा अर्थात् वार्षिक १०२४ कार्य घण्टाको पठनपाठन गर्नुपर्ने छ । ११ र १२ कक्षामा भने २७ पाठ्यघण्टा अर्थात् वार्षिक ८६४ कार्य घण्टाको पठनपाठन गर्नुपर्नेछ । जहाँ ५ पाठ्यघण्टाको वार्षिक १६० कार्यघण्टा बराबरको थप ऐच्छिक विषय पढाउनुपर्नेछ । पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घण्टाको समयावधिलाई १ पाठ्यघण्टा मानिएको छ । तोकिएको साप्ताहिक पाठ्यघण्टा नघट्नेगरी विद्यालयले विषयको आवश्यकता अनुसारको साप्ताहिक कार्यतालिकाको समयावधि निर्धारण गरी कक्षा सञ्चालन गर्न सक्नेछन् । प्रतिदिन प्रतिविषय एक घण्टाको एक पिरियड बनाउन सकिने जनाइएको छ ।

सिकाइ सहजीकरण प्रक्रिया
प्रारम्भिक बालविकासमा पढाइ लेखाइमा भन्दा पनि बालबालिकाहरूको समग्र विकास, स्याहार तथा सुरक्षामा जोड दिनुपर्छ । प्रारम्भिक बालशिक्षाको सिकाइ क्रियाकलाप अनौपचारिक रूपले बालबालिकाको व्यक्तिगत भिन्नता र क्षमताका आधारमा स्वतन्त्र रूपले सिक्ने मौका प्रदानगर्ने किसिमले सञ्चालन गर्नु पर्दछ । बालबालिकाको विविधतालाई ध्यानमा राखेर उनीहरूको सिकाइलाई प्रोत्साहन गर्नुपर्दछ । खेल, गीत, कविता, कथाकथन, प्रदर्शन, श्रव्यदृश्य सामग्रीको प्रदर्शनमार्फत सिकाइका क्रियाकलापहरू सञ्चालन गरिनुपर्दछ । यसका अतिरिक्त अवलोकन, समूहकार्य, परियोजना कार्य, छलफल जस्ता विधिहरूका माध्यमबाट बालबालिकाको सर्वाङगीण विकासमा जोड दिनु पर्छ ।


सिकाइ सहजीकरण प्रक्रिया सञ्चालन गर्दा विद्यार्थीकेन्द्रित र बालमैत्री शिक्षण विधि अपनाई शिक्षणमा भन्दा निरन्तर सिकाइमा जोड दिनुपर्नेछ । सबै प्रकारका सिकाइ आवश्यकता र चाहना भएका, अपाङ्गता भएका, अशक्त, असहाय, कमजोर आदि) विद्यार्थीलाई समेट्नेगरी कक्षामा समावेशी सिकाइ सहजीकरण प्रक्रिया अपनाउनुपर्ने छ । विद्यार्थीको सिकाइलाई केन्द्रबिन्दु मानी सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्नुपर्ने छ । विद्यार्थीको सहभागितामा योजना निर्माण, परियोजना कार्य, क्षेत्र भ्रमण, समस्या समाधान, खोजमा आधारित अध्ययन, प्रवर्तनमुखी शिक्षण पद्धतिलाई सिकाइ सहजीकरण विधिका रूपमा कार्यान्वयन गर्नुपर्ने छ । सिकाइ प्रक्रिया सैद्धान्तिक पक्षमा भन्दा बढी गरेर सिक्ने अवसर प्रदान गर्ने क्रियाकलापमा आधारित हुनुपर्नेछ । शिक्षकले सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्नेछ । पठनपाठनमा सूचना तथा सञ्चार प्रविधिलाई उपलब्ध साधन, स्रोत र आवश्यकताअनुसार उपयोग गर्नुपर्नेछ । सबै प्रकारका सिकाइ आवश्यकता र चाहना भएका (अपाङ्गता भएका, अशक्त, असहाय, कमजोर आदि) विद्यार्थीलाई समेट्नेगरी कक्षामा समावेशी सिकाइ सहजीकरण प्रक्रिया अपनाउनु पर्नेछ । प्राविधिक तथा व्यावसायिक धारका विधागत विषयहरू (डिसिप्लिनरी सब्जेक्टस्) मा सिकाइ सहजीकरण प्रक्रियाका लागि सामान्यतया ५० प्रतिशत पाठ्यभारको सैद्धान्तिक र ५० प्रतिशत पाठ्यभारको प्रयोगात्मक सिकाइ सहजीकरण क्रियाकलाप हुनेछ ।

गतिशील र संशोधनशील दस्तावेज
नेपालको सन्दर्भमा २०६३ सालमा पहिलो पटक राष्ट्रिय पाठ्यक्रम प्रारूपको विकास गरिएको थियो । यस प्रारूपलाई २०७१ सालमा समसामयिक परिमार्जन र अद्यावधिक गरी सुधार गरिएको थियो । यसको कार्यान्वयनको सन्दर्भमा विभिन्न क्षेत्रबाट प्राविधिक, शैक्षिक एवं प्राज्ञिक सुझावहरू प्राप्त भएका छन् । ती सुझाबहरूको विश्लेषण, अभ्यास, अनुभव तथा विद्यालय क्षेत्र विकास योजनालगायत नीतिगत दस्तावेजका आधारमा यो राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ तयार गरिएको छ । यस प्रारूपलाई गतिशील दस्तावेज का रूपमा लिई निरन्तर प्राप्त हुने सुझाब तथा नीतिगत व्यवस्थाका आधारमा भविष्यमा समेत सुधार गर्दै लगिने जनाइएको छ ।

आजको शिक्षा साप्ताहिकबाट

Comments: