२०७६ चैत्र २० गते

अक्षर चिन्दै आमा

अन्तैबाट

कालीकोट। खिनकी सुनतारा शाहीको उमेर २७ वर्षको भएपछि बल्ल अक्षरसँग साइनो जोडिएको छ । ‘नाम लेख्न र जोडघटाउ गर्न सक्ने भएकी छु,’ उनले भनिन्, ‘अब सही गर्नुपर्ने ठाउँमा ल्याप्चे लगाउनु पर्दैन ।’


पलाँता गाउँपालिकाले सुरु गरेको साक्षरता कक्षाबाट अक्षरसँग साइनो जोड्ने उनी एक्ली महिला होइनन् । स्कुल–कलेज पढ्ने थुप्रैका आमाहरू अहिले पढ्न जान्ने भएका छन् । पलाँतामा एक वर्ष अवधिमा करिब पाँच सय महिला साक्षर भएका गाउँपालिकाले जनाएको छ ।

साक्षरता कक्षाले ग्रामीण महिलाको आत्मबल पनि बढाएको छ । गाउँघरमा हुने सभा र बैठकमा जान लाज मान्ने उनीहरू निर्धक्कसँग बोल्न सक्ने भएका छन । ‘पहिले त मोसो (तावाको कालो) तेलमा हालेर औंठाछाप हान्नुपर्थ्यो, बोल्नु पर्‍यो भने लाजले सकिन्थेन,’ सुनताराले भनिन्, ‘अचेल त न लाज लाग्छ, न ल्याप्चेको झन्झट हुन्छ ।’

धौलागोहकी ४२ वर्षीया जनकला विश्वकर्माले त लेखपढ गर्न सक्ने भएको तीन वर्ष भयो । अक्षर चिन्न सक्ने भएपछि उनले गाउँकी अगुवा महिलाका रूपमा आफ्नो परिचय बनाउन थालेकी छन् । सात वर्षअघि श्रीमान्को मृत्युपछि संसारै अँध्यारो भयो भन्ठानेकी उनी अहिले जिउने आत्मबल बढेको बताउँछिन् । गाउँकै लालीगुराँस सबल समूहबाट १० हजार ऋण लगेर खुद्रा पसल पनि चलाएकी छन् । ‘बुढेसकालमा पढ्न पाइयो, सीप सिकेर कमाइ पनि भएकै छ,’ उनले भनिन्, ‘समूहमा पैसा हालेर बचत पनि गरेकी छु ।’

साक्षरताले महिलालाई घर र समाजमा सम्मानित पनि महसुस गराएको छ । पुलाहाँकी ३५ वर्षीया बिनपुरी बुढाका श्रीमान अक्षर चिन्दैनन् । पढेपछि श्रीमान्समेत आफ्नो भर पर्न थालेका उनले बताइन् । साक्षरता कक्षामा पढाइसँगै अन्य सीप पनि सिकाइने भएकाले व्यावसायिक तरकारी खेतीमा पनि लागेको उनको भनाइ छ । उनले उब्जाएको तरकारी थिर्पु, घाटपारीचौर र राडुनेटा बजारमा बिक्री हुन्छ ।

उखाडीकी २९ वर्षीया आशा बुढालाई गाउँकै मान्छेले ‘पढेर मास्टर्नी हुन्या होइ र,’ भनेको अहिलेझैं लाग्छ । ‘अचेल मेरो प्रगति देखेर त्यस्तो भन्नेहरू घोसे मुन्टो लाउँछन्,’ उनी भन्छिन्, ‘पढाउने मास्टर्नी नभयापन सीप सिकेर कपडा सिलाउने मास्टर्नी भएकी छु ।’

साक्षरता अभियानलाई सुरुमा ‘कर्णालीका महिलाका लागि अवसर र अधिकार सबल परियोजना’ ले चलाएको थियो । परियोजना सकिएपछि गाउँपालिकाले निरन्तरता दिएको हो । गाउँपालिकाले बजेट विनियोजन गरेर नौवटै वडामा साक्षरता कक्षा चलाएको छ । चालु वर्ष ९५ लाख र निरक्षर पुरुषलाई साक्षर बनाउन थप १५ लाख गरी १ करोड ५५ लाख रुपैयाँ गाउँसभाबाट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनले भने, ‘आमा साक्षर भए परिवारै साक्षर बनाउन सक्ने भएकाले महिलामा लगानी गरेका हौं ।’ १५ हजार ३ सय जनसंख्या रहेको पलाँताको साक्षरता प्रतिशत ४८ छ । यहाँका ६० प्रतिशत पुरुष र ३७ प्रतिशत महिला साक्षर छन् ।

गाउँपालिकाकी उपाध्यक्ष दाना न्यौपाने पनि साक्षरता कक्षाबाटै शिक्षित भएर राजनीतिमा अघि बढेकी हुन् । ‘म पनि यहीँको साक्षरता कक्षा पढेर साइन (हस्ताक्षर) गर्न सक्ने भएकी हुँ,’ उनले भनिन्, ‘जीवनमा सबैभन्दा ठूलो कुरा पढाइलेखाइ रहेछ ।’ आफूसँगै साक्षरता कक्षा पढेका अन्य ६ जना वडा समितिमा चुनिएका उनले बताइन् ।

तुलाराम पाण्डेले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: