२०७६ असोज २९ गते

विकटका विद्यालय सुधार्दै अभिभावक/शिक्षक

चितवन । जिल्लाका विकट बस्तीका अधिकांश विद्यालय धराशायी बन्दै छन् । त्यस्ता विद्यालयमा न शिक्षक नियमित आउँछन् न विद्यार्थी नै । कक्षा ५ मा पढ्नेलाई आफ्नो नाम लेख्न नआउने विद्यालय पनि त्यहीं छन् । यिनै समस्याले गर्दा सामुदायिक विद्यालय धराशायी बन्दै गएका हुन् ।

तर, इच्छाकामना २, काउलेको राष्ट्रिय निमाविका शिक्षकरअभिभावक भने विद्यार्थीलाई नियमित गराउन कस्सिएका छन् । त्यसको सुरु विद्यार्थीलाई पुरस्कार र अभिभावकलाई सम्मानमार्फत थालिएको हो । ‘भर्ना धेरै भए पनि नियमित आउने कम भए,’ विद्यालयका प्रअ पदमबहादुर चेपाङले भने, ‘विद्यार्थीलाई नियमित गराउन र अभिभावकलाई छोराछोरी पढाउन प्रेरणा मिलोस् भनेर सम्मान र पुरस्कारको व्यवस्था गरेका हौं ।’ उनकै सक्रियतामा १ वर्षमा अभिभावकसहितको विद्यार्थी भेला ४ पटक गराए । अभिभावकले छोराछोरीलाई काममा लगाउने, विद्यालय पठाएका छोराछोरी पढ्न नगई बाटोमै खेलेर बस्ने समस्या बढदै गयो ।

यो समस्याको अन्त्य गर्न प्रअ आफैंले पुरस्कार र सम्मानको व्यवस्था मिलाएका हुन् । उनले गत मंगलबार विद्यार्थीसहितको अभिभावक भेला पनि गराए । त्यसमा सबैभन्दा विद्यालय नियमित आउने विद्यार्थीलाई पुरस्कृत गरियो । छोराछोरीलाई नियमित विद्यालय पठाउने अभिभावकलाई सम्मान गरियो । शिशुदेखि कक्षा ८ सम्ममा सबैभन्दा धेरै दिन विद्यालय आउने विद्यार्थीलाई कापी र कलम दिएर पुरस्कृत गरिएको थियो । साबिकका चण्डीभञ्ज्याङको १ देखि ४ वडा, काउलेको ८ र ९ का विद्यार्थी यहाँ पढ्न आउँछन् ।

‘विद्यार्थी नियमित नआउने, आउँदा पनि पालो लगाएर आउने क्रम बढयो,’ प्रअ चेपाङले भने, ‘घरमा समेत पढ्ने वातावरण हुँदैन, अभिभावकले काममा लगाएर छोराछोरीलाई विद्यालय नपठाएपछि नियमित विद्यालय आउने वातावरण सिर्जना गर्न पुरस्कारको व्यवस्था गरेका हौं ।’

कतिपय बालबालिका पूरा पेट खान नपाउँदा विद्यालय आउँदैनन् । पुरस्कार र सम्मानको व्यवस्था गरेपछि अभिभावक पनि खुसी देखिन्छन् । ‘मेरा ३ सन्तान यहीं पढ्छन्,’ सम्मान पाउने अभिभावक शंकरकाजी गुरुङले भने, ‘छोरो सबैभन्दा धेरै विद्यालय आएको भन्दै मलाई सम्मान गर्दा खुसी लाग्यो ।’ कान्तिपुर दैनिकमा खबर छ ।

Comments: