२०७६ असोज २९ गते

चिटकै भरमा परीक्षा

बझाङ । विद्यालयको वार्षिक परीक्षा चलिरहेको थियो । कक्षाकोठामा खचाखच विद्यार्थी थिए । पछाडिको लहरमा बसेका केही कलिला विद्यार्थी उत्तरपुस्तिकामा केही लेख्दै थिए । उनीहरू घरीघरी कक्षाकोठाको ढोकातर्फ हेर्थे । शिक्षिकाले अन्तै ध्यान दिएको मौका छोपेर छेवैमा रहेको किताबबाट उत्तर सार्थे ।

यो दक्षिणी भेगको केदारस्यु गाउँपालिकाको रत्न माध्यमिक विद्यालयमा सोमबार देखिएको दृश्य हो । कक्षाकोठामा १ देखि ९ कक्षासम्मका विद्यार्थी परीक्षा दिइरहेका थिए । चिट सारेको देखेपछि कक्षाकोठामा रहेकी शिक्षिका श्वेता खत्रीले कक्षा १ मा पढ्ने ६ वर्षीया कविता बोहराको किताब थुतिन् ।

केहीले हत्तपत्त चिट लुकाउन भ्याए । कविताले लाजले मुन्टो निहुर्‍याइन् । यति कलिला नानी पनि चिट सार्छन् रु भन्ने प्रश्नमा अप्ठ्यारो मान्दै शिक्षिका श्वेताले जवाफ फर्काइन्, ‘सार्छन् सर, भनेकै मान्दैनन् ।’ धेरैलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ तर परीक्षा चलिरहेका प्रत्येक कोठामा पुग्दा केही विद्यार्थी चिट सारिरहेका भेटिन्थे । नयाँ मान्छे आएको चाल पाएर धेरैले लुकाइसकेका हुन्थे । प्रत्येक कोठामा विद्यार्थीबाट संकलन भएका किताब र चिटको थुप्रो थियो । चिट चोर्नेहरू १ कक्षादेखि ९ कक्षासम्मका विद्यार्थी थिए । कान्तिपुरमा खबर छ ।

Comments: