२०७७ जेष्ठ २१ गते

चक्रवर्ती कलेजको सम्बन्धन खारेज

भक्तपुर ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्स मध्यपुर थिमिको सम्बन्धन खारेज गरेको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको सीटीईभीटीको बैठकले पटक–पटक आफ्नो नीति निर्देशनविपरीतका गतिविधि एवं विद्यार्थी भर्ना गरेको भन्दै सम्बन्धन खारेज गरेको हो ।

कलेजले शैक्षिक सत्र ०६१/६२ देखि सीटीईभीटीबाट ३ वर्षे पीसीएल–नर्सिङ (प्रमाणपत्र तह) को सम्बन्धन लिई कार्यक्रम सञ्चालन गरिरहेको थियो । कलेजले शैक्षिक सत्र ०७४/७५ का लागि प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन/स्वीकृति नवीकरण नगरी विद्यार्थी भर्ना गरेको सीटीइभीटीको आरोप छ । कलेजले अवैधानिक रूपमा एकैदिन ३७ विद्यार्थी भर्ना गरेको छ । कलेजले प्रतिविद्यार्थी अग्रिम २ लाख ५० हजार रुपैयाँ भर्ना शुल्क लिइसकेको छ । आफ्नै अस्पताल नभएको र सरकारी अस्पतालसँग सम्झौता गरेको नक्कली कागज देखाएर कलेजले विद्यार्थी भर्ना गरिसकेको छ । नर्सिङ कलेज सञ्चालन गर्न अस्पताल अनिवार्य छ । पूर्वस्वीकृतिबिना विद्यार्थी भर्नाको विज्ञापन वा भर्ना गर्न पनि पाइँदैन ।

 

सीटीईभीटीसँगको सम्बन्धन तथा स्वीकृति नवीकरण नै नगरी कलेजले भदौ २५ मा पत्रिकामा सूचना प्रकाशित गरी एक दिनका लागि ३ वर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेको थियो । एकै दिनमा ३७ विद्यार्थी भर्ना गरी सय विद्यार्थीको नाम वैकल्पिक सूचीमा निकालेको थियो । सीटीईभीटी स्तर निर्धारण महाशाखाका निर्देशक जीवनारायण काफ्लेले सम्बन्धन नवीकरण नगरी विद्यार्थी किन भर्ना गरेको र प्रयोगात्मक अभ्यासका लागि अस्पताल कहाँ छ भनेर सोधिएको स्पष्टीकरणमा कलेजले झूटो जवाफ पेस गरेको बताए । ‘कलेजले प्रयोगात्मक अभ्यासका लागि भक्तपुर अस्पताल र गणेशमान अस्पतालमा सम्झौता गरेको भनी झूटो विवरण पेस गरेको छ भने नवीकरणको विषयमा बोलेको छैन,’ उनले भने ।

नेपाल नर्सिङ परिषद्ले सीटीईभीटीलाई पठाएको पत्रमा चक्रवर्ती कलेजसँग प्रयोगात्मक अभ्यासका लागि सम्झौता गरेको नभई श्रद्धा इन्स्टिच्युट अफ हेल्थ साइन्सेज भक्तपुरसँग सम्झौता गरेको उल्लेख भएको महाशाखाले जनाएको छ । भक्तपुर अस्पतालकी सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले अस्पतालले प्रयोगात्मक अभ्यासका लागि शैक्षिक सत्र ०७४/७५ मा कुनै पनि नर्सिङ कलेजसँग सम्झौता नगरेको बताइन् । चक्रवर्तीले ऐनविपरीत अघिल्लो शैक्षिक सत्र ०७३/७४ को सम्बन्धन नवीकरण २०७४ साउन २३ मा गरेको छ भने शैक्षिक सत्र ०७४/७५ का लागि नवीकरण प्रक्रियासमेत अघि नबढाएको सीटीईभीटीले जनाएको छ । ‘प्राविधिक शिक्षाबिना गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन हुन सक्दैन,’ सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले भने, ‘गुणस्तर प्रभावकारी बनाउन अस्पताल आवश्यक पर्छ, चक्रवर्तीले अस्पताल देखाउन सकेको छैन ।’

कलेजले अघिल्लो २ वर्ष अदालतको आडमा सीटीईभीटीसँग सम्बन्धन/स्वीकृति नवीकरण नगरी नर्सिङ कार्यक्रम सञ्चालन गरेको थियो । यस वर्ष मात्र सीटीईभीटीले कलेजको सम्बन्धन रद्द गरेको हो ।कान्तिपुर दैनिकमा खबर छ ।

 

Comments: