२०७६ मंसिर २४ गते

विद्यालयबाटै प्रहरीको काम

अन्तैबाट

सल्यान । दार्मा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय, फारुलाको कामकाज जनज्योति प्राथमिक विद्यालयको भवनबाट भइरहेको छ । भाडामा बस्दै आएको भवन जीर्ण र साघुँरो भएपछि इलाका प्रहरीले विद्यालय भवन प्रयोग गरिरहेको हो ।


स्थानीय तह गठन हुनु अघिसम्म अस्थायी प्रहरी पोस्ट रहेको कार्यालयलाई इलाकामा रूपान्तरण गरिएको हो । ४० जनाको दरबन्दी रहेको कार्यालयमा सुरक्षाकर्मी बस्न र कामकाज गर्न समस्या भएपछि विद्यालय भवन प्रयोग गर्न थालिएको हो । कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) जनक भण्डारीले अझै पनि कार्यालयका लागि उक्त भवन पर्याप्त नभएको जनाए ।

जनकल्याण माविमा जनज्योति प्रावि गाभिएपछि खाली भएकाले आफूहरूले प्रयोग गरेको उनको भनाइ छ । ‘पहिलाको भवन साघुँरो भएपछि दरबन्दी अनुसारकै सुरक्षाकर्मी पूर्ति गर्न सकिएको थिएन,’ उनले भने, ‘विद्यालय भवन प्रयोग गर्न पाएपछि कामकाजमा सजिलो भएको छ, अब दरबन्दीअनुसार सुरक्षाकर्मी पूर्ति गरिनेछ ।’

कार्यालयले विद्यालयका ५ कोठा प्रयोग गरिरहेको जनाएको छ । गाउँपालिकाले लामो समयसम्म उक्त भवन कसरी प्रयोग गर्ने भन्नेबारे निर्णय लिन सकेको थिएन । प्रहरी बसेपछि सार्वजनिक सम्पत्तिको संरक्षण हुने सई भण्डारीको दावी छ । यसअघि विद्यालयको ३ रोपनी ५ आना जग्गा इलाका प्रहरीको भवन निर्माणका लागि पास गरिएको थियो ।

भाडाको घरमा कार्यालय सञ्चालन गर्न समस्या भएपछि केही प्रहरी अन्य घर भाडामा लिई बस्न बाध्य थिए । ‘पहिले केही झगडा वा विवाद भए बयानका लागि धेरै जनालाई बोलाउँदा बसाउने ठाउँसमेत थिएन,’ सई भण्डारीले भने, ‘विद्यालयको चौर पर्याप्त भएकाले कामकाजमा अब सजिलो भयो ।’

इलाकाप्रहरीको कामकाज तत्काल सहज भए पनि पक्राउ गरिएका व्यक्ति राख्न अझै समस्या रहेको उनी बताउँछन् । उनले कोही व्यक्तिलाई पक्राउ गरिए इलाका प्रहरी कार्यालय थारमारे र जिल्ला प्रहरीमा पठाइने गरिएको सुनाए । इलाका प्रहरीको आफ्नै सवारी साधन नहुँदा सेवाप्रवाहमा केही समस्या भएको सुरक्षाकर्मीको भनाइ छ ।

जिल्ला प्रहरी प्रमुख (डीएसपी) वीरेन्द्रबहादुर शाहीले जिल्लाका अधिकांश एकाइको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा समस्या भएको बताए । उनका अनुसार जिल्लामा ९ इप्रका, ५ चौकी र ११ अस्थायी पोस्ट स्थापना गरिएका छन् ।

२६ कार्यालयमध्ये ३ इलाका प्रहरी नयाँ भवनमा, ६ कार्यालय पुरानो भवनमा र ६ कार्यालय भाडामा सञ्चालन भइरहेको उनको भनाइ छ । यस वर्ष देवस्थल र जिल्ला प्रहरी कार्यालयको व्यारेक भवन निर्माण सुरु हुने उनले जानकारी दिए ।

विप्लव महर्जनले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: