२०७६ असोज १ गते

नेपाली भाषा माथि चौतर्फी आक्रमण

माधवप्रसाद पन्त

नेपाली भाषा सम्पूर्ण नेपाली तथा नेपालकै सम्पत्ति हो, पहिचान हो । यो देशका जनतालाई एकताको सूत्रमा बाध्ने, विचार तथा अभिव्यक्ति आदानप्रदान एक सशक्त माध्यम हो । नेपाली भाषा त्यस्तो धागो हो जसले पूmलरुपी नेपालीहरुलाई ऐक्यबद्ध गरी सुन्दर मालारुपी नेपाली समाजको रुपमा प्रस्तुत गरेको छ । नेपाली भाषाको उद्गम स्थल हालको कर्णाली प्रदेशको जुम्ला जिल्लाको सिंजा उपत्यकामा भएको हो । नेपाली भाषाको जननी सँस्कृत भाषा हो । सँस्कृत भाषाबाट प्राकृत हुँदै नेपाली भाषाको विकासक्रम अगाडि बढेको हो । विकासक्रममा नेपाली भाषामा थुपैै्र देश तथा विदेशका शब्दहरुले स्थान जमाइसकेका छन् । ती मध्ये धेरै शब्दहरु नेपालीको जनजिब्रोमा पाच्य भइसकेका छन् । नेवारी भाषाबाट आएका बुइँगल ,डेरा, मगर भाषाबाट आएका जाँड रक्सी तथा खुर्पा, अरबी भाषाबाट आएका वारेस, तातिल आगन्तुक शब्दका केही प्रतिनिधि शब्द मात्र हुन् ।


    नेपालको संविधान २०७२ को धारा ६ मा नेपालमा बोलिने सबै भाषा राष्ट्रभाषा हुन् भन्ने र धारा ७(१) मा देवनागरी लिपीमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने उल्लेख गरिनुले सैद्धान्तिक रुपमा नेपाली भाषाको उच्च स्थान रहेको बुझ्न तथा देख्न सकिन्छ । नेपालका १२३ भाषा मध्ये वि.सं.२०६८ को जनगणना अनुसार नेपालको कूल जनसँख्याको ४४.६ प्रतिशत मानिसले नेपाली भाषालाई आफ्नो मातृभाषाको रुपमा प्रयोग गरेको पाइन्छ । यति महत्वपूर्ण नेपालको इतिहाससँग जोडिएको नेपाली भषाप्रति चारैतर्फबाट आक्रमण भएको देख्दा, थाहा पाउँदा एक स्वाभीमानी, देशभकत र सच्चा नेपालीलाई साँच्चै दुःख र चिन्ता लाग्नुपर्छ । नेपाली भाषा दिनानुदिन अवनतितर्फ लागेको छ, मौलिकता गुमाउँदैछ । विविध कारणले नेपाली भाषा प्रतिको आक्रमणले गर्दा यो नराम्ररी थलिएको छ कि बेलैमा उचित उपचार नगरे मर्न पनि सक्छ । नेपाली भाषालाई जानी नजानी प्रहार गर्ने पक्ष तथा पात्रको समयमै खोजी गरी शिकार हुनबाट बचाउनु आवश्यक भइसकेको छ आज । नेपाली भाषाप्रति भएको मुख्य आक्रमणलाई यसरी राख्ने प्रयास गरिएको छ ।


क) नेपाली भाषालाई नै हेला गर्ने प्रवृत्ति :
तितो सत्यलाई उल्लेख गर्नुपर्दा आज हामी नेपालीमध्ये धेरै जना नेपाली भाषामा कुराकानी गर्दा लज्जा अनुभव गर्छौं । आफ्ना तोते बोली बोल्ने छोराछोरीले समेत नेपालीमा स्याउ भन्नुको सट्टामा एप्पल भनेको सुन्दा मख्ख पर्छाँै, जाने नजानेपनि देखासिकीको लागि अंग्रेजी छाँट्छाँै । कसैले पुस्तक, लेख रचना प्रकाशित गर्दा वा शोधपत्र लेख्दा नेपाली भाषामा गरेको रहेछ भने नाक खुम्च्याउनेको संख्या ठूलै छ । यर्थाथमा नेपाली भएर आफ्नो मातृभाषा नेपालीमा कुराकानी, पत्राचार गर्दा पुस्तक लेख रचना प्रकाशन गर्दा गराउँदा हाम्रो छाती गर्वले ढक्क फुल्नुपर्ने हो तर ठिक उल्टो भएको छ आज । नेपालका राजनैतिक नेतृत्वले अन्तराष्ट्रिय सभा सम्मेलनमा पनि कनिकुस्ती किन नहोस् अंग्रेजीबोलेको पाइन्छ । उहाँहरु समेत नेपाली बोल्दा आफ्नो इज्जत नै जाने सम्झेर त होला नत्र दोभाषेको सहयोगमा भएपनि आफ्रनो कुरा नेपालीमा स्पष्ट राख्न सकिन्छ , कतिपय कुरा अंग्रेजीमा भन्दा मुख्य आशय नै छुट्छ । शिक्षित व्यक्ति तथा परिवारले नै आज नेपाली भाषाको घाँटी रेट्ने काम गरेका छन् । जन्मदिने पितालाई बाबा नभनेर पापा, ड्याडी भन्न सिकाउने आमा जस्तो पवित्र शब्दलाई मम्मी शब्दले विस्थापन गर्ने अभियानको जिम्मेवार पक्ष यिनै शिक्षित र बुद्धिजीवी कहलिएका व्यक्ति हुन् । सकी नसकी बच्चालाई थ्यांक्यू, वेलकम, अण्टी भन्न सिकाइन्छ बोली फुट्नासाथ अनि कसरी मौलिक नेपाली भाषा सिक्न र सिकाउन पाइन्छ र ? कथित बुद्धिजीवी मानिएकामा भएको यस प्रकारको ढाँेगी प्रवृत्तिले पनि नेपाली भाषालाई नराम्ररी प्रहार गरेको छ । जानी नजानी प्रयोग गरेको अंग्रेजीले कहिलेकाँही बहुअर्थ तथा गलत अर्थ पनि लगाएका थुप्रै उदाहरणहरु देख्न सुन्न सकिन्छ ।


ख)    प्राज्ञिक वर्गबाटै कमजोरी :
नेपाली भाषालाई प्रहार गर्ने अर्को जिम्मेवार घटकभित्र प्राज्ञिक वर्ग पनि हो । शिक्षित तथा बुद्धिजिवी वर्गले     समेत नेपाली भाषालाई घुमाउरो शैलीमा आक्रमणको घेरामा पारेको देख्न तथा सुन्न सकिन्छ । नेपाली     भाषामा विज्ञता हासिल गरेका, विद्यालयमा नेपाली भाषा अध्यापन गराउने शिक्षक तथा विश्वविद्यालयका प्राध्यापकलाई तपाईंले अध्यापन तथा प्राध्यापन गर्ने विषय के हो भनी जिज्ञासा राख्दा के हुनु त्यही नेपाली त हो भन्ने जवाफ पाइन्छ यहाँ । आजको दिनमा कक्षा ६ देखि १० सम्म नेपाली विषयमा पनि प्रयोगात्मकका लागि २५ अंक छुट्याइएको छ जसको आशय विद्यार्थीहरुको सुनाइ, लेखाई, बोलाइ जस्ता सिपको परीक्षण गरी त्यसलाई सुधार गर्नु तथा गराउनु हो । तर प्रयोगात्मक अँकको मर्म अनुसारको कर्म हुन सकेको छैन । बाहूय मूल्याँकन जस्तो आधारभूत तहको र एस.इ.ई परीक्षामा प्रयोगात्मक परीक्षामा अँक अनुमानको आधारमा हालेर पठाउने अभ्यास हामीकहाँ छ, त्यसलाई अविलम्ब रोक्नुपर्छ । केही बर्ष अघि त परीक्षा केन्द्रमा नै अँग्रेजीको लिसनिङ , स्पिकिङ हुन्थ्यो तर आज त्यो पनि हटाइयो । विद्यालयबाट प्रयोगात्मक नगराइकनै प्रयोगात्मक अंक पठाइन्छ । किन प्रयोगात्मक परीक्षा नलिएको भन्दा जाबो नेपाली भाषा पनि बोल्न र सुन्न नसक्ने को हुन्छ र भन्ने जवाफ विषय शिक्षकबाट समेत पाइन्छ । यो भन्दा ठूलो कमजोरी के हुन्छ र ?


ग)    संवैधानिकरकानुनी प्रावधानकै उल्लघँन :
    नेपालको संविधानको धारा ३१(५) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसको लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने     हक हुनेछ भनिएको छ । तर विडम्बना आज संस्थागत विद्यालयमा नेपाली बोल्न निषेध गरिएको छ, र बोल्नै परे अनुमति लिएर बोल्नुपर्ने बाध्यता छ । आफ्नै देशभित्र बसेर पनि आफ्नो मातृभाषा बोल्न अनुमति माग्नुपर्ने र माग्दा पनि मुश्किलले पाइने व्यवस्था भन्दा देशप्रतिको घात अरु के होला ? नेपालीमा बोल्दा साथीभाइ तथा शिक्षकले समेत खिसीटिउरी गर्लान् भन्ने डरले धेरै विद्यार्थीले नबुझेको तथा नजानेको कुरा समेत नसोधी बस्ने गर्छन जसको असर विद्यार्थीको नतिजामा परिरहेको छ । मातृभाषामा शिक्षा पाउने हक हुनेछ भनेर संवैधानिक व्यवस्था भइसक्दा विद्यार्थीले आफ्नो मातृभाषा नेपालीमा ढुक्कले लेख्न र पढ्न समेत नपाउनु ज्यादै दुःखलाग्दो र अविलम्ब सुधारिनुपर्ने कुरा हो । अर्काेतर्फ नेपाली बोलेमा जरिवाना उठाउने अधिकांश निजी तथा केही अंग्रेजीमाध्यमधारी सामुदायिक विद्यालयहरुले पनि नेपाली भाषाप्रति गरेको अन्याय, अत्याचार घामजत्तिकै छर्लङ्ग छ । आफ्नो मातृभाषा बोल्न निषेध गर्दा पनि आज सम्पूर्ण विद्यार्थी तथा तिनका अभिभावक मौन छन् केहीले विरोधको आवाज उठाएपनि त्यति बुलन्द र सशक्त छैन जसले गर्दा विद्यालयहरुको नेपाली भाषाप्रतिको आक्रमणमा बढात्तरी भइरहेको छ । विद्यालय चाहे संस्थागत होस् या सामुदायिक यिनीहरुले त नेपाली भाषालाई सशक्त र प्रभावकारी बनाउने भूमिका निभाउनुपर्ने हो तर ठिक उल्टो भएको देखिन्छ ।


घ)    सरकारको लापरवाही तथा विदेशीको अनुचित प्रभाव :
सरकार आफैले पनि नेपाली भाषालाई लापरवाहीपूर्वक घुमाउरो शैलीमा हेला गरेको छ । यसैबर्ष सरकारले गत जेठ १८ गते स्वीकृत गरेको कक्षा १ देखि १२ सम्मको पाठ्यक्रममा नेपाली     विषयलाई साप्ताहिक ३ र अंग्रेजीविषयलाई साप्ताहिक ४ पाठ्यघण्टा तोकेको छ जबकि ती दुवै विषयको पूर्णांक तथा क्रेडिट आवर बराबर छ ।

यसरी समान पूर्णाँङ्क भएका विषयमा नै विभेद गरी नेपाली विषय पठनपाठन गर्ने समय नै कम राख्नु पनि सरकारको लापरबाही तथा नेपाली भाषा सिकाउन गरिएको कञ्जुस्याइँ र हेलचेक्र्याईँ हो । सरकारले शिक्षा ऐनमा भाषको माध्यम नेपाली वा अंग्रेजीतथा दुवै भनेको छ। तर अन्तराष्ट्रिय अभ्यासअनुसार पनि आधारभूत तहसम्मको शिक्षाको माध्यम मातृभाषा अर्थात नेपाली वा अन्य बनाउनु उपयुक्त हुन्छ । अंग्रेजी अंग्रेजी विषय राम्रोसँग शिक्षा ऐनको कानुनी प्रावधान अनुरुप पूर्ण अंग्रेजीमा नै पढाउँदा सिक्न सिकाउन सकिन्छ । विदेशीले पनि नेपाली भाषाको सट्टा अंग्रेजीभाषालाई बढी प्रयोग गर्न प्रोत्साहन गरेको पाइन्छ । पुस्तकहरु अंग्रेजीमाध्यमका बढी उपलब्ध गराउनु, छात्रवृत्ति प्रदान     गर्दा अँग्रेजीको दखलतालाई आधार बनाउनु केही उदाहरण मात्र हुन् । अचम्म लाग्दो कुरा त यो छ कि देशको इतिहास, धर्म–सँस्कृती जस्ता विषयवस्तु समेटिएको सामाजिक अध्ययन, नैतिक शिक्षा जस्ता विषय समेत नेपालीमा नपढाई अंग्रेजीमा पढाइन्छ अनि कसरी नेपाली भाषामा सुधार हुन्छ ? अर्काेतिर  उनीहरुको पढाइ सुगा रटाइ मात्र हुन्छ न त सामाजिक परिवेशका कुरा मस्तिष्कमा दिगो रुपमा रहन्छ न त विद्यार्थीले नैतिक शिक्षाको मर्म नै बुझ्न सक्छन् । केही समय अगाडि पोखरामा सामाजिक शिक्षा नेपाली भाषामा नै किन भन्ने शीर्षकमा कार्यशाला गोष्ठी नै सम्पन्न हुनु र त्यसमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख वक्ताको रुपमा सहभागी हुनुले पनि शिक्षाको माध्यम नेपाली नै भएको कुरा सहजै आँकलन गर्न सकिन्छ ।


     यसरी नेपाली भाषामा भएको चौतर्फी आक्रमणले भयावह स्थिति सिर्जना गरेको छ । पछिल्लो पुस्तालाई  धेरै नेपाली शब्द बोल्न र लेख्न नआउनु सामान्य कुरा भइसक्यो आज  । विद्यार्थीहरुलाई अठसठ्ठी, उनान्साठ्ठी जस्ता सामान्य शब्द लेख्न आउँदैन । नेपाली विषयमा स्नातकोत्तरको डिग्री लिएकालाई नेपाली भाषामा शुद्धसँग जागिरको लागि दरखास्त लेख्नआउँदैन । यहाँभन्दा खराब परिणाम के होला र ? यस्तो हुनुको कारक तत्व नेपाली भाषालाई हेँला गर्नु नै हो, आक्रमण     गर्नु नै हो । त्यती मात्र नभएर केही दिन अगाडि देशभर नेपाली विषयमा नै विद्यार्थी कमजोर, सिकाइ उपलब्धी औषत     भन्दा कम, गणित भन्दा नेपालीमा नै विद्यार्थी कमजोर भन्ने समाचार सामुदायिक सूचना नेटवर्क (सिआइएन) मा प्रसारण भएको थियो । नेपाली विषय त हो नि भनेर विद्यार्थी, अभिभावक तथा विषय शिक्षक समेतले हेलचेक्र्याईँ गर्दा आजको यो दिन तथा अवस्था आएको हो यसलाई सुधार्न अविलम्ब सबै सरोकारवालाको ध्यान जान जरुरी छ ।


    अन्त्यमा सम्पूर्ण नेपाली जनता र नेपालकै सम्पत्ति र पहिचानको रुपमा रहेको नेपाली भाषा चौतर्फी     आक्रमणमा परेको यो आवस्थामा देशका भाषाविद्, महाविद्यालयका नेपाली भाषाका प्राध्यापक,     विद्यालयका शिक्षक, विद्यार्थी , अभिभावक र     हरेक सचेत नागरिक आफ्नो भाषालाई संरक्षण,     संवर्धन गर्नको लागि अहोरात्र खट्नुपर्ने टड्कारो आवश्कताको सिर्जना भइसकेको छ । बेलैमा विचार     गरिएन भने नेपालको संवैधानिक अङ्गको रुपमा स्थापित भाषा आयोगले आजका दिनमा कुसुण्डा भाषा     तथा भाषीको संरक्षणार्थ तालिम दिए जस्तै भोलि नेपाली भाषाको उचित संरक्षणका लागि तालिम चालन     गर्नुपर्ने दिन नआओस् ।
    

    पन्त अधिवक्ता हुन् ।

Comments: